शनिबार, वैशाख २२, २०८१ |Sat May, 2024
अक्ल्याण्डको समय: १८:५८ |सिड्नीको समय: १६:५८ |काठमाडौंको समय: १२:४३

अष्ट्रेलियामा पीआर पाउने नेपालीको संख्या पाँच गुणाले बढ्यो, नर्स सबैभन्द बढी

एएनजेड खबरअप्रिल २५, २०२४

सिड्नी । अष्ट्रेलियाली सरकारले आप्रवासीका लागि वर्षैपिच्छे प्रदान गर्दै आएको परमानेन्ट भिसा (पीआर) अर्थात् स्थाई बसोबास अनुमतिमा नयाँ आप्रवासी नीतिको प्रभाव देखिने भनिएपनि २०२३ को तथ्यांकले त्यस्तो देखाएको छैन ।

एन्थोनी अल्बानिज प्रधानमन्त्रीमा निर्वाचन भएसँगै अष्ट्रेलियाको श्रम बजारले झेल्दै आएको दक्ष कामदारको आपूर्तिमा सहजता ल्याउन पिआरमा सहज गराएपछि नेपालीहरुलाई सहज अवस्था बनेको छ ।

गृह मन्त्रालयको तथ्यांक अनुसार सन् २०२२/२३ मा १२ हजार ४१ नेपालीले स्थायी बसोबास अनुमति(पिआर) पाएका छन् । योसँगै सन् २०२२ को जुन मसान्तसम्म अष्ट्रेलियामा स्थायी बसोबास अनुमति पाउने नेपाली संख्या १ लाख ५१ हजार १ सय ४० पुगेको छ ।

वितेको १० वर्षमा अष्ट्रेलियाको पीआर पाउनेको संख्या झन्डै पाँच गुणा बढेको पनि तथ्यांकले देखाउँछ । सन् २०१२ जुन मसान्तसम्म पिआर पाउने नेपालीको संख्या केवल ३० हजार ७ सय ३० मात्र थियो ।

पीआर पाउनेमध्ये सबैभन्दा बढी स्वास्थ्य क्षेत्रका छन् । त्यसमध्ये पनि नर्सले सबैभन्दा बढी, त्यसपछि डाक्टर, फार्मालगायत छन् । त्यसपछि एकाउन्ट पढेका, कुकरी पढेका विशेषगरी सेफ र कुक, बेकर, पेस्ट्रीकुक लगायत आईटी तथा इन्जिनियर पढेका दक्ष विद्यार्थीले पनि पीआर पाइरहेका छन् ।

गृह मन्त्रालयका अनुसार विदेशमा जन्मिएर अष्ट्रेलियाको पीआर पाउनेमध्ये नेपाल दशौं स्थानमा छ । २०१९ देखि २०२१ सम्म लगातार ११औं स्थानमा रहेको नेपाल २०२२ मा १०औं स्थानमा उक्लिएको हो । तथ्यांकअनुसार २०२३ मा पीआर पाउने नेपाली संख्या २०२१ भन्दा दोब्बर बढी हो ।

रोजगारी र पीआर पाउने सम्भावना बढी भएका विषय सुरुदेखि नै छनोट गरेर पढ्न जानेले बढी पीआर पाएको तथ्यांकले देखाउँछ । अष्ट्रेलिया सरकारले आफ्नो देशमा आवश्यक जनशक्ति पहिचान गरेर त्यस क्षेत्र अथवा पेसामा रहेका दक्ष जनशक्तिलाई पीआर दिने गरेको छ ।

तपाइँको प्रतिक्रिया