शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १९:५२ |सिड्नीको समय: १७:५२ |काठमाडौंको समय: १३:३७

उदय शम्सेरले सुनाए जनसम्पर्क अष्ट्रेलियाको गुनासो र समस्या परराष्ट्र मन्त्रीलाई !!

एएनजेड खबरडिसेम्बर २७, २०२३

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्वराज्य मन्त्री उदयशम्शेर राणाले अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको समस्या समाधान गर्न परराष्ट्र मन्त्रीलाई आग्रह गरेका छन् । केही साता अष्ट्रेलिया भ्रमण गरेर नेपाल फर्किएका राणाले परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर सबैखाले समस्या समाधान गर्न अनुरोध गरेका हुन् ।

राणाले एएनजेडसँगको कुराकानीमा भने,‘म केही समय अष्ट्रेलिया बस्दा विद्यार्थी, व्यवसायी, एनआरएनएका साथीहरु र जनसम्पर्क समितिका साथीहरुसँग छलफल गरें । उहाँहरुले साझा गुनासोको रुपमा पासपोर्ट नवीकरण गर्न दूतावास नै पुग्नुपर्ने रहेछ । खर्चका हिसाबले र व्यवहारिक रुपले यो निकै ठूलो समस्या लाग्यो र तत्काल मन्त्रीज्यूलाई भेटेर समस्या दर्शाएको छु । उहाँले पासपोर्टको समस्या समाधानका लागि मन्त्रालयले काम गर्ने बताउनुभएको छ ।’

भेटका क्रममा मन्त्री साउदले अष्ट्रेलियामा पासपोर्टको समस्या तत्काल समाधान गर्न दूताबासको पहलमा घुम्ती सेवा संचालन गर्ने प्रतिबद्धता जनाउनुभएको राणाले जानकारी दिए ।

जनसम्पर्क समितिको अगुवाइमा भेटघाट

अष्ट्रेलिया भ्रमणमा रहेका बेला जनसम्पर्क समिति अष्ट्रेलियाले राणासँग भेटघाट तथा छलफल कार्यक्रम आयोजना गरेको थियो । डिसेम्बर ८ तारिख शुक्रबार सिड्नीको ग्र्यानभिलमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता राणाले नेपालको आर्थिक तथा सामाजिक बिकासमा गैर आवासीय नेपालीहरुले पुर्याएको योगदान महत्वपूर्ण रहदै आएको बताए । उनले एक पटकको नेपाली सधैको नेपाली भन्ने एनआरएनएले लिएको लक्षलाई सम्बोधन गर्नेगरी नेपाल सरकारले गैर आवासिय नेपाली नागरिकताको व्यवस्थालाई कार्यान्वयन गरेको बताउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका उपाध्यक्ष बिनोद श्रेष्ठले एनआरएनले अगाडि बढाएका बिकास परियोजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार र राजनीतिक दलहरुको सहयोगी भूमिका हुनुपर्नेमा जोड दिए । एनआरएनए ओसेनियाका संयोजक दिनेश पोखरेलले गैर आवासीय नेपालीलाई नेपालमा लगानीको बातावरण बनाउन र सुनिश्चित पार्न नेपाल सरकारले आवश्यक नीति र कानुन बनाउनुपर्ने खाँचो औल्याएका थिए।

जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश रणसिंह गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष नन्द गुरुङ ,पूर्वउपाध्यक्ष देब गुरुङ ,ओएनएफका अध्यक्ष केशब जोशी, शैक्षिक व्यवसायी संजीव शर्मा ,जनसम्पर्क समिति एनएसडब्लुका संयोजक सितल गिरी ,जनसम्पर्क समिति एसीटीका संयोजक ललित मल्ल, सुरेन्द्र सापकोटा, भिष्म भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया