सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १७:१५ |सिड्नीको समय: १५:१५ |काठमाडौंको समय: ११:००

नेपालीले विकास गरेको अत्याधुनिक सफ्टवेयर लस भेगासमा

एएनजेड खबरडिसेम्बर २, २०२३

अमेरिका । नेपाली आइटी इन्जिनियरहरुले अत्याधुनिक प्रविधि प्रयोग गरी बनाएको एउटा सफ्टवेयर क्लाउड कम्प्युटिंग सम्बन्धी लस भेगासमा आयोजित एक सम्मेलनमा प्रदर्शन गरिएको छ।

बेलायत, नेपाल लगायत संसारका आठ वटा मुलुकहरुमा काम गरिरहेको सूचना प्रविधि (आइटी) सेवाप्रदायक परामर्शदाता कम्पनी, जेनेस सलुशनसंग आबद्ध नेपाली सूचना प्रविधि इन्जिनियरहरुले विकास गरेको उक्त सफ्टवेयर अमेजन वेब सर्भिसेसद्वारा आयोजित ‘एडब्लुएस रिःइन्भेन्ट २०२३’ नामक सम्मेलनमा प्रदर्शन भैरहेको छ।

आर्टिफिशियल इन्टेलिजेन्स तथा मशिन लर्निङ्गमा आधारित ‘गेनडल्फ़ इनसाइट’नामक सफ्टवेयरले जटिल वित्तीय तथ्यांकहरुलाई पनि सजिलैसंग प्रशोधन गर्न सक्ने उक्त कम्पनीले जनाएको छ । गत सोमबारदेखि सुरु भएको उक्त सम्मेलनमा संसारभरिबाट क्लाउड कम्प्युटिंगमा काम गर्ने हजारौं आइटी उद्यमी, व्यवसायी, पेशेवर तथा प्राज्ञहरु सहभागी भैरहेका छन्।

‘एआइ जस्तो अत्याधुनिक प्रविधिमा आधारित रहेर नेपाली इन्जिनियरहरुले सफ्टवेयर बनाउन सक्छन् भन्ने प्रमाण विश्वसामु प्रस्तुत गर्न पाउँदा हामी निकै खुसी छौं,’हाल लस भेगासमा रहेका जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अन्जनी फुयालले भने।

एडब्लुएसको साझेदारको रुपमा रहेको जेनेस सलुशनले सम्मेलनको डेटा जोनमा स्टल राखेर आफ्नो कम्पनीका डेटा इन्जिनियरहरुले विकास गरेको फिनटेक सम्बन्धी उक्त सफ्टवेयरको प्रदर्शन गरिरहेको छ ।

‘प्रयोगकर्ता मैत्री रहेको यो एप्लिकेशनले तत्काल जटिल तथ्यांक समेत विश्लेषण गरी सही सूचनाको आधारमा निर्णय गर्न सघाउ पुराउंछ,’रि इन्भेंट सम्मेलनमा भाग लिन हाल लस भेगास पुगेका जेनेस सलुशनको इन्जिनियरिङ्ग विभागका उपाध्यक्ष विक्रम अधिकारीले भने। यसले ब्लकचेन प्रविधि मार्फत अत्यन्तै तीव्र गतिमा निकै ठूलो परिमाणमा डेटा प्रशोधन गर्दछ।’

यो वर्षको रि(इन्भेंट सम्मेलनमा चर्चित टेक अगुवाहरुको मन्तव्य, एडब्लुएस बिल्डर ल्याब, २,००० भन्दा बढी सिकाइ सत्रहरु, एक्स्पो र प्रडक्ट लन्च लगायतका थुप्रै उपयोगी कार्यक्रमहरु रहेको आयोजकले जनाएका छन्।

तपाइँको प्रतिक्रिया