शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ०१:३५ |सिड्नीको समय: २३:३५ |काठमाडौंको समय: १९:२०

एसीसी यू–१९ एसिया कप क्रिकेटः नेपाल दोस्रो हारसँगै बाहिरियो

एएनजेड खबरडिसेम्बर ११, २०२३

काठमाडौँ । यूएईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई हारसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलको होडबाट बाहिरिएको छ ।

पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा आइतबार अफगानिस्तानसँग पराजित भएको हो । खेलमा नेपाल ७३ रनले पराजित भयो । दुबईमा भएको खेलमा नेपालले २६२ रनको चुनौती पछ्याउने क्रममा ४०।१ ओभरमा अलआउट हुँदै १८८ रनमा समेटियो ।

नेपालका लागि ओपनर अर्जुन कुमालको मात्र ब्याटिङ चलेको थियो । उनले १०८ बलमा ९१ रन बनाए पनि अन्य कोही ब्याटरले साझेदारी नगरेपछि नेपाल सहजै पराजित भयो । कप्तान देव खनालले २४ रन बनाएका थिए । चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । अफगानिस्ताका फरिदून दाउदजाई र नसिर खान मारुफखिलले ३–३ विकेट लिए ।

यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै अफगानिस्तानलाई ४९।३ ओभरमा २६१ रनमा रनमा रोकेको थियो । अफगानिस्तानका जम्शेद जर्दानले रिटायर्ड आउट हुनुपूर्व १५३ बलमा १०६ रन जोडे । त्यस्तै मुनमान शाहले ४१ बलमा ६० रन बनाए ।

नेपालका लागि गुल्सन झा, सुवाश भण्डारी र हेमन्त धामीले २–२ तथा आकाश चन्द र दिपेश कडेलले १–१ विकेट लिए । यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटको हार बेहोर्यो ।

नेपालले १५३ रनको सामान्य चुनौती दिएकामा पाकिस्तानले २६।२ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । लगातार दुई हारसँगै नेपालको सेमिफाइनल होड सकिएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

ग्रुप अफ डेथमा रहेको समूह ए मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान रहेका छन् । ८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् । यो टिम भोलिको सिनियर टिम पनि भएको हुनाले यू–१९ टिमलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।

तपाइँको प्रतिक्रिया