सोमबार, वैशाख २४, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०४:२८ |सिड्नीको समय: ०२:२८ |काठमाडौंको समय: २२:१३

म त निर्विरोध भएँ, अब एनआरएनएमा समय दिन सक्ने ब्यक्तिहरु निर्वाचित भएर आउनुपर्छ : अनिल पोखेरेल

एएनजेड खबरजुलाइ २३, २०२१

‘साझा एनआरएनए, सवल एनआरएनए’ समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका अनिल पोखरेल निर्विरोध निर्वाचित भएका छन् । एनआरएनएमा २०१९–२१का लागि समेत कोषाध्यक्ष पदमा रहेर आफ्नो क्षमता र कार्यकुशलता प्रदर्शन गरिसकेका सामाजिक अभियन्ता एवं मृदुभाषि पोखरेल निर्विरोध भएको निर्वाचन आयोगले नाम प्रकाशित गरे लगत्तै एएनजेड खवरसंग भएको टेलिफोन वार्ताको सम्पादित अंश ।


कोषाध्यक्षमा निर्विरोध हुँदै गर्दाको अनुभव कस्तो रह्यो ?
मेरो ब्यक्तिगत र मेरा शुभचिन्तकहरुकोे चाहना आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने थियो । तर समय परिस्थिति र अन्य कारणहरुले मैले ती चाहनाहरुलाई पुरा गर्न सकिन । त्यसैले मेरा धेरै शुभचिन्तकहरुको सल्लाह, सुझाव बमोजिम कोषाध्यक्षमा उम्मेदवारी दिएको थिँए । तर यही पदमै उम्मेदवारी दिनुभएका बावुराम गौतमले युवा पुस्तालाई प्रोत्साहन र सामाजिक कार्यमा सहकार्य र सहमति पनि हुन सक्छ भन्ने उदाहरण दिँदै उम्मेदवारी फिर्ता गर्नुभएपछि म निर्विरोध भएँ । यसले मलाई सुखद् अनुभव र चुनौती दुबै दिएको ठानेको छु ।


अनिल पोखरेलमा त्यस्तो के छ र, तपाईलाई यही पदमा पुनः चुनिएको ?
सायद मैले यो कार्यकालमा देखाएको संस्थाप्रतिको लगाव, माया र कार्यक्षमताले गर्दा होला धेरैको सहानुुभूति र माया म प्रति भएको । १६ हजार सदस्य रहेको एनआरएनए अष्ट्रेलियालाई सही दिशामा लैजान सबल र सक्षम नेतृत्वको खाँचो परिरहेको अहिलेको अवस्थामा म निर्विरोध हँुदै गर्दा मैले हिजो कोषाध्यक्ष रहँदा गरेका कार्यहरु, एनआरएनले अंगिकार गरेका विविध योजनाहरुलाई मूर्तरुप दिनका लागि मेरा अनुभव र म आफैँ सर्टिफाईड प्राक्टिसिंग एकाउन्टेन्ट –सिपीए) भएका कारणले यो भूमिकाका लागि मलाई छानिएको जस्तो मलाई लाग्छ ।

चुनावी मैदानबाट बाहिर बसेर हेर्दा अहिलेको निर्वाचनको माहौल कस्तो देख्नुहुन्छ ?
एनआरएनएमा रहेर सामाजिक सेवामा समर्पित हुन अनुभवि देखि नयाँ अनुहारहरु पनि आउनुभएको छ । समूहको होस् ब्यक्तिका, सबैका चुनावी एजेण्डाहरु अत्यन्तै राम्रा छन् । अहिले निर्वाचनबाट चुनिएर आउनुहुनेहरुले एनआरएनएको उद्धेश्यलाई मूर्तरुप दिनुहुनेछ भन्ने मलाई लाग्छ ।
एनआरएन अष्ट्रेलियाको नेतृत्वमा को आउँदा उपयुक्त हुन्छ जस्तो लाग्छ ?
यतिबेला एनआरएन अध्यक्षको प्रत्यासीमा दुईजना अग्रजहरु देखिनुभएको छ । दुबै जनाको संस्थाप्रति ठूलो योगदान छ । मैले दुबै जनासंग काम गर्ने मौका पाएको छु । तर अबका दिनमा एनआरएनमा धेरै काम गर्नुपर्ने चुनौती भएकाले समय दिन सक्ने र भिजन भएका ब्यक्तिको नेतृत्वमा खाँचो रहेको छ ।

