मंगलबार, वैशाख २५, २०८१ |Tue May, 2024
अक्ल्याण्डको समय: ००:३५ |सिड्नीको समय: २२:३५ |काठमाडौंको समय: १८:२०

ब्रिजवेनमा पत्रकार र समुदायविच छलफल, एनआरएनएसंग सहकार्य हुने

एएनजेड खबरजनवरी १५, २०२४

अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नालिष्ट एसोसिएसन ‘एन्जा’ले आफ्नो वार्षिक साधारण सभा तथा समुदायसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एन्जाको आयोजनामा गत शनिवार ब्रिजवेनमा भएको अन्तरक्रिया लगायतका कार्यक्रममा एनआरएनए, नेपाली समुदायका प्रतिनिधि, विभिन्न राज्यमा रहेर सक्रिय पत्रकारिता गरिरहेका संचारकर्मीको उपस्थिती थियो ।

तीन चरणमा भएको कार्यक्रमको पहिलो चरणमा साधारणसभामार्फत संस्थाको विधान शंसोधन गरिएको एन्जाले जनाएको छ । त्यस्तै दोस्रो चरणमा एन्जा प्रतिनिधि र एनआरएनए अष्ट्रेलिया प्रतिनिधि विच घनिभूत छलफलका साथै आगामी दिनको कार्यदिशाका वारेमा समेत छलफल भएको थियो ।

कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, महासचिब सन्तोष कुँवरलगायत क्विन्सलेन्ड राज्यका एनआरएनएका प्रतिनिधिहरुको उपस्थिति थियो । सो चरणमा अध्यक्ष पोखरेलले एन्जासँगको सहकार्यमा गर्न सकिने काम र पत्रकारहरुसँग अष्ट्रेलियामा रहेर सामुदायिक पत्रकारिता गरिरहेका सन्चारकर्मीहरूसंग गरेको अपेक्षाका बारेमा जानकारी दिएका थिए । त्यस्तै एन्जाका तर्फबाट अध्यक्ष चिरिन्जिवी देवकोटा र उपाध्यक्ष प्रकाश हुमागाइँले एनआरएनएसँग एन्जाले राखेको अपेक्षा र समुदायसँग गर्न सकिने कामका विषयमा प्रष्ट पारेका थिए ।

दोस्रो सत्रको कार्यक्रमबाट एनआरएनए अध्यक्ष पोखरेलले एन्जासँग सहकार्य गर्दै समुदाय केन्द्रीत गतिविधिमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै दुवै संस्थाबिच सहकार्य गरेर अघि बढ्नुपर्ने र त्यसका लागि एनआरएन अष्ट्रेलिया सदैव तयार रहेको प्रतिवद्धता जनाए ।

अन्तिम चरणको कार्यक्रममा क्वीन्सलेन्डमा रहेको विभिन्न समुदायका प्रतिनिधि, एनआरएनएका प्रतिनिधि र पत्रकारहरुबिच छलफल भएको थियो । समुदायसँगको छलफल शिर्षक दिएर गरिएको कार्यक्रममा क्वीन्सल्याण्डमा रहेका विभिन्न समुदायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

अन्तरक्रियामा एन्जाका सचिब सरल गुरुङले नेपाली पत्रकारिताले भोगिरहेको समस्या, पत्रकारिताको महत्व, व्यवसायिक र सामाजिक क्षेत्रमा पत्रकारिताले पुर्याउन सक्ने प्रभावका विषयमा समुदायका व्यक्तिहरुमाझ बिस्तृत कार्यपत्र पेस गरेका थिए ।

महासचिब नारायण खड्काले सन्चालन गरेको कार्यक्रममा एन्जाका अर्का उपाध्यक्ष छत्र शंकर, कोषाध्यक्ष खगेन्द्र सत्याल, वरिष्ठ सन्चारकर्मी डाक्टर भरतराज पौडेल लगायतले पत्रकारिताका विषयामा उठेका विषयमा जवाफ दिएका दिए । एन्जाका अर्का सदस्य मिलन दाहालले एन्जाका विषयमा समुदायलाई जानकारी दिएका थिए ।

एन्जाले पछिल्लो एक वर्षदेखि अष्ट्रेलियाका सवै राज्यमा रहेका समुदायका प्रतिनिधिसंग अन्तरकृया गर्ने योजना अनुरूप एडिलेड, सिड्नी, होबार्ट र ब्रिसवेनमा कार्यक्रम आयोजना गरिसकेको छ भने केहि महिना भित्रै मेलबर्नको नेपाली समुदायसंग छलफल गर्ने तयारी भइरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया