सोमबार, वैशाख १७, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०६:०६ |सिड्नीको समय: ०४:०६ |काठमाडौंको समय: २३:५१

नयाँ बर्षमा डा.कोइरालाको सन्देश : लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण रोक्नतर्फ लागौं

एएनजेड खबरअप्रिल १३, २०२४

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भएकाले त्यसलाई निस्तेज पार्न राजनीतिक दलहरुमात्र सक्षम रहेको बताएका छन् ।

तर राजनीतिक दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले नराम्ररी जनताको कठघरामा उभ्याएको पनि उल्लेख गरेका छ । शनिबार विहान नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना सन्देश दिंदै डा. कोइरालाले राजनीति समाज सेवा हो, राष्ट्र निर्माणको अभियान हो र यो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नु हुँदैन पनि भनेका छन् ।

डा. कोइरालाले विसं २०८० को शुभकामना दिएको स्मरण गर्दै नेपालमा नयाँ दशक र नयाँ युगको सुरुवात भएर आम नेपालीको जीवनमा खुसीयाली आउनेछ भनी आफ्नो अभिमत प्रकट गरेको भएपनि त्यसमा पर्याप्त सुधार नभएको बताएका छन् ।

‘बितेको साढे तीन दशकमा शासकीय व्यवस्थामा आएको पटक पटकको परिवर्तनले आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक विकासलाई अवरोध पुग्दापुग्दै पनि हामीले त्यस क्षेत्रमा प्राप्त गरेको उपलब्धिलाई सन्तोषजनक मान्न सक्छौं । अझ खास गरी सूचना र प्रविधिको क्षेत्रमा विश्व समुदायसँग नागरिक बीचको अन्तरसम्बन्ध बढाएर अगाडि बढ्ने कार्यमा, पर्यावरण र मानवअधिकारको पक्षमा हामी झन्डै एउटै छातामुनि पुग्यौं,’ डा.कोइरालाले भनेका छन् ।

डा.कोइरालाले नेपाली युवाहरुको विदेश पलायन रोक्नुपर्ने उल्लेख गर्दै भनेका छन्, ‘नेपाल युवाहरूको देश भनेर चिनिन्छ । तर युवाको आन्तरिक र अन्तराष्ट्रिय पलायन भने उच्च रहेकाले गम्भीर हुने बेला भएको छ । राज्य, निजी क्षेत्र, गैरसरकारी संस्था लगायत विकासका अन्तराष्ट्रिय साझेदारी संस्थाको एकीकृत प्रयासबाट तिनको ऊर्जा देशभित्र नै उत्पादनशील क्षेत्रमा लगाउन अब ढिलो गर्नु हुन्न । जनसांख्यिक लाभलाई उत्पादनमा जोड्ने ध्येय र हुटहुटी नभएसम्म नव नेपालको निर्माण सम्भव छैन ।’

