बिहीबार, वैशाख २०, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०३:४५ |सिड्नीको समय: ०१:४५ |काठमाडौंको समय: २१:३०

यी बने सन् २०२२ का अस्ट्रेलियाली वर्ष व्यक्ति

एएनजेड खबरजनवरी २६, २०२२

अस्ट्रेलिया- अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले अस्ट्रेलियन अफ द यरका पुरस्कारहरू वितरण गरेका छन्। पुरस्कार वितरण क्यानबेराको नेशनल आर्बोरेटममा भएको थियो ।

यस पुरस्कारको ६२ वर्षको इतिहासमा पहिलो पटक अपाङ्गता भएका व्यक्तिले अस्ट्रेलियन अफ द यर अर्थात् अस्ट्रेलियाली वर्ष व्यक्तिको उपाधि पाएका हुन्। चार जनाले वर्ष व्यक्तिको पुरस्कार पाएका थिए ।


वर्ष व्यक्ति : डिलन एल्कट
अपाङ्गता भएका व्यक्तिहरूलाई मद्दत गर्न एल्कटले देखाएको नेतृत्व र प्रतिबद्धताले हजारौँ अस्ट्रेलियालीहरूलाई सकारात्मक प्रभाव पारेको छ।
आफू किशोरावस्थामा हुँदा मिडियामा आफू जस्तो व्हीलचेयरमा कोही नदेख्दा उनी निराश थिए, तर खेलकुदले सबै परिवर्तन गरिदियो।
प्यारालिम्पिक खेलमा व्हीलचेयरमा खेलिने बास्केटबलमा स्वर्ण पदक पाए पछि उनले प्यारालिम्पिकको टेनिसमा थप तीन स्वर्ण पदक पाएका थिए।
अहिलेसम्म २३ वटा क्वाड व्हीलचेयर ग्रान्ड स्ल्याम टाइटल पाएका उनी टेनिसमा गोल्डेन स्ल्याम जित्ने पहिलो पुरुष हुन्।
खेलकुदले आफ्नो जीवनमा पारेको ठूलो प्रभावबाट प्रेरित हुँदै उनले डिलन एल्कट फाउन्डेसन स्थापना गरेका छन् जसले अपाङ्गता भएका सीमान्तकृत अस्ट्रेलियालीहरूलाई छात्रवृत्ति र अनुदान उपलब्ध गर्दछ।

“एबल” नाम गरेको आफ्नो आत्मकथा लेखेका डिलन अर्को संस्था गेट स्किल्ड एक्सेसका सह-संस्थापक पनि हुन्। अन्ततः आफ्नो बाल्यकालको सपना साकार पार्दै उनी अहिले टिभी, रेडियो र पोड्कास्टहरूमा पनि सक्रिय छन्। उनी हुन् भिक्टोरियाको मेलबर्नका डिलन एल्कट एक खेलाडी, प्यारालिम्पियन, परोपकारी, मिडिया व्यक्तित्व र अधिवक्ता रहेका छन्।

वरिष्ठ अस्ट्रेलियाली : भाल्माई डेम्प्सी
सन् २०२२ को वरिष्ठ अस्ट्रेलियाली वर्ष व्यक्ति अस्ट्रेलियन क्यापिटल टेरिटरीका ७१ वर्षीय भाल्माई डेम्प्सी हुन्।
उनी क्यानबेरामा सेन्ट जोन्स एम्बुलेन्समा स्वयंसेविका हुन्, जहाँ उनी प्राथमिक विद्यालयमा छँदा देखि ( ५० वर्ष भन्दा बढी ( संलग्न रहेकी छिन्।

उनी एसीटीमा सबै भन्दा धेरै वर्ष स्वयंसेवामा बिताएका व्यक्तिहरू मध्य एक हुन्, र प्रत्येक वर्ष स्वयंसेवामा दिने उनको समय बढ्दै गएको छ।
सन् २०२० को आगलागी र त्यस पछिको कोभिड(१९ महामारी उनका लागि सबै भन्दा चुनौतीपूर्ण समय थिए जब उनको नेतृत्वमा ४० जना स्वयंसेवकको एक समूहले डढेलो प्रभावित समुदायहरूलाई प्रत्यक्ष मद्दत गरेको थियो।
महामारीको समय सेन्ट जोनप्रति आफ्नो प्रतिबद्धता देखाउँदै उनले प्रत्येक स्वयंसेवकको मानसिक स्वास्थ्य र कल्याणमा सहयोग पुराउन सबैसँग फोन गरेर सम्पर्कमा रहेकी थिइन्। यसै कारण उनलाई सबैले “आन्टी भ्याल” भनेर पनि चिन्ने गरेका छन्।

युवा अस्ट्रेलियाली : डाक्टर डेनियल नूर
सिड्नीको स्ट्रीट साइड मेडिक्सका संस्थापक डाक्टर डेनियल नूर सन् २०२२ को युवा अस्ट्रेलियाली वर्ष व्यक्ति बन्न पुगेका छन्।
स्ट्रीट साइड मेडिक्स एक जीपीहरू द्वारा सञ्चालित गैर(नाफामूलक संस्था हो जसले घरबार विहीन तथा अन्य सीमान्कृत मानिसहरूलाई ठाउँ(ठाउँमा गई स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ।
सन् २०२० को अगस्ट महिनामा सुरु भएको यस सेवामा १४५ स्वयंसेवकका साथ न्यु साउथ वेल्स भर ४ वटा क्लिनिकहरू छन् र यसले ३०० जना भन्दा बढी मानिसहरूको जीवन परिवर्तन गरेको छ।
रोयल नर्थ शोर अस्पतालमा एक फुल टाइम डाक्टर रहेका नूरले उक्त संस्थामा पनि उत्तिकै समय दिने गरेका छन्।

लोकल हिरो : शाना वान
“सोबर” नामक संस्थाकी संस्थापिका र प्रमुख कार्यकारी अधिकृत शाना वान सन् २०२२ को अस्ट्रेलियाको स्थानीय उत्कृष्ट व्यक्तित्व बन्न पुगेकी छिन्।
न्यु साउथ वेल्सको नाराब्रीकी वानले एक्लैले ग्रामीण अस्ट्रेलियामा रक्सीप्रतिको दृष्टिकोणलाई बदलिँदै छिन्। सन् २०१५ मा रक्सीको लतमा झन्डै आफ्नो ज्यान गुमाएकी उनले मदिरा छोडे पछि समुदायमा यस्तै समस्यामा परेकाहरूको मद्दत गर्न स्वयंसेवी काम सुरु गरेकी थिइन्।
त्यस पछि सुरु गरेको “सोबर”ले अहिले राष्ट्रिय स्तरमा मानिसहरू मद्दत गरिरहेको छ।
उनले यस काममा २०,००० भन्दा बढी घण्टा बिताएकी छिन् र अहिले देशभर यही उद्देश्यका साथ प्रवक्ताको रूपमा विभिन्न ठाउँमा पुग्दछिन्।
४७ वर्षीय वानले “ओके टु से नो” अर्थात् “रक्सी पिउँदिन भन्न हुन्छ” भन्ने सन्देशका साथ अघि बढिरहेकी छिन्।

तपाइँको प्रतिक्रिया