सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०१:०९ |सिड्नीको समय: २३:०९ |काठमाडौंको समय: १८:५४

‘पद्धती र पारदर्शिता, समावेशी एनआरएन’ नारासहित अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एएनजेड खबरसेप्टेम्बर २७, २०२१

‘पद्धती र पारदर्शिता, समावेशी एनआरएन हाम्रो प्रतिबद्धता’ नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंको होटल याक एन्ड यतिमा आइतबार आयोजित कार्यक्रममा आचार्यले विश्वभरी रहेका गैर आवासिय नेपालीको सुझाव, चाहना र भावनाका आधारमा आफुले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको स्पष्ट पारे ।
‘एनआरएनको नीति र नेतृत्व चयन गर्ने उत्सवको यो प्रकृयामा सवैको सहयोग, समर्थन र आशिर्वादले म अध्यक्ष निर्वाचित हुनेमा विश्वस्त छु’, आचार्यले भने ।
आफु अध्यक्ष निर्वाचित भएमा संघलाई सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने संकल्प गर्दै आचार्यले भने, ‘संघलाई विधिसम्मत र पारदर्शी रुपमा संचालन गरी संघको खस्कीएको छवी र प्रतिष्ठा माथि उठाउने छु ।’
संघमा आर्थिक अनियमितता र अपादर्शीताको समस्या देखिएको स्पष्ट गर्दै आचार्यले आर्थिक अनियमितता गर्नेहरुमाथि छानविन गरी दोषी उपर कार्वाही प्रकृया अघि बढाउन नेपालको परराष्ट्र मन्त्रालय र सम्बन्धीत पक्षसँग माग पनि गरे ।
‘मेरो नेतृत्वमा म सँघमा आर्थिक अनियमितता हुन दिने छैन, पारदर्शीता र समावेशीता मेरो मूल ध्येय हुनेछ’, उनले भने ।
एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा संस्था बनाउने आफ्नो अभियान भएकाले संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।
‘पैत्रिक सम्पतिको अधिकार, राहदानी, तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु’, उनले भने ।
आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पु¥याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुया¥उने योजना अघि सारेका छन् ।
हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारी छ ।
गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसलाई पनि आफ्नो अभियानमा जोड्ने आचार्यले बताए ।
‘थाइल्याण्ड, म्यानमारलगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) को मान्यता दिलाउन पहल गर्नेछु’, आचार्यले भने ।
पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा व्यवसाय गर्छन् । लण्डनका स्थापित व्यवसायी र समाजसेवी आचार्य करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय छन् । संघको आसन्न निर्वाचनमा संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिता नै उनको मूल मुद्दा हो ।
आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने र विशेषतः मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । आफ्ना कम्पनीहरुमा करीब सत्तरी प्रतिशत रोजगारी नेपालीलाई नै दिएका आचार्यले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने अठोट गरे ।
विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्धननका लागि अभियान चलाउने योजना बनाएका आचार्यले प्रवासी नेपालीको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि गरे ।
नेपालमा गैरआवासीय नेपालीको मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानीका लागि पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्रयाउन केही कानुनी जटिलता भएकाले त्यसलाई सुल्झाउनतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।’
संघका अग्रज अभियन्ताको सम्मान गर्दै संघको अभियानमा नयाँ पुस्तालाई सक्रिय बनाउने, युवा र महिलालाई पहिलो प्राथमिकता दिने र संघलाई राजनीतिक रुपमा नभई सेवा भावका आधारमा सञ्चालन गर्ने उनको अठोट छ ।
आचार्यको उम्मेदवारीलाई संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले समर्थन जनाएका छन् । एनसीसी युकेबाट संघको यात्रा थालेका आचार्यले एनआरएनए यूकेको अध्यक्ष, आइसीसी सदस्य, यूरोप क्षेत्रको संयोजक, आइसीसी उपाध्यक्ष र सल्लाहकारको भूमिकामा खरो उत्रिसकेका छन् ।
यस्ता छन्, अध्यक्ष प्रत्यासी आचार्यका भावी योजना
–पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।
–म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।
–संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पु¥याउने ।
–राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने ।
–नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने ।
–बढीभन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्तिजस्ता सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने ।
–खाड़ी राष्ट्रमा रहेका नेपालीको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणा अगाडी बढाइने ।
–कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने ।
–एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने ।
–विदेशमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गरिने ।
–एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने छ ।
धमाधम उम्मेदवारी
आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ ।
संघको महासचिव पदमा अमेरिका निवासी एनसीसी अमेरिकाको दुई कार्यकाल नेतृत्व गरिसकेका चिकित्सक डा. केशव पौडेलले उम्मेदवारी घोषणा गरेका छन् । अमेरिकास्थित एक अस्पतालका मेडिकल डाइरेक्टर पौडेल एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय अभियन्ता हुन् । आचार्यको नेतृत्वमा संघलाई पारदर्शी र परियोजनामुखी बनाउने अभियान अन्तर्गत आफूले महासचिव पदमा उम्मेदवारी दिएको पौडेलले बताए ।
सोमबारसम्म अन्य उम्मेदवारको पनि घोषणा हुने बुझीएको छ ।

तपाइँको प्रतिक्रिया