आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ११:०० |सिड्नीको समय: ०९:०० |काठमाडौंको समय: ०४:४५

क्यान्सर जितेकी सुम्निमाको अष्ट्रेलियाको राजदूत बन्ने सपना अधुरै

एएनजेड खबरजुलाइ १९, २०२१


ओली सरकारले डेढ महिनाअघि प्रस्ताव गरेका ११ देशका राजदूतको नाम सिफारिश एकैसाथ खारेजीमा परेसंगै अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरको कुटनीतिक क्षेत्रमा सेवा गर्ने योजनामा तत्कालका लागि बिराम लागेको छ ।


मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरको छोरी, बाल अधिकार सम्वन्धी काम गरिरहेको संस्था सिविनकी निर्देशक अनि संयुक्त राष्ट्रसंघका विभिन्न सम्मेलनदेखि कुटनीतिक क्षेत्रका ब्यक्तित्वहरुसँगको निरन्तर सहकार्य लगायतका अनुभवबाट खारिएकी तुलाधरले राजदूतमा नाम प्रस्ताव भएसंगै अष्ट्रेलियासंगको नेपालको कुटनैतिक सम्बन्धका बारेमा विस्तृत अध्ययन गरिरहेकी थिईन् । प्रस्तावित भएको समयदेखि खारेज पर्नु अघि सम्मका समय अष्ट्रेलियामा रहेका सामाजिक अभियन्ता, कुटनीतिक विश्लेषकदेखि यहाँका प्रवासी नेपालीहरुसंगको समेत सम्बन्धलाई तुलाधरले निकट बनाउँदै गएकी थिईन् ।


केही वर्ष अघि ब्रेस्ट क्यान्सरबाट समेत पिडित बनेपनि रोगलाई जितेकी तुलाधर सामाजिक क्षेत्रको कार्यबाट कुटनीतिक क्षेत्रमा फड्को मार्ने तयारीमा थिइन् । ३३ वर्षसम्म बाल अधिकारको क्षेत्रमा काम गरेकी सुम्निमा मानवअधिकारवादी नेता गौरी प्रधानकी पत्नी पनि हुन् । एकातिर परिवारको कम्युनिष्ट पार्टीसंगको राजनीतिक निकटता र अर्काेतर्फ गैरसरकारी संस्थामार्फत सामाजिक सेवामा पुर्याएको योगदानकै कारण ओली सरकारले तुलाधरलाई राजदूतका रुपमा प्रस्तुत गरेपनि फेरि राजनीतिक बिभाजनमै परेर राजदूत वन्न नपाउँदै उनको योजनामा विराम लागेको हो ।


सरकारको यो निर्णयसंगै हाल फिर्ता बोलाइएका तर लकडाउनकै कारण हवाई उड्डयन अवरोध भएकाले क्यानवेरामा रहिरहेका राजदूत महेशराज दाहालले पुर्ननियुक्ति पाउने संभावना अधिक रहेको विश्लेषकहरुको दाबी छ ।


राजदूत दाहाल कुनै समय नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता रहेको र पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहालको निकट रहेका कारण पनि नवगठित सरकारले उनीलाई नै राजदूत पदमा सिफारिस गर्न सक्ने आँकलन विश्लेषकहरुको रहेको छ । तर मिलीजुली सरकारमा भागबण्डा भएको खण्डमा अष्ट्रेलिया कुन पार्टीको भागमा पर्छ त्यसैमा दाहालको पुर्नबहाली निर्धारण हुने स्रोतको दाबी छ ।

तपाइँको प्रतिक्रिया