शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १०:५४ |सिड्नीको समय: ०८:५४ |काठमाडौंको समय: ०४:३९

अष्ट्रेलियामा भिसा आवेदन र अनुमोदन दर निरन्तर घट्दै, विद्यार्थीले रोज्न थाले वैकल्पिक देश

एएनजेड खबरअप्रिल २२, २०२४

सिड्नी । अन्तर्राष्ट्रिय विद्यर्थीलाई केन्द्रित गरेर अष्ट्रेलियाको संघीय सरकारले ल्याएको नयाँ आप्रबासन नीतिका कारण विद्यार्थी भिसा आवेदन निरन्तर कमी आउन थालेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्याङ्क अनुसार भिसा अनुमोदन दर घटेर ८१ प्रतिशतमा पुगेको छ ।

अष्ट्रेलियाको गृह मन्त्रालयले २४ मार्च २०२४ देखि लागु हुनेगरी भिसासम्बन्धी नियममा परिवर्तन गरेपछि भिसा आवेदन दर र अनुमोदन पनि घटेको हो । इमिग्रेशन विभागलाई उदृत गर्दै फाइनान्स रिभ्युले सार्वजनिक गरेको तथ्यांकमा अष्ट्रेलिया भित्रिने विद्यार्थीको संख्या १० बर्ष यताकै न्यून छ । किनकी मार्च महिनामा ४६ हजार ५ सय ७० विद्यार्थी मात्र अष्ट्रेलिया उत्रिएका छन् ।

जसका कारण सरकारले लाखौं डलर गुमाइरहेको छ । अधिकांश युर्निभर्सिटी तथा कलेजहरुले अन्तराष्ट्रिय विद्यार्थीहरुलाई अफर लेटर उपलब्ध गराउने नीतिमा पुर्नविचार गरिरहेको जनाएका छन् । विद्यार्थीहरुले अष्ट्रेलिया छाड्ने र सहज देश रोज्न पनि थालेको तथ्यांकहरुले देखाउँछ । भिसा रद्द हुँदा मार्च महिना मात्रै ३९ हजार बढी विद्यार्थीले अष्ट्रेलिया छोडेर जानुपरेको तथ्यांकमा उल्लेख छ ।

यतिबेला अष्ट्रेलियामा ७ लाखभन्दा बढी विदेशी विद्यार्थीहरू बसिरहेका छन् । नयाँ सरकारी तथ्याङ्कका अनुसार फेब्रुअरीसम्म अष्ट्रेलियामा विद्यार्थी भिसामा ७ लाख १३ हजार विदेशी विद्यार्थी भित्रिएको देखाउँछ । फेब्रुअरीदेखि यता तीन महिनामा भिसाको आसा गरेर आवेदन दिएका ५० हजारभन्दा बढी विद्यार्थीहरूको भिसा अष्ट्रेलियाले अस्वीकार गरेको छ । यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

नयाँ नीति अनुसार गृह मन्त्रालयले भिसा दिंदा यसअघि आर्थिक पक्षलाई प्राथमिकता दिंदै आएकामा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथामिकता दिने जनाएको छ । यसअघिको ‘जेन्युन टेम्प्रोररी इन्ट्रान्स’ (जीटीई) खारेज गर्दै सरकारले ‘जेन्युन स्टुडेन्ट’ (जीएस) को नीति लिएको छ ।

सरकारले समानान्तर अध्ययनलाई निषेध गरेको छ भने उच्च शिक्षा अध्ययनपछिको भिसाको अवधि पनि घटाएको छ । अध्ययनका लागि अष्ट्रेलिया पुग्न चाहनेहरूले देखाउनुपर्ने रकम २१ हजार ४१ डलरबाट बढाएर २४ हजार ५०५ बनाइएको छ । यस्तै भिसा आवेदन शुल्क पनि बढाइएको छ । विद्यार्थी भिसा शुल्क ६५० डलरबाट बढाएर ७१५ डलर बनाइएको छ ।

फाइनान्सियल रिभ्युमा प्रकाशित एक रिपोर्टका अनुसार ८ हजार ३०० सय सम्भावित अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सर्वेक्षणले गत वर्ष २२ प्रतिशत विद्यार्थीले क्यानडा, बेलायत र अष्ट्रेलिया जस्ता प्रमुख गन्तव्यहरूबाट न्युजिल्याण्ड जस्ता साना देशहरू र जर्मनी र अमेरिकालाई नयाँ गन्तव्यका रूपमा परिवर्तन गर्न थालेका छन् । जसका कारण अष्ट्रेलियाको ठूलो मानिएको आम्दानीको स्रोत शैक्षिक राजश्व घट्दोक्रममा छ ।

तपाइँको प्रतिक्रिया