मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ०९:४५ |सिड्नीको समय: ०७:४५ |काठमाडौंको समय: ०३:३०

एमाले फुटाउन बदनियतले ल्याइएको अध्यादेश खारेजी षडयन्त्रपूर्ण : एमाले अध्यक्ष ओली

एएनजेड खबरसेप्टेम्बर २८, २०२१


काठमाडौं । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरिनुलाई ‘बदनियतपूर्ण’ भन्दै आपत्ति जनाएका छन् ।
आफुलाई भेटन मंगलबार बिहान बालकोट निवास आएका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग अध्यक्ष ओलीले संसदको अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउनु र संसद चलिरहेका बेला राष्ट्रपतिमार्फत खारेज गर्नु षडयन्त्रपूर्ण र बदनियतपूर्ण भएको बताए ।

(तस्वीर : रामशरण बजगाईको फेसबुकबाट)


प्रधानमन्त्रीलाई ओलीको सन्देश
ओलीका प्रेस सहयोगी रामशरण बजगाईंको प्रेस नोटका अनुसार कानून मन्त्रीमार्फत ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाएको सन्देश यस्तो छ,
‘सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो । जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ ।


चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो ।
अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसदलाई सरकारले सूचित गरिसकेको अवस्था छ ।

कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्बाहेक अन्यत्रबाट हुन सक्दैन ।
संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेश मार्फत कानुन सम्बन्धी काम हुन सक्ने हो ।

तर हाल संसद् अधिवेशन चालु रहेकै बेला संसदमा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ ।
यस्तो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँ मार्फत आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्री समक्ष पठाउनु भयो ।’

तपाइँको प्रतिक्रिया