शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २२:१९ |सिड्नीको समय: २०:१९ |काठमाडौंको समय: १६:०४

अष्ट्रेलियामा नेपाल एयरलाइन्सले सातामा दुई उडान गर्ने !

एएनजेड खबरमे २५, २०२३

नेपाल वायुसेवा निगमको जहाजले अष्ट्रेलिया- काठमाडौं-अष्ट्रेलिया उडान गर्ने भएको छ। अष्ट्रेलिया उडानको लागी राष्ट्रिय ध्वजावाहक जहाजले किङ्सफर्ड स्मिथ अन्तर्राष्ट्रिय विमानस्थल सिड्नीमा उडानको लागी (स्लट) समय पाएको हो। 

सिड्नी विमानस्थलले सातामा २ उडानका लागि अनुमति दिएको हो । नेपाल वायुसेवा निगमको जहाजलाई  बिहीबार र शनिवारका लागि समय प्रदान गरेको  नेपाल वायुसेवा निगमका सूचना अधिकारी गणेश घिमिरेले एएण्डजेड खबरलाई बताए। उनका अनुसार उडानका लागि समय पाएसँगै निगमले उड्डयनसँग सम्बन्धित सबै विवरण  अष्ट्रेलियन नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हो ।

घिमिरेका अनुसार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले काठमाडौँबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान गर्ने छ। यसका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया पनि अगाडी बढाएको छ । उनले भने,’ आगामी दुई महिनाभित्र नेपालबाट सिंगापुर हुँदै अष्ट्रेलिया उडान भर्ने तयारी रहेको छ ‘,। 

 अष्ट्रेलिया उडानको लागी नेपाल वायुसेवा निगम र परराष्ट्र मन्त्रालयको निकै लामो पहलपछि  निगमले सिड्नी विमानस्थलमा उडानको अनुमति पाएसँगै नेपालको झन्डा बाहक वाइडबडी जहाजले उडान गर्ने लगभग निश्चित भएको हो।

निगमका सूचना अधिकारी घिमिरेले भने,’हामीले छलफललाई तीव्र रूपमा अगाडि बढाएका छौ , निगमले काठमाडौँबाट सिंगापुरमा ट्रान्जिट गर्दै अष्ट्रेलियाको सिड्नी उडान भर्न लागेको कारणले  पनि नेपाल वायुसेवा निगमको तर्फबाट सिंगापुरको नागरिक उड्यायन प्राधिकरणसँग कुरा भइरहेको छ।’

अष्ट्रेलियामा हाल करिब २ लाख नेपाली बसोबास गर्दै आएको र यीमध्ये अधिकांश विद्यार्थी रहेका छन्। अष्ट्रेलियामा अध्ययन गर्न आउने देशमध्ये नेपाल सङ्ख्याका हिसाबले तेस्रो हो । तर, अष्ट्रेलियाका लागि कुनै पनि नेपाली विमान कम्पनीले उडानका लागि पहल नगर्दा यात्रुले सास्ती पाउँदै आएका थिए। 

अष्ट्रेलियामा नेपालीहरूको सङ्ख्या अत्यधिक मात्रामा बढेसँगै निगमले अष्ट्रेलिया उडानको समय पाउनुलाई नेपालबाट अष्ट्रेलिया अध्ययनको लागी आउने विद्यार्थीलाई असाध्यै लाभदायीक हुनेछ। नेपाल एयरलाइन्सले साताको दुई दिन मात्र काठमाडौँ-सिड्नी-काठमाडौं उडान भर्ने हो भने अष्ट्रेलिया आउजाउ गर्ने हजारौँ नेपाली लाभान्वित हुने र यात्रा पनि सहज र सुलभ हुनेछ। 

सन् २०१९ मा नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच भएको हवाई सम्झौताको चार वर्षपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले अष्ट्रेलिया उडान गर्ने भएको हो। उच्च शिक्षाका लागि नेपाल-अष्ट्रेलिया आउजाउ गर्ने नेपालीसँगै दुईतर्फी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सिड्नीको नियमित उडान विस्तार गर्ने निगमको तयारी रहेको देखिन्छ। अष्ट्रेलियामा नेपाली समाजको बढोत्तरीसँगै अबका दिनमा अष्ट्रेलिया -नेपालको सिधा उडान अत्यावश्यक रहेको थियो। 

तपाइँको प्रतिक्रिया