शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०५:५४ |सिड्नीको समय: ०३:५४ |काठमाडौंको समय: २३:३९

नेपाल संयुक्त राष्ट्र संघको एसिया प्रशान्त क्षेत्रको उपाध्यक्षमा निर्वाचित

एएनजेड खबरजुन ९, २०२२

काठमाडौं– संयुक्त राष्ट्रसंघको ७७ औं महासभाका लागि एसिया–प्रशान्त क्षेत्रको तर्फबाट नेपाल उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको छ । बुधबार न्यूयोर्कमा बसेको महासभाको बैठकबाट नेपाल उपाध्यमा निर्वाचित भएको हो ।
बैठकबाट यूएनका लागि नियोग प्रमुख रहेका हंगेरिका साबा कोरोसी ७७ औं महासभाका लागि अध्यक्षमा निर्वाचित भएका छन् । यसअघि यूएनको ७६औं महासभामा माल्दिभसका अब्दुल्ला शाहिद अध्यक्ष थिए । महासभाले १३ सेप्टेम्बरदेखि एक वर्षका लागि आफ्नो जिम्मेवारी वहन गर्नेछ ।
नेपालसँगै विभिन्न क्षेत्रबाट १६ वटा देश महासभाका लागि उपाध्यक्षमा निर्वाचित भएका छन् । उपाध्यक्षमा निर्वाचित हुने मुलुकमा अफ्रिकाबाट बेनिन, बुरुन्डी, केन्या, मौरिटानीया, नाइजर, जिम्बाब्वे र एसिया प्रशान्त क्षेत्रबाट नेपालसँगै मलेसिया, ताजिकीस्तान, तुर्कमेनिस्तान छन् ।
त्यस्तै ल्याटिन अमेरिकाबाट चिली, एल साल्भाडोर, जमाइका र पूर्वी यूरोपबाट स्टोनीया तथा पश्चिमी यूरोप र अन्यबाट इजरायल तथा अस्ट्रेलीया उपाध्यक्षमा निर्वाचित भएका छन् ।
यूएन महासभा संयुक्त राष्ट्र संघका विभिन्न ६ वटा मुख्य अंगहरूमध्ये एक हो भने १९३ वटै सदस्य राष्ट्रहरूले यसमा प्रतिनिधित्व गर्छन् ।

तपाइँको प्रतिक्रिया