शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०१:१७ |सिड्नीको समय: २३:१७ |काठमाडौंको समय: १९:०२

कोदोको रक्सी अब ब्रान्ड, बेलायतमा तीनपाने, जापानमा ‘रेड लेबल’

एएनजेड खबरअक्टोबर १, २०२१


काठमाडौं । नेपालमा कोदोको रक्सीलाई ‘अवैध मदिरा’ भन्दै नष्ट गरिन्छ । तर, यही कोदोको रक्सी बेलायतदेखि जापानसम्म लोकप्रिय हुँदैछ ।


विदेशमा ‘ब्रान्ड’का रुपमा उत्पादन र विक्री हुन थालेको कोदोको रक्सी एक बोतलको चार हजार रुपैयाँमा विक्री हुन थालेको खबर छ ।
बेलायतमा नेपाली कोदोबाट उत्पादित रक्सीको बिक्री बितरण हुँदैछ । कोदोको रक्सीलाई ब्रान्डकै रुपमा उत्पादन र विक्री गर्न बेलायतका नेपालीलीले ‘कोदो लिमिटेड कम्पनी’ नै स्थापना गरेका छन् ।


कम्पनीका निदेशक जनक राइले यही असोज २५ मा लन्डन, अल्डरशटमा एक भव्य कार्यक्रम आयोजना गरी औपचारिक रुपमै कोदोको रक्सी लन्च गरिने जानकारी दिए ।
कम्पनीले उत्पादन गर्ने रक्सीको ब्रान्ड नाम ‘प्योर कोदोको रक्सी’ र ‘तिनपाने कोदोको रक्सी’ राखिएको छ ।
कम्पनीमा प्रबन्ध निर्देशक राईका साथै जितेन्द्र चेम्जोङ, भरतमणि लिम्बु, आकाश सुनुवार, सुमन गुरुङ लगानीकर्ता छन् ।


हाल मिडल्याण्डमा रहेको कारखानाबाट नेपाली मूलको कोदोको रक्सी उत्पादन भइरहेको छ । यसको बजार विस्तारसँगै अन्य क्षेत्रमा पनि कारखाना स्थापना गर्ने कम्पनीको योजना छ ।
बेलायतमा मात्र हैन, नेपाली कोदोबाट उत्पादित रक्सी जापानी बजारमा पनि बिक्रि बितरण हुँदै आएको छ । जापानी बजारमा नेपाली उपभोग्य सामान बेच्दै आएको मयुर कर्पोरेसनले केही वर्षयता कोदोको रक्सी पनि ब्रान्ड प्रडक्टकै रुपमा बिक्री गरिरहेको छ ।


कम्पनीले नेपाली किसानले उत्पादन गरेको कोदो जापान आयात गरी त्यहाँको नागानो केनस्थित उच्च प्रविधिबाट प्रशोधन गरी कोदोको रक्सी उत्पादन गर्दै आएको छ । कम्पनीले कोदोको ‘रेड रेबल’ र ‘ग्रिन लेबल’ रक्सी उत्पादन, विक्री वितरण गरिरहेको छ ।


मयूर कर्पोरेशनका प्रवन्ध निर्देशक अरुणकुमार श्रेष्ठले जापानमा आफुहरुले नै पहिलो पटक कोदोको रक्सी बेच्न थालेको बताए । शाही करुवा र कोदोको बालासहितको लेवलका साथ जापानमा कोदोको रक्सी बेचिदैछ ।
कोदोको रक्सी बिश्वका उत्कृष्ट ५० पेय पदार्थको सूचीमा परिसकेको छ । नेपालमा भने अझै घरेलु मदिरा प्रतिबन्धित छ । प्रहरीले ‘अवैध मदिरा’ भन्दै घयाम्पो फुटाल्छ । मदिरा पोखीदिन्छ ।


नेपाल सरकारको उचित निगरानीमा व्यवस्थित तवरले गुणस्तरीय कोदोको रक्सी उत्पादन भएमा यसले अन्र्तराष्ट्रिय बजार लिनेमा दुइमत छैन ।
विश्व बजारमा कोदोको रक्सी बिक्न थालेपछि केही जनप्रतिनिधिहरुले नेपालको मौलिक मदिरालाई ब्रान्डकै रुपमा उत्पादन गरी विश्व बजारमा पठाउनुपर्ने लवीङ सुरु गरिसकेका छन् ।


प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयले घरेलु मदिरालाई ब्रान्डिङ, बजारीकरण तथा प्रवर्धनका लागि अभियान नै थालेको छ । मन्त्रालयले गठन गरेका यससम्बन्धी कार्यदलले आफ्नो प्रतिबेदन बुझाइसकेको छ ।


नेपालको घरेलु मदिरालाई ब्रान्डका रुपमा विकास गर्नुपर्ने आवाज चर्को रुपमा उठाइरहेकी प्रदेश एककी साँसद उषाकला राइले कोदोको रक्सीलाई ब्रान्डीङ गरेर विश्व बजारमा पु¥याउन सके नेपालमा विदेशी मुद्रा भित्रने बताउँदै आएकी छिन् । विदेशमा बसेका लाखौं नेपालीले मगाएर खाएमा पनि कोदोको रक्सीबाट करोडौं डलर कमाउन सकिने उनको विश्वास छ ।


‘सरकारले स्वदेशको पियोर रक्सीलाई प्रोत्साहन नगरी प्रतिबन्ध लगाएको छ, तर विदेशका महँगा रक्सी चाहिँ आयात गरिरहेको छ’, राइको गुनासो छ, ‘अब ब्यान्ड हैन, ब्रान्ड बनाउनुपर्छ र घरेलु मदिरा बनाउने नेपाली महिलाको आर्थिक स्तर माथि उठाउनुपर्छ ।’


कोदोको रक्सीले बैधानिक रुपमा उत्पादन अनुमति पाउनुपर्ने पक्षमा पूर्वी नेपालमा कुन हदसम्म लहर चलीरहेको छ भने, गत वर्ष साउनमा खोटाङका जनताले कोदोको रक्सीलाई ब्रान्डेड बनाउनुपर्ने माग गर्दै संघीय सरकारलाई एक कठुवा कोदोको रक्सी नै उपहार पठाए ।


किरात राई यायोक्खा जिल्ला कार्यसमिति, खोटाङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्समक्ष रक्सी पठाएको थियो । खोटाङका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्रसँगै सरकारलाई रक्सी पठाइएको थियो । कोदोको रक्सीमाथि प्रतिबन्ध होइन ब्रान्डका रूपमा प्रोत्साहन गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख थियो ।
घरेलु उद्योगको रूपमा अग्र्यानिक जडीबुटीयुक्त लोकल कोदोको रक्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्नुपर्ने व्यवस्था मिलाउन र कानूनी मान्यता प्रदान गर्न सरकारसँग जोडदार माग गरेको थियो । यो अभियानमा किरात राई यायोक्खा खोटाङका अध्यक्ष हात्तिराम राइ शक्रिय छन् ।

तपाइँको प्रतिक्रिया