शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ११:१६ |सिड्नीको समय: ०९:१६ |काठमाडौंको समय: ०५:०१

एनआरएन निर्वाचन रोक्न परेको उजुरी छानविन गर्न तीन सदस्यीय समिति गठन

एएनजेड खबरसेप्टेम्बर १४, २०२१


This image has an empty alt attribute; its file name is nrna-297x300-3.png

नेपाल सरकार, परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ(एनआरएनए)को अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन र अधिवेशन रोक्न अनुरोध पत्र पठाएपछि एनआरएनएका प्रतिनिधि अन्यौलमा परेका छन् ।
दशैं र तिहारको छेउमा नेपालमा हुन गइरहेको अधिवेशनमा सहभागी भइ नयाँ नेतृत्व चुन्ने तयारीमा रहेका एनआरएनए सदस्यहरुले सरकारको निर्णयबारे मिश्रित प्रतिक्रिया व्यक्त गरिरहेका छन् ।


प्रतिनिधि छनौटमा केन्द्रले धाँधली गरेको भन्दै एक पक्षले निवेदन दिएपछि परराष्ट्रले अधिवेशन रोक्न निर्देशन दिएको हो । मन्त्रालयले संघको निर्वाचन प्रक्रियामा भएका अनियमितताबारे छानबिन भइरहेकाले छानबिन प्रतिवेदन नआउन्जेलसम्म निर्वाचन रोक्न निर्देशन दिएको हो ।
निर्वाचन रोक्न परेको उजुरी छानविन गर्न परराष्ट्रका सहसचिव भरतकुमार रेग्मीको संयोजकत्वमा तीन सदस्यीय समितिसमेत गठन भएको छ ।


सरकारले दिएको निर्देशन पत्रमा अष्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजील्याण्ड, बेल्जीयम, स्वीडेन, निदरल्याण्ड, डेनमार्क र पोर्चुगललगायतका मुलुकका निर्वाचनमा अनियमितता भएको भन्दै उजुरी परेकाले त्यसको छानविन गरिने उल्लेख छ । एनआरएनए एनसीसी जापानमा भएको अनियमितताबारे सोधिएको पत्रको समेत जवाफ नेतृत्वबाट नआएकाले आइसीसीमा धाँधली भएको आशँका उजुरीकर्ताको छ ।
यही अक्टोबर २३ र २५ मा हुन गइरहेको संघको निर्वाचनमा संघका उपाध्यक्षद्वय बद्री केसी, कुल आचार्य र रविना थापाले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।


निर्वाचन रोक्न परराष्ट्रले दिएको निर्देशनप्रति संघको नेतृत्वले आपत्ति जनाएको छ । संघका अध्यक्ष कुमार पन्तले राजनीतिक दबाबमा मन्त्रालयले एनआरएनको निर्वाचन प्रक्रिया रोक्न पत्र पठाएको दाबी गरेका छन् ।
‘संघमा राजनीति भो, अब हामी यसविरुद्ध अदालत जाने तयारीमा छौँ’, हाल बार्सिलोनामा रहेका पन्तले भनेका छन् ।
प्रतिनिधि छनौटमा धाँधली भएकोलगायत अध्यक्षका प्रत्याशी कुल आचार्य पक्षले लगाएका १९ बुँदे आरोपको पनि उनले खण्डन गरे ।


‘प्रतिनिधिको अन्तिम नामावली आएकै छैन, दाबी विरोध आएका छन् । त्यसको छानविन नगरी राजनीतिक हस्तक्षेप गर्र्दै परराष्ट्रले अधिवेशन नै रोक्ने निर्देशन दिनु गलत हो’, उनले भने ।
अध्यक्षका प्रत्याशी कुल आचार्यले भने नेतृत्वको स्वेच्छाचारी रवैया विरुद्ध आफूहरु खडा भएको बताए ।
‘प्रतिनिधि छनौट पारदर्शी भएन । व्यापक धाँधली भएको साथीहरुको गुनासो विभिन्न ठाउँबाट आइरहेकै छ’, उनले भने ।


तपाइँको प्रतिक्रिया