आइतबार, जेठ ६, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०३:१६ |सिड्नीको समय: ०१:१६ |काठमाडौंको समय: २१:०१

रुसी सेनामा आबद्ध नेपालीका परिवारलाई प्रधानमन्त्रीको आश्वासन, आन्दोलन स्थगित

एएनजेड खबरमे ७, २०२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुसँग मंगलबार भेटेर उनीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै अभियानको नेतृत्वले धर्ना रोक्ने जनाएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका तर्फबाट अभियान्ता कृतु भण्डारीसहितका सदस्यहरुले गरेको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरको पहल गर्ने प्रतिबद्धता जनाएका थिए । सो सँगै अभियानको तर्फबाट राखिएका विभिन्न १३ बुँदे मागको सम्बोधन हुने देखिएपछि तत्कालका लगि अभियानले विभिन्न स्थानमा जारी राखेको धर्ना, स्थगत गर्ने निर्णय गरेको भण्डारीले बताइन् ।

यसअघि अभियानको तर्फबाट रुसी सेनामा भर्ती भएका नेपालीको सकुशल उद्दार गरी नेपाल ल्याउने व्यवस्था सरकारले गर्नुपर्ने, करार सम्झौता गरेर युद्ध मैदानमा रहेका नेपालीको समेत सम्झौता रद्द गरी तत्काल उनिहरुको उद्दार गर्नुपर्ने, युद्धमा घाईते नेपालीको उचित उपचार, क्षतिपुर्ति र नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, युक्रेनको कब्जामा रहेका पाँच जना युद्धबन्दीको उद्दार गर्नुपर्ने, मृतकको शव ल्याउने र क्षतिपुर्तिसहित रुसी सेनाबाट प्राप्त गर्ने सबै खाले सेवा सुविधाको सरकारले ग्यारेन्टी गर्नुपर्ने माग राखेका थिए ।

यस्तै, वेपत्ता नेपालीको खोजी गर्र्नुपर्ने, नेपालीलाई प्रलोभनमा पारि रुस पठाउने बिचौलियाको पहिचान गरी तत्काल कारवाही गर्ने व्यवस्था मिलाउनुपर्ने, पीडित परिवारको उद्दार, राहत र पुनस्र्थापनाका लागि मन्त्रिस्तरीय समन्वय समिति गठन गर्नुपर्ने, रुसी सेनामा गएका सबै नेपालीको अवस्था पुष्टि गरी सूची सार्वजनिक गर्नुपर्ने जस्ता १३ बुँदे माग राखेर महिनौं अगाडिबाट अभियान चलाइएको थियो ।मंगलबार प्रधानमन्त्रीले उच्च नेतृत्व तहबाट उल्लेखित समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षार्थ अभियानकी संयोजक कृतु भण्डारीको अगुवाएमा माग पत्र बुझाएका थिए । भण्डारीको नेतृत्वमा परिवारले कहिले सिंहदरबार घेराउ त कहिले रुसी दूतावासअगाडि प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग कतैबाट सम्बोधन नभएको उनीहरूको गुनासो छ ।

हालसम्म रुसमा कार्यरत रहेकामध्ये अनशनकारीहरुसँग ६ सय २० भन्दा धेरै व्यक्तिको विवरण छ । जसमध्ये ३९ जना मृतक, १८ जना मृत्यु भएको भनिएका, तर पुष्टि हुन बाँकी, पाँचजना युुक्रेनको कब्जामा, ११७ जना घाइते तथा २७२ जना सम्पर्कविहीन छन् । रुसी सेनामा करार सम्झौता रद्द गरेका नौजना, रुसी राहदानीका लागि आवेदन दिएका ११ जना, रुसी राहदानी नलिने कागजातमा हस्ताक्षर गरेका १९ जना र बाँकी व्यक्ति सम्पर्कमा छन् ।

तपाइँको प्रतिक्रिया