नयाँ वर्ष २०८१ को शुभकामना
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
विश्वभरिका नेपालीहरूले मात्र उत्साह र हर्षोल्लासका साथ मनाउने नयाँ वर्ष २०८१ आजबाट सुरु भएको छ । स्वभाविक रुपमा नेपाली समाजको आफ्नै संस्कृति र विशिष्ट स्वरूपलाई चिनाउने नयाँ वर्षलाई यसरी स्वागत गर्न पाउँदा हामी देशभित्र बस्ने र विश्वका कुनै कुनामा भए पनि नेपाली हुनुको गौरव गर्दछौं । भावनात्मक रुपमा एकताबद्ध हुन्छौं । यस पावन घडीमा म देशभित्र र बाहिर बस्ने सम्पुणर् नेपालीहरूलाई नयाँ वर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
विसं २०८० को शुभकामना दिइरहँदा मैले नेपालमा नयाँ दशक र नयाँ युगको सुरुवात भएर आम नेपालीको जीवनमा खुसीयाली आउनेछ भनी तपाईंहरू समक्ष आफ्नो अभिमत प्रकट गरेको थिएँ । मैले त्यसो भन्नुको मूल कारण, सम्पन्न आम निर्वाचनमा व्यापक रुपले जनताको सहभागिता मार्फत जनप्रतिनिधिहरू स्थानीय तह, प्रदेश र केन्द्रमा चुनिएर आएका थिए । देशमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि, सांस्कृतिक एकता, सुशासन र सामाजिक न्यायको लागि राजनीतिक आधार भूमि निर्माण भएको थियो र छ ।
बितेको साढे तीन दशकमा शासकीय व्यवस्थामा आएको पटक पटकको परिवर्तनले आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक विकासलाई अवरोध पुग्दापुग्दै पनि हामीले त्यस क्षेत्रमा प्राप्त गरेको उपलब्धिलाई सन्तोषजनक मान्न सक्छौं । अझ खास गरी सूचना र प्रविधिको क्षेत्रमा विश्व समुदायसँग नागरिक बीचको अन्तरसम्बन्ध बढाएर अगाडि बढ्ने कार्यमा, पर्यावरण र मानवअधिकारको पक्षमा हामी झन्डै एउटै छातामुनि पुग्यौं ।
आज नयाँ वर्ष २०८१ को शुभकामना दिइरहँदा म दाजुभाइ दिदीबहिनीहरुलाई स्मरण गराउन चाहन्छु कि हामीले धेरै हदसम्म ऊर्जाको समस्यालाई सम्बोधन गर्ने हुटहुटी देखाएका छौं । यसको गुणस्तरमा वृद्धि गरेर आम नेपालीले उपभोग गर्न सक्ने गरी सस्तो पार्नु पर्नेछ । देशमा साक्षरताको दर सम्मानजनक रुपमा अगाडि बढेको छ । अब गुणस्तरीय शिक्षामा हामी सबैको अर्जुनदृष्टि रहनुपर्नेछ । त्यस्तै जीवनको लम्बाइ पनि विगतको तीस दशकमा झन्डै सत्तरी वर्ष पुग्नु ठुलो उपलब्धि हो । साक्षरता दरमा देखिएको उत्साहजनक वृद्धिले भविष्यको नेपाल निर्माणको पिल्लर खडा हुँदै गइरहेको आभाष दिलाएको छ ।
नेपाल युवाहरूको देश भनेर चिनिन्छ । तर युवाको आन्तरिक र अन्तराष्ट्रिय पलायन भने उच्च रहेकाले गम्भीर हुने बेला भएको छ । राज्य, निजी क्षेत्र, गैरसरकारी संस्था लगायत विकासका अन्तराष्ट्रिय साझेदारी संस्थाको एकीकृत प्रयासबाट तिनको ऊर्जा देशभित्र नै उत्पादनशील क्षेत्रमा लगाउन अब ढिलो गर्नु हुन्न । जनसांख्यिक लाभलाई उत्पादनमा जोड्ने ध्येय र हुटहुटी नभएसम्म नव नेपालको निर्माण सम्भव छैन ।
आज लोकतन्त्र, संघीयता र गणतन्त्रमाथि चौतर्फी आक्रमण भएको छ । यो आक्रमणलाई निस्तेज पार्ने काम कसैले सक्छ भने त्यो नेपालका राजनीतिक दलहरु नै हुन । राजनीतिक दलहरूमा देखिएको सत्ता लिप्सा र अराजक व्यवहारले हामीलाई नराम्ररी जनताको कठघरामा उभ्याएको छ । राजनीति समाज सेवा हो, राष्ट्र निर्माणको अभियान हो र यो अभियानमा निष्ठावान, नैतिकवान र इमान्दार व्यक्तिहरू किमार्थ पछाडि पर्नु हुँदैन ।
राज्यका सार्वजनिक संस्थाहरूलाई दलीय राजनीतिबाट मुक्त राख्न नसके नागरिकको दृष्टिमा तीनको उपयोगिता स्थापित गर्न सम्भव छैन । हाम्रा संवैधानिक संस्थाहरू मात्र होइन राज्यका सबैजसो सरकारी निकायमा व्यापक सुधारको खाँचो छ । यो सुधार प्रक्रिया अब ढिलो गर्दा लोकतन्त्रमाथीको खतरा बढेर जानेछ । संघीयतालाई सफल पार्न प्रशासनिक र वित्तीय संघीयतालाई इमानदारीपूर्वक हस्तान्तरणको खाँचो छ ।
अन्तमा, नयाँ वर्ष आगमनसंगै हामी विगतबाट शिक्षा लिएर आगतलाई सच्याउने संकल्प गर्दै अगाडि बढ्नु परेको छ । तब मात्र हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको माध्यमद्वारा शान्ति र समृद्धको यात्रा तय गर्न सक्नेछाँै । आमनागरिकको हामी राजनीतिकर्मीसँग त्यही अपेक्षा छ । प्रश्न छ के हामी राजनीतिकर्मी नागरिकको अपेक्षाअनुरूप अगाडि बढ्न तयार छौँ वा बढिरहेका छौँ रु
राजनीतिकर्मीहरुले प्राथमिकतामा सधै आफू र आफ्नो दललाई मात्रै राखे । त्यसकारण जनतामा चरम निराशा पैदा भएको छ । जनतामा आएको त्यो निराशालाई आशामा परिवर्तन गर्नुपर्ने आजको पहिलो आवश्यकता हो । अतः एक पटक आफू र आफ्नो दल भन्दा “देश र जनता” माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउँनेछ ।
देशभित्र आमनागरिक, बुद्धिजीवी, व्यापारी, उद्योगपति, कर्मचारी लगायत सबैले समर्थन गरेकोलाई मात्र अन्तराष्ट्रिय समुदायले विश्वास गर्छन्, देशमा लगानी आउँछ र उत्पादन बढेर रोजगारीको अवसर सृजना हुन्छ । यो ‘इको सिस्टम’ निर्माण गर्न जति चाँडो सम्भव भयो नयाँ वर्षको उमंग र उल्लास त्यति नै दिगो हुन्छ । दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न तबमात्र सम्भव हुन्छ ।
मलाई लाग्दछ अब हामीसँग नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प छैन । वर्ष २०८१ बाट हामी सबैले त्यस दिशातर्फ आफूलाई केन्द्रित गरौँ । यो देशमा केही हुँदैन भन्ने भाष्यलाई चिर्दै आमनागरिक, निजीक्षेत्र, राजनीतिकर्मी, कर्मचारीतन्त्रलगायत सबै पक्षले एकता, सहकार्य र संकल्प गर्दै देश विकासमा अगाडि बढौँ र भनौँ हामी राष्ट्र निर्माण गर्न सक्छौं । हामी आम नागरिकको मुहारमा खुसीयाली ल्याउन सक्छौँ । एक पटक फेरि नयाँ वर्षको सबैमा शुभकामना । जय नेपाल ।
डा शेखर कोइराला
२०८१ बैशाख १ गते

तपाइँको प्रतिक्रिया