शनिबार, वैशाख २२, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: ०५:११ |सिड्नीको समय: ०३:११ |काठमाडौंको समय: २२:५६

आयरल्याण्डबाट आइटी विज्ञको सुझावः नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्र बनाऔं

एएनजेड खबरडिसेम्बर ३१, २०२३

डब्लिन । आयरल्याण्डमा भेला भएका नेपाली वैज्ञानिक, प्रविधि विज्ञ तथा इन्जिनियरहरुले नेपाललाई सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास गर्न नीतिगत तथा प्रक्रियागत सुधार हरु गर्न सुझाव दिएका छन्।

शनिबार डब्लिनमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायत, नेपाल लगायत संसारका आठओटा मुलुकहरुमा काम गरिरहेको सूचना प्रविधि (आइटी) सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले गत केही वर्षएता नेपाल सूचना प्रविधिको उदाउँदो केन्द्रको रुपमा विकास भैरहेको बताए।

उनले आफ्नो कम्पनीले नेपाल, बंगलादेश लगायत आठवटा मुलुकहरुमा काम गरिरहेको बताउंदै आफ्नो कम्पनीले नेपालमा क्लाउड कम्प्युटिंगको बारेमा जनचेतना जगाउन तथा व्यवसायीहरुले त्यसबाट कसरी फाइदा लिन सक्छन् भन्ने विषयमा काम गरिरहेको बताए।

सन् २०१९ देखि ुएडब्लुएस एमव्यासडरु तथा एडब्लुएस उपभोक्ता समूह नेपालको अगुवाको रुपमा आफुले डिसेम्बर २०२२ मा नेपालमै पहिलो पटक ‘एडब्लुएस कम्युनिटी डे’ आयोजना गरेको उनले स्मरण गरे। यस्ता कार्यक्रमहरुबाट नेपालमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुले एक अर्काबाट सिक्ने, सहकार्य गर्ने र विश्वव्यापी क्लाउड समुदायसंग जोडिने मौका पाएको उनले बताए।

‘यी प्ल्याटफर्महरुले नेपाली सूचना प्रविधिको क्षेत्रमा कार्यरत युवाहरुलाई साझेदारीको खोजी गर्न, आफ्नो दक्षता विकास गर्न सघाउने व्यक्तिको पहिचान गर्न र एक अर्कालाई सघाउने संजाल निर्माण गर्न मदत गरिरहेका छन्। त्यस्तै एडब्लुएस एकेडेमीजस्ता प्रयासबाट नेपालको सूचना प्रविधिबारे पढाउने क्षेत्रमा र कम्पनीहरुमा रहेको ‘सीपको ग्याप’ कम गर्न पनि मदत पुगेको छ,’ फुयाँलले भने।

एडब्लुएस एकेडेमी संगको सहकार्यमा नेपालका शिक्षण संस्थाहरुले क्लाउड, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मशिन लर्निङ्ग जस्ता विषयहरु पढाउन थालेको र नेपालमै विश्व स्तरको स्नातकहरु उत्पादन हुन थालेको उनले बताए। तर समस्या के भयो भने ती स्नातकहरुका लागि नेपाल मा रोजगारी सीमित छ र उनीहरुको लागि हामीले कि त विश्व बजारमा काम खोज्नुपर्छ कि नेपालमै बसेर आइसीटी सम्बन्धी सम्बन्धी सेवा निर्यात गर्नुपर्छ,” उनले भने।

काठमाडौँ स्थित एक अनुसन्धान संस्था, आइआइडीएसद्वारा हालै गरिएको एक अध्ययनले नेपालको सूचना प्रविधि क्षेत्रले देशको कूल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशत तथा कूल वैदेशिक मुद्रा संचितिमा ५.५ प्रतिशत योगदान गरेको देखाएको छ । सन् २०२० मा नेपालको सूचना प्रविधि क्षेत्रले ३० करोड डलर भन्दा बढी आम्दानी गरेकोमा दुइ वर्षमै त्यस्तो आम्दानी बढेर ५१ करोड डलर नाघेको उक्त अध्ययनले अनुमान गरेको छ ।

अन्तरक्रियामा बोल्दै एनआरएनए आयरल्याण्डका अध्यक्ष प्रकाश सापकोटाले यस्ता कार्यक्रमले संसारभरि फैलिएका नेपालीहरुसंग रहेको सीप, अनुभव र पूँजी नेपालको विकासमा परिचालित गर्न सहयोग पुग्ने बताए। त्यस्तै एनआरएनए आयरल्याण्डका पूर्वअध्यक्ष नवराज कोइरालाले जहाँ बसे पनि नेपालीहरु आपसमा संगठित भै एक आपसमा सहयोग गर्ने गरेको बताए।

उक्त अन्तरक्रियामा सहभागी पेशागत विज्ञ, वैज्ञानिक तथा कम्प्युटर इन्जिनियरहरुले सूचना प्रविधिको विकासका लागि वैदेशिक लगानी आकर्षण गर्न र प्रविधि हस्तान्तरणका लागि सजिलो नीति निया बनाउन आग्रह गरेका थिए। उनीहरुले नेपाल सस्तो श्रम निर्यात गर्ने मुलुक मात्रै नभएर अत्याधुनिक प्रविधिसंग परिचिहित दक्ष युवाहरु रहेको मुलुक हो भन्ने समाचार प्रवाहित गर्न र ‘डिजिटल नोमाड’हरुलाई आकर्षित गर्न थप कार्यक्रम ल्याउन पनि नेपाल सरकारलाई आग्रह गरेका थिए। जेनेस सलुशनले नेपालमा सूचना प्रविधिको विकासका सम्भावना र चुनौतीहरुबारे संसारका विभिन्न शहरहरुमा यस्ता अन्तरक्रियाहरु आयोजना गर्दै आएको छ।

तपाइँको प्रतिक्रिया