बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ०६:३९ |सिड्नीको समय: ०४:३९ |काठमाडौंको समय: ००:२४

नेपाली चलचित्रका लागि नेपालपछि अष्ट्रेलिया राम्रो बजार

एएनजेड खबरअप्रिल ५, २०२४

सिड्नी । नेपाली समुदायको बाक्लो बसोबास रहेको अष्ट्रेलियाका विभिन्न शहरमा नेपाली चलचित्रले राम्रो बजार पाइरहेको छ । नेपाल झैँ अष्ट्रेलियामा पनि लगभग हरेक हप्ता नयाँ चलचित्र प्रदर्शन भइरहेको छ ।

पछिल्लो चलचित्र ‘महाजात्रा’ले अष्ट्रेलियामा गरेको व्यापारलाई आधार मान्ने हो भने नेपाली चलचित्रका लागि नेपालपछि अष्ट्रेलिया राम्रो बजार देखिएको छ । ‘महाजात्रा’ ले अष्ट्रेलियामा राम्रै व्यपार गरेको छ। गत चैत ९ गतेदेखि प्रदर्शनरत फिल्मले अष्ट्रेलियामा दुई लाख अष्ट्रेलियन डलर कलेक्सन गरिसकेको छ ।

अष्ट्रेलियामा नेपालीको बसोबास बढेसँगै चलचित्रसम्बन्धी गतिविधि बढेको हो । त्यसैले अहिले नेपाली चलचित्रकर्मी अष्ट्रेलिया लक्षित गतिविधिलाई बढाउने गरेका छन् । केही चलचित्रको छायाङ्कन नै त्यहीँ गर्ने घोषणा गरिएको छ भने केहीमा त्यहाँ रहेका प्रवासी नेपालीले लगानी गरेका छन् ।

अष्ट्रेलियाका सहरमा नेपाली चाडपर्वमा गीत सङ्गीतसम्बन्धी कार्यक्रम पनि उत्तिकै हुने गरेको छ । यस्तै विविध कारणले त्यहाँ कलात्मक गतिविधि बढेको छ । केही वर्षदेखि अष्ट्रेलियामा नेपाली चलचित्रको वितरणमा सक्रिय वितरक एमएसएम इन्टरटेन्मेन्ट्सका सञ्चालक छत्र थापाले व्यावसायिक रुपमा नेपाली चलचित्रको लागि आकर्षक बजार बनिरहेको जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा ‘छक्का पञ्जा’, ‘कबड्डी’, ‘जात्रा’ लगायत समूहले निर्माण गर्ने चलचित्र निर्माणपूर्व नै बिक्री हुने गरेको उनले जानकारी दिए । यद्यपि, चलचित्रको बजार बढेसँगै बलियो बनाउने चुनौतीसमेत रहेको छ ।

प्रवासी नेपालीले समय निकालेर चलचित्र भवन पुगेको चलचित्र मन नपर्दा त्यसको असर आउँदो केही चलचित्रलाई पर्ने गरेको छ । ‘रीमै’, ‘पुजार सार्की’, ‘घर ज्वाइँ’, ‘महाजात्रा’ जस्ता चलचित्रको विश्व प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिँदै उनले बजार विस्तारसँगै टिकाई राख्नु चुनौती रहेको बताए ।

अष्ट्रेलियामा चलचित्र प्रदर्शनसँगै निर्माणको अनुभव सङ्गाल्नु भएका वितरक करण श्रेष्ठले हरेक हप्ता नेपाली चलचित्र प्रदर्शन हुनु सुखद पक्ष हुनुका साथै चुनौती थपिएको बताए । उनले भने ‘नेपाली चलचित्र धेरै सङ्ख्यामा पुग्नु हाम्रो लागि सुखद पक्ष हो । तर, दर्शकको माग भन्दा पूर्ति बढी हुँदा त्यसले समस्या पनि निम्त्याउन सक्छ । त्यसैले हामीसँग भएको बजारलाई बलियो बनाएर विस्तारमा निर्माता र वितरकले ध्यान दिनु जरुरी छ ।’ पछिल्लो समय नेपाली चलचित्रको बजार अष्ट्रेलियापछि संयुक्त राज्य अमेरिका, मध्यपूर्वका देशहरूमा बलियो देखिएको छ ।

तपाइँको प्रतिक्रिया