मंगलबार, जेठ १, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: १३:३८ |सिड्नीको समय: ११:३८ |काठमाडौंको समय: ०७:२३

राष्ट्रिय सभा निर्वाचन: कांग्रेस र एमालेबाट को–को उम्मेदवार ?

एएनजेड खबरजनवरी ८, २०२४

काठमाडौँ । नेपाली कांग्रेसले चरम आन्तरिक विवादकाबीच राष्ट्रिय सभाका उम्मेद्वार चयन गरेको छ। जसअनुसार कांग्रेसले पाका कृष्णप्रसाद सिटौलादेखि जितजंग बस्नेतलाई समेटेर राष्ट्रिय सभाको उम्मेद्वार चयन गरेको हो । १० जना मध्ये शेखर कोइराला र गगन थापा पक्षले तीन जना पाएको छ ।

कांग्रेसका अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका पूर्वमहामन्त्री सिटौला यसअघि प्रतिनिधिसभा सदस्यमा झापा(३ बाट पराजित भएका थिए ।

त्यस्तै, मधेश प्रदेशबाट अन्ततर्फ आनन्दप्रसाद ढुंगानालाई उम्मेदवार बनाएको छ । उनी पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक हुन् । सिटौला र ढुंगाना दुवै संस्थापन पक्षबाट उम्मेदवार बनेका हुन् ।

कांग्रेसले बागमती प्रदेशको अन्यतर्फ बस्नेत र महिलातर्फ विष्णुकुमारी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । हाल पार्टीको केन्द्रीय सदस्य रहेका बस्नेत नेपाल तरुण दलका पूर्वअध्यक्ष हुन् । पुडासैनी नेपाल महिला संघ काठमाडौंकी अध्यक्ष हुन् । बस्नेत सभापति शेरबहादुर देउवा निकट हुन् भने पुडासैना नेता प्रकाकाशमान सिंह निकट हुन् ।

यस्तै गण्डकी प्रदेशको अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतर्फ पदमबहादुर परियार र लुम्बिनीको महिलातर्फत विष्णुकुमारी सापकोटालाई उम्मेदवार बनाउने निर्णय भएको उनको भनाइ छ ।

श्रेष्ठ प्रदेश कार्यसमितिका महामन्त्री हुन् भने रिसेडका अध्यक्ष समेत रहेका परियार कांग्रेस क्षेत्रीय प्रतिनिधि हुन् । सापकोटा कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समिति सदस्य हुन् । गण्डकीबाट श्रेष्ठ र परियार तथा लुम्बिनीबाट सापकोटा शेखर र गगन समूहको कोटामा उम्मेदवार बनेका हुन् ।

कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यबलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको महतले बताए । रोकाया कर्णाली प्रदेश कार्यसमितिका महामन्त्री हुन् । त्यस्तै, भट्ट पार्टीका कैलाली सभापति हुन् भने बोहरा कञ्चनपुर कांग्रेसका पूर्वसभापति हुन् । उनीहरु तीनै जना संस्थापन पक्षका नेता हुन् ।

त्यस्तै, एमालेले १९ सिटकै उम्मेदवार टुंगो लगाएको छ । एमालेले कोशीमा महिलाबाट सुनसरीकी रुक्मिणी चौधरी र अन्यबाट भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाउने छ ।

मधेसबाट महिलातर्फ पर्साकी उषादेवी थरुनी र अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाउने छ । बागमतीबाट महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाई र, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अल्पसंख्यक–अपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्मालाई उम्मेदवार बनाउने भएको छ ।

गण्डकीमा महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अल्पसंख्यक तथा अपांगता तर्फबाट मुस्ताङका हेमचन्द्र शेरचनलाई उम्मेदवार बनाउने भएको छ ।

एमालेले लुम्बिनीमा महिलातर्फ दाङकी तुलसाकुमारी केसी र अन्यतर्फ पाल्पाका झपेन्द्रबहादु घर्तीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई उम्मेदवार बनाउने भएको छ । सुदूरपश्चिममा महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे, अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी तय भएका छन् ।

राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ ।

तपाइँको प्रतिक्रिया