शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ११:१४ |सिड्नीको समय: ०९:१४ |काठमाडौंको समय: ०४:५९

एनआरएनए दशौं महाधिवेशन तथा निर्वाचन गराउन गठित उच्चस्तरीय समितिले थाल्यो काम

एएनजेड खबरजनवरी २३, २०२२

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं महाधिवेशन तथा निर्वाचन गराउन प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले काम सुरु गरेको छ । ।

उच्चस्तरीय समितिको विहीबार र शुक्रबार गरी दुई पटक बैठक बसिसकेको छ । साथै छिट्टै आगामी साता पनि पुनः बैठक बस्ने जनाइएको छ । दुईवटा बैठकमा विवाद पहिचान गर्ने काम भएको समितिका एक सदस्यले जानकारी दिए ।
उनका अनुसार मुख्य विवाद रहेका एनसीसीहरुको पहिचान भएको छ । विशेषगरी अमेरिका, बेलायत, अस्ट्रेलिया, जापानमा मुख्य विवाद रहेको छ । त्यसैगरी अस्ट्रिया, फ्रान्स, पोर्चुगल, जर्मनी, रुस लगायतका देशमा पनि महाधिवेशन प्रतिनिधिमा विवाद छ । पहिलो एक हप्तामा ‘विवादको स्तर’ पहिचान गर्ने काम भएको ती सदस्यले बताए । विवादलाई वर्गीकरण गर्ने काम भएको र सोही अनुसार समाधान खोज्ने तयारी गरिएको छ । बैठकमा उच्चस्तरीय समितिका संयोजक घलेले चरणबद्ध रुपमा सबै विवादको समाधान गर्ने र महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गर्ने बताएका थिए ।

दशौं महाधिवेशन तथा निर्वाचन गत अगस्टमा नै हुनुपर्ने संघको महाधिवेशन प्रतिनिधिको विवादका कारण हुन नसकेपछि गत साता बसेको संघको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को बैठकले संघका पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक घलेको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।
समितिमा सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त छन् । उक्त समितिलाई आगामी २८ फेब्रुअरीमा नयाँ आइसीसीको चुनाव गर्ने गरी यही जनवरी २६ सम्ममा महाधिवेशन प्रतिनिधिको नामावलीमा देखिएको विवाद समाधान गर्ने जिम्मेवारी दिइएको छ ।
अध्यक्ष कुमार पन्तले जति प्रयास गरे पनि विवाद समाधान गर्न नसकेपछि विवाद सुल्झाएर निर्वाचन गराउने जिम्मेवारी पाएको समितिले संघको विवादलाई सूक्ष्मरुपमा अध्ययन थालेको समितिका एक सदस्यले जानकारी दिएका छन् ।

गत जुलाईमा अधिवेशन र निर्वाचन भएका सबै एनसीसीहरुको विवरण एनआरएनए सचिवालयले उच्चस्तरीय समितिलाई बुझाइसकेको छ । त्यस्तै, एनसीसी अधिवेशनमा भएको धाँधली र अनियमितताविरुद्ध परेका दाबी तथा उजुरी पनि उच्चस्तरीय समितिलाई बुझाइएको छ । परराष्ट्र मन्त्रालयमा दिइएको उजुरीको प्रतिलिपि पनि उच्चस्तरीय समितिले लिएको छ । सबै कागजातको गहन अध्ययन गरी विवाद समाधानका लागि पहल भइरहेको एक सदस्यले जानकारी दिए ।

उच्चस्तरीय समितिले काम थालेपछि गैरआवासीय नेपालीहरुमा विवाद समाधान हुने आशा बढेको छ । संघको सचिवालय, आइसीसी हुँदै परराष्ट्र मन्त्रालयसम्म र पछि अदालतमा पनि पुगेको विवाद अब उच्चस्तरीय समितिले समाधान गर्ने र समाधानमा विधानको व्यवस्था र विगतको अभ्यासलाई मानक बनाइने भएपछि संघका केही पदाधिकारीको व्यक्तिगत इच्छाका कारण उत्पन्न विवाद किनारा लाग्ने गैरआवासीय नेपालीहरुको अपेक्षा रहेको छ ।


उच्चस्तरीय समितिलाई जनवरी २६ सम्मको समय दिइएको भए पनि यो समय अपुग हुने जनाइएको छ । उच्चस्तरीय समितिले थप केही दिन समय लिएर विवाद समाधान गरी महाधिवेशन प्रतिनिधिहरुको सूची तयार पार्ने छ ।

तपाइँको प्रतिक्रिया