शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ००:५३ |सिड्नीको समय: २२:५३ |काठमाडौंको समय: १८:३८

एनआरएनएको काठमाडौँमा हुने विश्व सम्मेलनलाई राष्ट्रपतिले उद्घाटन गर्ने 

एएनजेड खबरअगस्ट १८, २०२३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को काठमाडौँमा हुने विश्व सम्मेलनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन् । हिजो एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले राष्ट्रपतिसँग भेटवार्ता गर्दै सम्मेलनको उद्घाटनका लागि  निमन्त्रणा दिएका हुन्।  

राष्ट्रपति पौडेलसँगको भेटमा एनआरएनएका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनको तयारीबारे जानकारी गराएका थिए भने सो राष्ट्रपतिले सम्मेलनमा आफू उपस्थित हुने प्रतिबद्धता जनाएको बताइएको छ। 

भेटमा एनआरएनएका अध्यक्ष आचार्यले गैर आवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्ग प्रशस्त गरेकोमा राष्ट्रपतिलाई धन्यवाद व्यक्त गरेका थिए। उनले अब बन्ने नयाँ नियमावली छिटो ल्याएर एनआरएनएहरूलाई  नागरिकता प्रदान गर्नका लागी पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गरेका थिए ।

एनआरएनए विश्व सम्मेलनमा ५९ देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने एनआरएनएको दाबी रहेको छ।  सो महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको दर्ता केही दिन अघिदेखि सुरु भएको छ ।एनआरएनएका विश्वभर छरिएका शाखाका ९ लाख ६ हजार ८५० पंन्जिकृत सदस्यहरूबाट सम्मेलनमा भाग लिने प्रतिनिधिहरू चयन हुने छन् । 

 गैर आवासीय नेपाली सङ्घको परम्परा अनुसार सङ्घको विश्व सम्मेलनको उद्घाटन सत्रमा राष्ट्रपति र समापन समारोहमा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ । एनआरएनएको महाधिवेशन तथा विश्व सम्मेलन असोज ३० गते देखि कार्तिक ३ गतेसम्म  (१७ अक्टोबर–२० अक्टोबर, २०२३) काठमाडौँमा हुदैछ ।

तपाइँको प्रतिक्रिया