मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०७:२० |सिड्नीको समय: ०५:२० |काठमाडौंको समय: ०१:०५

‘टिम महेश’ बाट राज रेग्मी तथा रोबिन शेरचनले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता

एएनजेड खबरअक्टोबर १४, २०२३

‘टिम महेश’ बाट कतारस्थित एक सफल व्यवसायी राजु रेग्मी (राज) तथा जापानस्थित व्यवसायी रोविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौँस्थित एनआरएनए केन्द्रीय कार्यालयमा शुक्रबार अपरान्ह राज रेग्मीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराए भने उनको प्रस्तावकमा नरेन्द्र भाट (कतार) तथा हरिबोल भण्डारी (अमेरिका) र समर्थकमा दुर्गा आचार्य (अष्ट्रेलिया) तथा एकराज गिरी (स्पेन) रहेका छन्।

अहिलेसम्म ५ जनाले अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक रुपमै बताए पनि कतारस्थित व्यवसायी आरके शर्माले मात्रै उम्मेदवारी दर्ता गरेको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै जापानका गोविन्द प्रसाद श्रेष्ठले पनि उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। संघका वर्तमान प्रवक्ता सोम सापकोटाले उप महासचिवमा उम्मेदवारी दर्ता गराउँदा हङकङ्ग निवासी राधिका गुरुङले आइसीसी महिला सचिवमा उम्मेदवारी दर्ता गरिन् ।

जापानका पारसमणी पोखरेलले सचिव पदमा मनोनयन दर्ता गराएका छन् भने अमेरिकाका सिपी पौडेलले सह कोषाध्यक्षमा मनोनयन दर्ता गराएका छन् । जापानका शिव पौडेलले एसिया प्रशान्त संयोजकमा तथा प्रदीप न्यौपानेले एसिया प्रशान्त क्षेत्रीय संयोजक पदमै मनोनयन दर्ता गराएका छन् ।

सुरेन्द्र घिसिङले युवा संयोजकमा, अस्ट्रेलियाका दिनेश पोखरेलले क्षेत्रीय संयोजकमा, अरुण कुमार ठाकुरले ओशियना उप संयोजकमा मनोनयन दर्ता गराएका छन्। यस्तै गोकुल घिमिरेले ओसियना उपसंयोजकमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ।

गैर आवासीय नेपाली संघको ११ औं महाधिवेशन यही १७ अक्टोबरदेखि काठमाडौँमा शुरु हुँदैछ भने निर्वाचन प्रत्यक्ष तथा अनलाइन माध्यमबाट अक्टोबर १९ तारिखमा सम्पन्न हुनेछ।

प्रस्तावक र समर्थक पाउनै मुस्किल

विहीबारदेखि उम्मेदवारी दर्ता सुरु भएकोमा शुक्रबार बेलुकासम्म १४ जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्दा प्रस्तावक र समर्थक दुई दुई जना आवश्यक पर्ने भएकाले अहिलेसम्म केही उम्मेदवारले प्रस्तावक र समर्थक पाउन मुस्किल रहेको बताएका छन् । एक जना उम्मेदवारका लागि सशरीर दुई जना प्रस्तावक र दुई जना समर्थक आवश्यक पर्छन् । ४१ सय ९२ जना प्रतिनिधिहरुले नेपाल र विदेशबाट गरी मतदान गरेर नयाँ नेतृत्व चयन गर्ने भए पनि काठमाडौंमा प्रतिनिधिको संख्या विगतको तुलनामा एकदमै पातलो रहेको छ । जसका कारण पनि उम्मेदवारलाई प्रस्तावक र समर्थक जुटाउन हम्मेहम्मे परेको हो ।

यसैबीच एनआरएनए केन्द्रीय कार्यालयले डेलिगेट्स दर्ताको शुल्क भने घटाएको छ । यसअघि २ सय अमेरिकी डलर तय गरिएकोमा विहीबार साँझ बसेको आइसीसीको बैठकले नेपाली १५ हजार रुपैयाँ मात्रै दर्ता शुल्क तोकेको हो । शुक्रबारसम्म १४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

तपाइँको प्रतिक्रिया