शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: ००:१२ |सिड्नीको समय: २२:१२ |काठमाडौंको समय: १७:५७

अष्ट्रेलियामा पृथ्वीनारायण शाहको स्मरणः सिड्नी, क्यानवेरा र एडिलेडमामा विशेष समारोह

एएनजेड खबरजनवरी १३, २०२४

सिड्नी । अष्ट्रेलियाका विभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुले राष्ट्रनिर्माता पृथ्वी नारायण शाहलाई विशेष समारोहको आयोजना गरेर स्मरण गरेका छन् । भिन्ना भिन्नै कार्यक्रमको आयोजना गरेर पृथ्वी जयन्ती एवम ‘अन्तर्राष्ट्रिय नेपाली दिवस’ मनाउँदै राष्ट्रनिर्मातालाई स्मरण गरेका हुन् ।

सिड्नी, क्यानबेरा, एडिलेडलगायत राज्यका प्रमुख शहरमा नेपाली समुदायले पृथ्वीनारायण शाहको सम्मान र सम्झनामा विभिन्न गरेका हुन् । सिड्नीमा खुला सार्वजनिक माल्यार्पण कार्यक्रमको आयोजना गरियो ।

सिड्नीको कार्यक्रममा सहभागीहरूले नेपाली धर्म, संस्कृती र ऐतिहासिक पहिचानका मानकको माध्यमबाट अष्ट्रेलियाको नेपाली समुदायलाई एकताबद्ध गर्न सकिने बताए। अष्ट्रेलियाको नेपाली समुदायका स्वतन्त्र अभियन्ताहरूको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाली समुदायका अगुवा मदनमणि अधिकारीले पृथ्वीनारायण शाहको नेतृत्व र अगुवाईमा आधुनिक नेपाल र नेपालीको पहिचान स्थापित भएकाले अष्ट्रेलियामा नेपाली दिवसका माध्यमबाट पृथ्वीनारायण शाहको सम्झना गरिएको बताए ।

नेपालमा भईरहेको राजनीतिक कित्ताकाट र दलगत गुट उपगुटको प्रभाव अष्ट्रेलियामा समेत आइपुगेका कारण अष्ट्रेलियाको नेपाली समुदाय नायकवीहिन अवस्थामा पुगेको अवस्थामा पृथ्वीनारायण र नेपाली दिवस समुदायलाई जोड्ने बिम्ब बन्नसक्ने अधिकारीले बताए ।

अष्ट्रेलियाका युवा अभियन्ता तथा व्यवसायी डिला खरेलले नेपाल निर्माता मात्र नभएर पृथ्वी नारायण शाह नेपाली परिचय निर्माता समेत रहेको बताए । ‘अहिले हामी अष्ट्रेलियामा नेपाली भनेर चिनिनुमा पनि पृथ्वीनारायण कै योगदान रहेको छ’ उनले भने ।

वर्तमानको अपवाद छोडेर अहिले पनि विश्वको पुरानो र स्वतन्त्र राष्ट्रियताले हामीलाई विश्वको कुनैपनि कुनामा शीर उठाएर हिँड्ने अवस्था छ, र आउने पुस्तालाई समेत यसखालको ऐतिहासिक विरासत मिल्नु सबैभन्दा महत्वको विषय भएको उनको भनाई थियो ।

विद्यार्थी धर्वेन्द्र यादवले पृथ्वीनारायण शाहको योगदान नेपाललाई मात्र नभएर विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपालीलाई रहेको भन्दै, इतिहास जस्तै वर्तमान र भविष्य बनाउन संस्कृति र प्रविधीको क्षेत्रमा जोड दिनुपर्ने बताए । ईन्जिनियर सन्तोष पोखरेलले नेपाली जहाँ भएपनि आफ्नो इतिहास र पहिचान भुल्न नहुने विचार राखे। सिड्नीको कार्यक्रममा अष्ट्रेलियामा जन्मेहुर्केका बालबालिका समेत सहभागीता थियो।

क्यानबेरामा क्रिकेट

अष्ट्रेलियाको राजधानी शहर क्यानबेरामा बस्ने नेपालीहरूले पृथ्वीनारायण शाहको सम्झनामा क्रिकेट प्रतियोगिता गरे। सनातन समाज अष्ट्रेलियाले स्थानिय क्रिकेट क्लबहरूबिच प्रतियोगिताको आयोजना गरेर पृथ्वी जयन्ती मनायो।

टी–१० क्रिकेट प्रतियोगिताका रूपमा आयोजना भएको प्रतिष्पर्धामा ‘क्यानबेरा नेपलिज क्रिकेट क्लब’ बिजेता भयो। प्रतियोगितामा सुमित पडाल, संजय भट्ट, प्रशान्त विष्ट म्यानअफ द म्याच भए भने दिप्त रमन रिजाल बेस्ट फिल्डर भए। सनातन समाज अष्ट्रेलियाका अध्यक्ष सन्तोष मल्लले पृथ्वी जयन्तीको दिनमा नै औपचारिक कार्यक्रम गरेर पुरस्कार वितरण गरेको जानकारी दिए ।

एडिलेडमा शुभकामना आदान प्रदान

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृसंगठन प्रवासी नेपाली एकता समाज अस्ट्रेलियाले एडिलेडमा पृथ्वी जयन्तीको अवसरमा शुभकामना आदान प्रदान तथा चियापानको कार्यक्रम आयोजना गरयो।

कार्यक्रममा अष्ट्रेलिया भरका राप्रपाका सुभेक्षुक एवम् प्रवासी नेपाली एकता समाजका सदस्यहरूले पृथ्वीनारायण शाहको योगदान र त्यसबाट हरेक नेपालीले सिक्नुपर्ने पाठबारे चर्चा गरे।

प्रवासी नेपाली एकता समाजका अजय राजवंशीले अष्ट्रेलियामा बस्ने नेपालीहरूले आफ्ना बच्चाहरूलाई किन आफू नेपाली हो र नेपालीको पहिचान के हो भन्ने सिकाउँदा पृथ्वी नारायण शाह चिनाउन छुटाउन नहुने बताए।

तपाइँको प्रतिक्रिया