शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०९:३५ |सिड्नीको समय: ०७:३५ |काठमाडौंको समय: ०३:२०

अष्ट्रेलिया बस्दै आएका विनोद र सदीक्षाले नीजि लगानीमा बनाउँदै छन् अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

एएनजेड खबरडिसेम्बर २०, २०२३

काठमाडौं । अष्ट्रेलियामा आइटी व्यवसाय गर्दै आएका विनोद कुँवर यतिबेला रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा क्रिकेट रंगशाला निर्माण गरिरहेका छन् । एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष समेत रहेका कुँवरले व्यक्तिगत लगानीमा सुविधा सम्पन्न रंगशाला निर्माण गरिरहेका हुन् ।

कुँवरले तिलोत्तमा १७ पूर्व दरखसवामा साढे ५ विगाह जग्गामा करिब ४० करोड लगानीमा क्रिकेट मैदान बनाउन थालेका हुन् । एक्स्ट्राटेक ओभल क्रिकेट मैदान नाम राखिएको उक्त स्टेडियम अन्तर्राष्ट्रिय स्तरको हुने उनको दाबी छ ।

एक्स्ट्राटेक ओभल प्रालि र यसका निर्देशक कुँवर तथा चिफ अपरेटिङ अफिसर सुदीक्षा गौतमले रङ्गशाला निर्माणको स्वामित्व लिएर काम अगाडि बढाएका हुन । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आईटी ट्रेनिङ इन्सिच्युट हो । मैदान बनाउन थालेको ६ महिनामा पहिलो चरणको काम पूरा भएको छ । पहिलो चरणको काम समेर कुँवर अष्ट्रेलिया पुगेका छन् ।

२०८० साल जेठ २९ गते शिलान्यास भएको मैदानको ६ महिनाको अवधिमा पहिलो चरणको काम सम्पन्न भएको एक्स्ट्रा ओभल प्रालिका निर्देशक कुँवरले बताए । दुई वर्षअघि जग्गा खरिद प्रक्रिया शुरु गरिएको थियो ।

कुँवरले फागुन १ गतेबाट मैदान खेल्न सकिने र यसमा गुणस्तरमा कुनै कमी उनले दाबी गरे । नेपालमा क्रिकेट खेल्नका लागि पूर्वाधारको कमी आफूले देखेकै कारण यसरी लगानी गरेको उनले बताए ।

यो मैदान नेपालमा अहिले भएका सबै क्रिकेट मैदानभन्दा आधुनिक र प्रविधिमैत्री हुने र यसमा आन्तरिक प्रशिक्षणलाई समेत सामेल गरेर लैजाने योजना रहेको कुँवरको भनाइ छ । मैदानको दिगोपनाका लागि आफूहरू एकेडेमी सञ्चालन गरेर आर्थिक पाटोलाई व्यवस्थापन गर्ने सोच रहेको उनले बताए ।

भारतको जोडिएको सीमा क्षेत्रका कारण पनि यहाँ व्यावसायिक रूपमा एकेडेमी चलाउने योजना रहेको उनको योजना छ । रंगशाला पहिलो वर्ष ५ हजार दर्शक क्षमताको बनाइने र हरेक वर्ष ५ हजार क्षमता थप्दै ४ वर्षमा २५ हजार क्षमताको बनाउने लक्ष्य छ । रंगशाला होस्टेलसहित एकेडमी र तालिम केन्द्र सहितको हुनेछ ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाड़ी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बेस्डर छन । रङ्गशालामा होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर रहने छ भने शक्ति गौचनलाई यसको जिम्मेवारी दिइएको छ । रङ्गशाला कम्पाउन्डमा चार तलाको भवन बनाएर १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने योजना रहेको निर्देशक कुवँरको भनाई छ ।

यतिबेला मैदानमा ३ हजार टिप्पर माटो हालेर मैदान सम्याई पीच र दुबो लगाउने काम समेत सम्पन्न भएको छ भने मैदानको वरिपरि पक्की नाली निर्माण र तार जाली लगाउने काम पनि सम्पन्न भएको कुंवरले बताए ।

तपाइँको प्रतिक्रिया