बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: ००:५२ |सिड्नीको समय: २२:५२ |काठमाडौंको समय: १८:३७

अमरेशकुमार ‘नाङ्गेझार’ होलान कि प्रचण्ड ?

एएनजेड खबरडिसेम्बर ११, २०२३

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डकी स्वकीय सचिव अर्थात छोरी गंगा दाहालले व्यापारीसँग लिएको घुसको प्रमाण आफूसँग सुरक्षित रहेको बताउँदै सार्वजनिक गरिदिने चेतावनी दिएपछि वालुवाटार गर्माएको छ ।

आइतबार बिहान सामाजिक सञ्जालमार्फत सिंहले यस्तो चेतावनी दिएका हुन् । उक्त चेतावनीपछि अमरेश प्रचण्ड निकटका लागि तारो बनिरहेका छन् । उनले भनेका छन्,‘प्रधानमन्त्री छोरी तथा स्वकीय सचीव गंगा दाहालले कुन(कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन्, त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

उनको स्टाटसमा कमेन्ट गर्ने अधिकांशले तत्कालै प्रमाण सार्वजनिक गर्न सुझाव दिएका छन् । तर प्रचण्डको सचिवालयले आफ्नो स्वार्थ पूरा भएपछि सांसद सिंह प्रचण्ड, उनको परिवार र सचिवालयविरुद्ध अनर्गल प्रचारमा लागेको जनाएको छ ।

ुमा.अमरेश कुमार सिंहले आफ्नो निहित स्वार्थ पूरा नभएपछि सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको परिवार र सचिवालयका विरुद्ध विद्वेषपूर्ण ढंगले अनर्गल, भ्रामक प्रचार र झुठको खेती गर्दै आएका छन् । उनको यो अस्वाभाविक प्रस्तुति र अराजनीतिक बार्गेनिङ सरकारको पूर्णतासँगै सुरू भएको तथ्य स्पष्ट नै छ,’ सचिवालयले भनेको छ ।

प्रचण्डको सचिवालयले भने सांसद सिंहले लगाएको आरोप निन्दनीय रहेको भन्दै प्रचलित विधि र कानुनअनुसार उपचार खोज्न प्रतिनिधिसभाको ध्यानाकर्षण गराएको छ । सिंहको गतिविधि कानुनी राज्यमाथि नै चुनौती दिने प्रतिकृति भएको टिप्पणी गरेको छ ।

‘सत्य एकातर्फ छ, तर अमरेश सिंह जस्ता जनप्रतिनिधि भन्न नि लाज लाग्ने प्रतिनिधिको अर्कोतर्फ जुन निन्दनीय प्रलाप छ, त्यो पूर्णतः झुठ कपोलकल्पित र व्यक्तिको इज्जयत र प्रतिष्ठामाथि गम्भीर आँच पुर्‍याउने एवं कानुनी राज्यमाथि नै चुनौती दिने प्रकृतिको छ,’ सचिवालयले भनेको छ ।

साथै विभिन्न व्यक्ति र समूहले प्रधानमन्त्री र सचिवालयसँग अनुचित माग र बार्गेनिङ गर्ने र त्यस्तो स्वार्थ पूरा नभएपछि दुस्प्रचार गर्ने गरेको पनि सचिवालयको आरोप छ । चर्को अभिव्यक्ति र विभिन्न अस्वभाविक क्रियाकलापका कारण चर्चामा आउने गरेका सिंहले घुस खाएको प्रसंग उठाएपछि वालुवाटार भर्सेस अमरेसबीच वाक युद्ध चलिरहेको छ ।

माओवादी युवा सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)का फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले आरोप प्रमाणित गर्न सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन् । सिंहको स्टाटस्पछि आक्रोशित भएका दीपशिखाले प्रमाण पेस गर्न चुनौती दिएका हुन् । ‘माननीयज्यू प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ?’, सामाजिक सञ्जालमा प्रश्न गरेका छन् । यसअघि वाइसिएलका अध्यक्ष सुबोध सिर्पालीले सिंहलाई प्रमाण पेस गर्न चुनौती दिएका थिए ।

यता, सिंहले एनसेल सेयर विक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नै विचौलियाको भूमिकामा रहेको बताउने गरेका छन् । केही महिनाअघि सदनमै कपडा फुकालेर चर्चामा आएका सिंहको सुरक्षाका लागि खटिएका पिएसओ पनि खोसिएको चर्चा छ ।

शुक्रबार आएका पिएसओ आइतबार नआएको उनको भनाइ छ । सिंहले शुक्रबार एनसेलको शेयर खरिद बिक्रीलाई मान्यता नदिन माग गर्दै विभिन्न ६ वटा निकायलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ‘गृह मन्त्रालयको निर्णयबाट पिएसओ दिइएको थियो, अन्यको हटेको छैन । सर्वोच्चमा मुद्दा हालेकै कारण मेरो हटाइयो,’ सिंहले भने, ‘जनताको लागि न्याय माग्नै नहुने ?’

एनसेल प्रकरणमा उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदविक्री भएको दाबी गरेका पनि छन् । साथै, एनसेल खरिद विक्री यूकेमा गरेर नेपालमा तिनुपर्ने क्यापिटल गेन ट्याक्स छली गरिएको उनले बताए । एनसेलमा ठूलो चलखेल भएको उनको दाबी छ ।

एनसेलको शेयर विक्री शंकास्पद रहेको उनले बताए । उक्त शेयर ५० मिलियन डलरमा विक्री भएको सत्य हो भने आफू ६० मिलियन डलर दिन तयार रहेको उनले बताए । उनले एनसेलको शेयर विक्रीको सम्झौतापत्रमा पाँच मिलियन डलर खरिद भएको ६ महिनापछि र अरु बाँकी ४५ मिलियन डलर चार वर्षभित्र भुक्तानी गर्ने सहमति रहेको दाबी छ । सम्झौता शंकास्पद रहेको बताउँदै उनले यस्तो प्रकारको खरिद–विक्री हुन नसक्ने दाबी गरे ।

एनसेलको शेयर विक्रीमा नेपालका नेताहरुको पनि संलग्नता रहेको उनको ठोकुवा छ । उनले एनसेलका शेयर विक्रीमा नेताहरुलाई अर्बमा फाइदा भएपनि नेपाली जनतालाई भने खरबौं घाटा लागेको उनको दाबी छ । यदि सिंह आफूले लगाइरहेको प्रमाणहरु पुष्टि गर्न सके वा प्रमाण जुटाए भने प्रचण्ड नाङ्गेझार हुने संभावना छ । प्रमाण पुर्याउन सकेनन भने सिंह पत्तासाफ हुने मात्र होइन आफैं नाङ्गेझार हुने खतरा पनि प्रवल छ ।

तपाइँको प्रतिक्रिया