शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ११:२४ |सिड्नीको समय: ०९:२४ |काठमाडौंको समय: ०५:०९

प्रशिक्षक हुमागाई अमेरिकन क्लबको निर्देशकमा अनुबन्ध, मासिक १० हजार अमेरिकी डलर पाउने

एएनजेड खबरसेप्टेम्बर ६, २०२१


फुटवल प्रशिक्षक प्रदीप हुमागाई अमेरिकी फुटवल क्लब ‘किस्टोन एथलेटिक्स’को प्राविधिक निर्देशक (टेक्निकल डाईरेक्टर) पदमा अनुबन्ध भएका छन् ।
अमेरिकाको पेन्सिलभेनिया राज्यमा रहेको किस्टोन एथलेक्टिस क्लबले हुमागाईलाई मासिक १० हजार अमेरिकी डलर सहितका सेवासुविधाहरु प्रदान गर्ने गरि सम्झौता गरेको हो । क्लबले गरेको सम्झौता पत्रमा मासिक १० हजार डलरका दरले एक वर्षसम्मका लागि १ लाख २० हजार अमेरिकी डलर दिइने उल्लेख गरिएको छ । जसको नेपाली दर १ करोड ४० लाख रुपैया भन्दा माथि हुन आउछ ।


करिव ७ वर्षको अमेरिका बसाइ पछि हुमागाई केही समय अघि नेपाल फर्र्किएका थिए । नेपाली फुटवलकै विकासका लागि पहलकदमी भूमिका निर्वाह गर्ने उद्धेश्य बोकेर नेपाल फर्र्किएका उनले ललितपुर सिटी एएफसीको मुख्य जिम्मेवारी सम्हालेका थिए । तर नेपाल सुपर लिगमा क्लबले अपेक्षाकृत नतिजा हासिल गर्न नसकेपछि लिग चरणमै हुमागाईले राजीनामा दिएका थिए ।

यसै बिचमा नेपाली महिला राष्ट्रिय टोलीको प्रशिक्षकको भूमिकाका विषयमा पनि उनीसँग अनौपचारिक कुराकानी भएपनि विविध कारणहरुले त्यसले मूर्तरुप पाउन नसकेको हुमागाई बताउँछन् । अवसर, संभावना, चुनौती र कर्मलाई आफ्नो मुलमन्त्र ठान्ने उनलाई यस बिचमा दक्षिण अफ्रिका, क्यानडा र अमेरिकाकै वासिंगटन डिसी लगायतका अन्य क्लबहरुबाट पनि अफर नआएको हैन । तर यस अघि सोही क्लबको प्रशिक्षकको रुपमा पनि काम गरेको अनुभव बटुलिसकेका उनले आफ्नै पुरानो कर्मथलोमा जाने निणर्य गरेको बताए ।

केही हप्ता अघि अमेरिका फर्किएका उनी अहिले क्लबमा प्राविधिक निर्देशकका रुपमा काम गर्न थालिसकेका छन् । प्रशिक्षकको रुपमा लामो समय बिताएको क्लवमा प्राविधिक निर्देशकको जिम्मेवारी पाउनुलाई आफूले अवसरँंगै चुनौतीका रुपमा पनि लिएको बताउँदै आफ्नो कार्यक्षेत्रका बारेमा एएनजेड खबरसँग हुमागाईले भने,‘ मैले अव खेलाडीहरुलाई टेक्निकल सेसनका फंगसनल सहित फुट स्किल, बल वर्क, पोजिसनल ट्रेनिङ्ग लगायतका विभिन्न तालिमहरु गराउँदैछु । साथै विन्टर र समर सिजन अनुसार तालिमका रुपरेखा तयार गरिनेछ । यसका साथमा एउटा फुटवल प्रशिक्षकले दिनुपर्ने नियमित प्रशिक्षणपनि जिम्मेवारीमा त छँदैछ ।’
क्लबमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक रिचर्ड ओर्लोस्की पनि केही वर्ष अघि प्रशिक्षक रहेका थिए ।

अमेरिका जानुअघि हुमागाई थ्री स्टार क्लबको मुख्य प्रशिक्षक रहेका थिए । करिव ९ महिनामा थ्री स्टारमा प्रशिक्षकको भूमिका बहन गरेका उनले थ्री स्टारलाई ए डिभिजन लिग सहित थुप्रै उपाधी पनि दिलाएका थिए । उनले त्यतिबेला लीग इतिहासमा उपाधि जित्ने कान्छा प्रशिक्षको किर्तिमान पनि बनाएका थिए । राष्ट्रिय खेलाडी बिना नै थ्री स्टार क्लबलाई ‘उदयपुर गोल्डकप’को उपाधी दिलाएको श्रेयपनि हुमागाईलाई नै गएको थियो ।
फिजिकल एजुकेशन,हेल्थ एजुकेशन र समाजशास्त्रमा गरि तीन वटा स्नातोकोत्तर (एमए) गरेका उनले काठमाडौं विश्वविध्यालयमा १७ महिना सम्म महिला प्रशिक्षकको रुपमा काम गरेका थिए । उनको प्रशिक्षणमा नेपाली टिमले नर्वे कप अन्तराष्ट्रिय फुटवल प्रतियोगिता खेलेको थियो भने नेपालमा भएको कोकाकोला कपमा महिला टोलीले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो ।

तपाइँको प्रतिक्रिया