मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १५:३७ |सिड्नीको समय: १३:३७ |काठमाडौंको समय: ०९:२२

दुई युवाको मृत्यु र मन्त्रीको गाडी जलाइएपछि अदालतको आदेशः ‘ईपीएस परीक्षामा सामेल गराउनु’

एएनजेड खबरडिसेम्बर २९, २०२३

काठमाडौं । उच्च अदालतले ईपीएस परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ईपीएस कोरिया शाखालाई परीक्षामा सहभागी गराउनका लागि अन्तरिम आदेश दिएको हो ।

यसअघि पानी जहाज निर्माणको कामका लागि परीक्षा दिएर अनुत्तिर्ण भएका करिब २८ हजार परीक्षार्थीलाई पनि सामेल गराउन आदेश दिएको हो। यसअघि ईपीएस कार्यालयले अदालतको आदेश लिएर गएका १८ जनालाई मात्रै आवेदन भर्न दिइएको थियो।

ईपीएस शाखाले मंसिर १९ गते उत्पादनमूलक क्षेत्रका लागि कोरियन भाषा परीक्षाको आवेदन फाराम खुलाउँदा अन्य क्षेत्रतर्फ कोरियन भाषाको परीक्षाको लागि आवेदन दिएका आवेदकले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने उल्लेख थियो ।

यो व्यवस्थाविरुद्ध सिप बिल्डिङ क्षेत्रमा सामेल भएका आवेदकले उच्च अदालत पाटनमा निवेदन पेस गरेपछि अदालतले फाराम भर्न रोक नलगाउन आदेश दिएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखाले आवेदन फाराम खुला गरेको हो ।

इपीएस आवेदन फाराम भर्न नपाउँदा शुक्रबार बालकुमारी–ग्वार्को क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे। आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको उनले बताए।

प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरूले गाडीमा आगजनी गरेका थिए।

ग्वार्कोमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थियो। झडपका क्रममा घाइते भएका दुई युवाहरूमध्ये एकको किस्ट र अर्काको पाटन अस्पतालमा ज्यान गएको हो।

तपाइँको प्रतिक्रिया