आइतबार, वैशाख २३, २०८१ |Sun May, 2024
अक्ल्याण्डको समय: १५:२१ |सिड्नीको समय: १३:२१ |काठमाडौंको समय: ०९:०६

एक्कासि आएको हावाहुरीका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान प्रभावित

एएनजेड खबरअप्रिल १२, २०२४

काठमाडौं । बिहीबार दिनभर काठमाडौं र आसपासको मौसम विग्रियो । जसका कारण हवाइ उडान दिनभरजसो प्रभावित रहयो । अपरान्ह एक्कासि आएको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र दुवै उडान प्रभावित भए ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार आन्तरिक उडानका जहाज ‘डाइभर्ट’ भएका छन् भने अन्तर्राष्ट्रियतर्फ केही जहाज आकाशमा फन्को लगाउने ‘होल्ड’ हुनका साथै केही जहाज विभिन्न गन्तव्यमा डाइभर्ट भएका छन्।

दिउँसो २ः१५ बजे यति एयर लाइन्स नेपालगन्ज–काठमाडौं नियमित उडान तालिका थियो। तर, झन्डै दुई घण्टा ढिलो गरी ४ः०० बजेतिर उडान भर्‍यो। उडान भरे पनि काठमाडौंको वायु प्रदूषणका कारण एयर ट्राफिक जाम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन सकेन।

३० जना यात्रु लिएर नेपालगन्जबाट उडान भरेको उक्त जहाज पुनः नेपालगन्जमै फर्किएर अवतरण भयो। बुद्धको जहाज पनि १ः२५ बजे उडान भर्नु पर्ने थियो। ढिलो गरी २ः३० मा उडान भरे पनि काठमाडौंमा अवतरण हुन सकेन।

६२ जना यात्रु लिएर नेपालगन्जबाट उडान भरेको जहाज भैरहवामा अवतरण गरेको बुद्ध एयर नेपालगन्जका स्टेशन म्यानेजर विनित शाहले जनाए। ‘विमानमा समस्या आएर उडान प्रभावित भएको होइन,’ उनले भने, ‘काठमाडौंमा दिउँसो आएको हावाहुरीका कारण एयर ट्राफिक जाम हुँदा काठमाडौंमा अवतरण हुन नसकेको हो।’

काठमाडौंमा मौसम सुधारसँगै एयर ट्राफिक खुला भए पुनः उडान हुने उनको भनाइ छ। मौसममा सुधार हुनासाथ उडान सुचारु हुने यति एयरलाइन्सका दिलीप कार्कीले जनाए।

तपाइँको प्रतिक्रिया