चुनौती भन्ने शब्द पटकपटक प्रयोग गर्नुभयो, के छ त्यस्तो चुनौती एनआरएनएमा ?
एनआरएनएमा गर्नुपर्ने धेरै कामहरु छन्, तर हामीसँग काम गर्ने जनशक्तिको कमी छ । एकजना कर्मचारी समेत नभएको अवस्था छ । एनआरएन अर्गनाईजेसन त भयो तर इन्स्टिच्यूसन अझै बन्न सकेको छैन । दीर्घकालीन रुपमा यसका योजनालाई अगाडी बढाउन र समुदायका हितका लागि गर्नुपर्ने धेरै कामहरु छन् । सरकारी र गैरसरकारी अनुदानका स्रोतहरुको खोजी र त्यसको उपयोगका लागि काम गर्नुपर्ने छ । अब एनआरएनका बोर्डमा आउने तयारी गरेका साथीहरुले संस्थाका चुनौतीहरुलाई राम्ररी बुझ्नुभएको होला भन्ने मैले अपेक्षा गरेको छु ।

त्यो त नीतिगत कुरा भए,यहाँ रहेका नेपालीले एनआरएनएलाई आफ्नो अभिभावकीय संस्था हो भन्ने अनुभूति कहिले गर्न पाउँछन् ?
सर्वप्रथम त के बुझ्नुपर्छ भने एनआरएनए गैर नाफामूलक एक सामाजिक संस्था हो । तर बिगतका दिनहरुलाई पनि सम्झिने हो भने हामीले प्रवाशमा रहेका नेपालीहरुका लागि धेरै काम गरेका छाँै । चाहे त्यो कोभिड कहरका कारण यहिँ रोकिएका अभिभावकहरुलाई चार्टर विमानमार्फत नेपाल फिर्ता पठाउने बेलामा होस् वा विद्यार्थीहरुलाई सहयोग वितरण गर्दाको अवस्थामा होस् । नेपाल सरकारको उपस्थिति रहँदा रहदैपनि यहाँ रहेका एनआरएनले राज्यले गर्ने भन्दा धेरै भूमिका निभाएका छौं । तर यति भन्दा भन्दै पनि हामीपनि धेरै कुरामा सुध्रिनुपर्ने ठाउँहरु छन् । हाम्रो कार्यशैलीलाई समयानुकूल सुधार गर्दै लैजान सकियो भने सबैले एनआरएनएलाई अपनत्वको भावले हेर्नेछन् । उदाहरणकै रुपमै केही समय अघि मेरै संयोजनमा सिड्नीमा उद्यमी सम्मेलनको आयोजना गरियो । विगतका हाम्रा सम्मेलनहरुमा समाजका अगुवाहरुलाई मञ्चमा बोलाएर घण्टांै भाषण गर्न लगाउने गरिन्थ्यो, तर त्यो निरन्तरताको क्रमभंगता गर्यौं र कार्यक्रमलाई नयाँ ढंगले चलायौं । जसलाई विशेष गरेर युवा पुस्ताले रुचाईदिनुभयो । नयाँ पुस्तालाई केन्द्रित गरेर फरक तवरले हामी अघि बढ्यौ भने यो संस्थाको उद्धेश्य पनि पूर्ति हुन्छ र संस्थाले नयाँ उचाइ लिन्छ ।


तपाइँको प्रतिक्रिया