आइतबार, जेठ ६, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०७:५७ |सिड्नीको समय: ०५:५७ |काठमाडौंको समय: ०१:४२

उपेन्द्र अमेरिका भ्रमणमा रहेकैबेला अशोकले फुटाए जसपा

एएनजेड खबरमे ६, २०२४

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), नेपाल विभाजन भएको छ। पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ जसपा नेपाल विभाजन भएको हो । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ । १२ सांसद रहेको पार्टीमा विभाजनको पक्षमा सात जना सांसद रहेका छन् ।

आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरुसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको छ । वैशाख १५ गते अमेरिका प्रस्थान गरेका यादव वैशाख २५ गते स्वदेश फर्किने तालिका छ ।

स्वदेश फर्किएलगत्तै उनले सरकार छाड्ने तयारी गरिरहेको चर्चा भइरहेको छ । तर, उनी नेपाल फर्किन दुई दिन बाँकी रहँदै उनको पार्टी विभाजित बनेको छ ।

उनी अमेरिका रहेका बेला नेताहरू राजेन्द्र श्रेष्ठ र अशोक राईले पार्टी विभाजन गरेका हुन् । अहिले दल विभाजनसम्बन्धी कुनै कानुनी व्यवस्था छैन । पटकपटक विवादित बन्दै आएको दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको अवस्था छ । यस्तो अवस्थामा जसपाको श्रेष्ठ–राई समूह कुन व्यवस्थामा रहेको विभाजनको प्रक्रियामा गयो त ?

ूदल विभाजनसम्बन्धी अध्यादेश, २०७८ अनुसार जारी भएको जुन नियमावली छ, त्यो नियमावली खारेज भएको छैन । राजपत्रमा प्रकाशित भएर आजसम्म पनि त्यो विद्यमान छ । एउटा आधार त्यो हो,’नेता राई भन्छन् । अर्को चाहिँ उनीहरूले निर्वाचनको आयोग स्वायत्ततालाई आधार बनाएका छन् ।

तपाइँको प्रतिक्रिया