आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०७:४० |सिड्नीको समय: ०५:४० |काठमाडौंको समय: ०१:२५

एनआरएनए अध्यक्षमा डा बद्री केसीले पुनः दिए उम्मेदवारी 

एएनजेड खबरअक्टोबर ५, २०२३

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागी निवर्तमान अध्यक्ष डा बद्री केसीले पुनः उम्मेदवारी घोषणा गरेका छन् । उनले हिजो एक कार्यक्रमकाबिच आफ्नो उम्मेदवारी घोषणा  गरेका हुन्। 

वर्तमान अध्यक्ष समेत रहेका डा केसीले प्रतिबद्धतापत्रसहित उम्मेदवारी दिएका हुन् । उनले उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै आफ्नै कार्यकालमा आफूहरूको पहलमा र सङ्घको अभियानको प्रभावले नेपाल राष्ट्रले गैर आवासीय नेपाली ऐन (२०६४) मार्फत कानुनी मान्यता दिएको र नेपाली नागरिकताको सुनिश्चितता गरेको दाबी गरे। 

उनले आफ्नो नेतृत्वको टोलीले  यसै वर्ष नागरिकता ऐन संशोधन टुङ्गोमा पुगेको समेत बताए। केसीले नागरिकताको पक्ष कार्यान्वयनका निम्ति हालै कार्यविधिसमेत बसिसकेको जानकारी दिएका छन् । उनले भने ‘प्रवासी नेपालीलाई नेपाली नागरिकता सहज र वैज्ञानिक ढङ्गले उपलब्ध गराउने विषयमा हाम्रो नेपाल सरकार र सरोकारवालाहरूसँग निरन्तर सहकार्य चलिरहनु पर्नेछ ।’

गैर आवासीय नेपालीहरूको सक्रियतामा नेपालमा सामूहिक र व्यक्तिगत लगानी बढ्दै गएको साथै  विदेशबाट ज्ञान, अनुभव र सीप भित्र्याउने संस्थागत प्रयास भएको केसीले बताए । उनले भने, ‘सङ्घ मार्फत विभिन्न सामाजिक र परोपकारी कार्यमा योगदान र पहल भएका छन् । १० अर्ब लगानीको कोषको माध्यमबाट विदेशमा वा भनौँ मध्यपूर्वका खाडी मुलुक एवं मलेसिया लगायतका मुलुकमा रहेका गैर आवासीय नेपालीको सानो पुँजीलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनेको छ ।’

केसीले गैर आवासीय नेपाली सङ्घको १० औँ महाधिवेशन एनआरएन अभियानको एकतामा बढी केन्द्रित बनेको पनि बताए । १० औँ महाधिवेशनपछिको कार्यकालमा एनआरएनएले कयौँ उदाहरणीय काम गर्न सफल भएको केसीको भनाई छ । उनले मूलतः नागरिकता प्राप्तिको कठीनतम् सङ्घर्षलाई एउटा सुखद उत्कर्षमा पुर्‍याउन सकेकोमा यसमा हामी सबै र सारा प्रवासी नेपालीहरू बधाईका पात्र बनेको समेत बताएका छन्। 

 उनले यी सारा उपलब्धिका साथमा सबैको राय सुझावको आधारमा फेरि पनि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिए । ‘एनआरएनए अभियानमा देखिएका कयौँ चुनौतीका बिच हाम्रो निरन्तर लगाव मातृभूमिप्रतिको कर्तव्यकै विशिष्ट प्रकटीकरण हो । यही सिलसिलामा विश्वभरिका धेरै एनआरएन साथीहरूसँग घनीभूत छलफल र अन्तरक्रिया  भयो। उहाँहरूले एनआरएन अभियानका केही ऐतिहासिक मुद्दाहरूमा समयोचित उपलब्धि सुनिश्चित गर्न मलाई निकै घचघच्याइरहनु भएको छ । ‘तपाईँ कामै गर्ने मान्छे हो’ भनेर उहाँहरूले जसरी मलाई स्नेह र विश्वासपूर्वक जिम्मेवारी दिन खोज्नुहुन्छ, त्यसलाई म नकार्ने सामर्थ्य राख्दिन’, केसीले भने,। 

उनले ‘मेरा जीवनका केही प्यारा चिजमध्ये एनआरएन अभियान नै खास छ किनभने यो मेरो जीवन पाठशाला हो। त्यसैले यहाँहरू सबैको जोड बलमा मैले ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनमा गैर आवासीय नेपाली सङ्घको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयमा पुगेको छु ।’

सङ्घको अध्यक्ष पदमा विजयी भएको खण्डमा आफूले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीमा जोड दिने बताएका छन् । वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल सरकार, श्रम गन्तव्य मुलुकस्थित कूटनीतिक नियोग, दूतावास लगायतसँग सहकार्य गर्ने उनको प्रतिबद्धता छ । 

यस्तै वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अभिमुखीकरण तालिम सञ्चालन गर्ने, विदेशको श्रम बजारमा रहेका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोष तथा पेन्सन फण्डमा सहभागी गराउन पहल, अन्तर्राष्ट्रिय श्रम बजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न नेपाल सरकारसँग सहकार्य गरी छुट्टै श्रम तथा सीप बैङ्क स्थापनाका लागि पहल गर्ने जस्ता प्रतिबद्धता पनि केसीले जनाएका छन् । 

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को  ११ औँ विश्व सम्मेलन आगामी अक्टोबर १७ देखि २० सम्म काठमाडौँमा हुँदै छ। 

तपाइँको प्रतिक्रिया