बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: २०:५६ |सिड्नीको समय: १८:५६ |काठमाडौंको समय: १४:४१

गैरआवासीय नेपालीलाई विश्वविद्यालयको उपकुलपति बनाउन छलफल

एएनजेड खबरडिसेम्बर ८, २०२३

काठमाडौं । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गैरआवासीय नेपालीले समेत प्रतिस्पर्धा गरी उपकुलपति नियुक्त हुने व्यवस्था गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा सहमति भएको छ । समितिमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० मा छलफलका क्रममा यस प्रकारको सहमति भएको हो ।

समितिको बिहीबारको बैठकमा उपकुलपति नियुक्त हुन ‘स्वदेशी वा विदेशी व्यक्ति’ उल्लेखित शब्दलाई हटाएर योग्य व्यक्ति राख्ने सहमति भएको हो । उपकुलपति नियुक्त गर्न गठित सिफारिस समितिसम्बन्धी व्यवस्थामा उपकुलपति पदका लागि योग्यता पुगेको स्वदेशी वा विदेशी व्यक्तिले दरखास्त दिने प्रयोजनको लागि सार्वजनिक सूचना प्रकाशन गरी दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था छ । विधेयकको दफा २५ को उपदफा ३ मा सिफारिस समिति अन्तर्गतको सो व्यवस्थालाई समितिले संशोधन गर्ने भएको हो ।

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य डा.खिमलाल देवकोटा, विमला राई पौड्याललगायतले गैरआवासीय नेपालीले समेत उपकुलपति हुनसक्ने व्यवस्था राख्नुपर्ने बताए । तर विधेयकको दफा ४५ मा विश्वविद्यालयमा उल्लेखनीय योगदान पु¥याउन सक्ने विदेशी नागरिक वा गैरआवासीय नेपाली नागरिकलाई शिक्षक वा अनुसन्धानकर्ताको पदमा नियुक्त गर्न सकिने उल्लेख छ । सो दफाले गैरआवासीय नेपालीलाई उपकुलपति हुन बन्देज लगाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले राष्ट्रिय र प्राविधिक शिक्षाप्रति समर्पित विश्वविद्यालय रहेकाले गैरआवासीय नेपालीलाई उपकुलपति राख्दा अनुपयुक्त होला कि आशय राखेका थिए ।

तपाइँको प्रतिक्रिया