शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १९:४३ |सिड्नीको समय: १७:४३ |काठमाडौंको समय: १३:२८

अष्ट्रेलिया भिसामा नयाँ नियमः ‘नेपाली विद्यार्थीहरु निराश भइहाल्नु पर्दैन’

एएनजेड खबरडिसेम्बर १९, २०२३

काठमाडौं । अस्ट्रेलियाले आगामी दुई वर्षभित्र आप्रवासी प्रवेशमा ५० प्रतिशतले कमी ल्याउने लक्ष्यका साथ भिसा नियममा कडाइ गर्ने नीति अघि बढाएपछि त्यसको असर नेपालमा पनि परेको छ । तर शैक्षिक परामर्शदाताहरुले नेपाली विद्यार्थीहरुलाई अहिलेनै अतालिने अवस्था नआइसकेको सुझाएका छन् ।

अन्तर्राष्ट्रिय विद्यार्थी र कम सीप भएका कामदारको अस्ट्रेलिया प्रवेशमा कमी ल्याउन नयाँ नियम अघि सारेपछि नेपाली विद्यार्थी यतिबेला धेरै चिन्तित छन् । नेपालीका लागि पहिलो रोजाइमा पर्ने अस्ट्रेलियाको नयाँ भिसा नीतिले चिन्ता बढाएको भएपनि परामर्शदाताहरुले शान्तवना दिने गरेका छन् । संशोधित नयाँ नियमले विद्यार्थी भिसा प्रणाली दुरुपयोग गर्नेहरुका हकमा विशेष प्रभाव राख्ने जनाइएको छ ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले अस्ट्रेलियामा अध्ययन गर्न चाहने शैक्षिक र आर्थिक रूपमा सबल विद्यार्थीले नयाँ नीतिबारे चिन्ता लिनु नपर्ने बताउँछन् । नयाँ नीतिमार्फत अस्ट्रेलिया सरकारले वास्तविक विद्यार्थी मात्र देशमा पुर्‍याउने लक्ष्यका साथ भिसा जारी गर्न बन्द गर्नुको सट्टा गुणस्तरमा केन्द्रित हुन संकेत गरेको उनको बुझाइ छ।

विशेषगरी आप्रवासीसम्बन्धी नयाँ योजनाले उक्त देशमा ‘अस्थायी भिसामा रहेका’ तथा छोटो अवधिका कोर्सहरू गर्न जाने नेपालीलाई बढी प्रभावित पार्ने परामर्शदाताहरुको बुझाइ छ । अध्ययनपछि अस्ट्रेलियामा काम गर्न पाइने वर्ष घटाइने योजनाले केही चिन्ता थपेको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घका महासचिव दीपकराज भुसालका अनुसार अस्ट्रेलियाको परिवर्तित आप्रवासन रणनीतिले त्यहाँ जान चाहने नेपाली विद्यार्थीहरूलाई पनि केही असर पार्न सक्छ। उनले भने, ‘हामीले बुझ्दा अस्ट्रेलियासहित विकसित देशहरूले आफ्नो जनशक्तिलाई कसरी व्यवस्थापन गर्ने भनेर समयसमयमा रणनीति परिवर्तन गर्ने गरेका छन्। अहिले अस्ट्रेलियाले गरेका नियम परिवर्तनहरू पनि विद्यार्थीसँग सम्बन्धित छन्।’

‘विद्यार्थीसँग सम्बन्धित भएका विषयहरूले नेपाली विद्यार्थीलाई पनि केही प्रभाव त पारिहाल्छ। तर वास्तवमै विद्यार्थीका रूपमा जान चाहने र आफ्नो सबै मापदण्ड पूरा हुनेहरूका लागि खासै धेरै फरक नपर्ला ।’ पोखरेल अस्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीहरूले परिवर्तित पछिल्ला नियमहरूको मूल्याङ्कन गरेर मात्र प्रक्रिया अघि बढाउन सुझाव दिन्छन्।

उनले भने, ‘अस्ट्रेलिया अवसरको ठाउँ हो। यहाँ अध्ययन गर्दा र आफू दक्ष बन्दा अवसर पाइन्छ। तर सुरुमै पैसा कमाउँछुभन्दा पनि कुनै विषयमा भर्ना भएर वास्तवमै पढ्छु र अस्ट्रेलियाको आवश्यकताअनुसार दक्ष बन्छु भनेर आउँदा भविष्यमा सहज हुन्छ।’ यद्यपि, आफ्नो काममा दक्षता हासिल गरिसकेकाहरूलाई भने अष्ट्रेलिया आउन र यहाँ बसिरहन कुनै गाह्रो नहुने र क्षमतावान, दक्ष व्यक्तिहरूलाई फाइदा पुग्ने शैक्षिक परामर्शदाताहरुको भनाइ छ । दक्ष व्यक्तिले ७ दिनमै भिसा पाउने संभावना पनि व्यापक छ ।

आर्थिक वर्ष २०२२/२३ मा विदेशमा अध्ययनका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्ने एक लाख नौ हजार चार सय ८२ मध्ये ३१ ह्जार आठ सय ५२ विद्यार्थीले अस्ट्रेलिया रोजेका थिए। जुलाई १७ देखि डिसेम्बर २ सम्म थप ६ हजार नौ सय ७० विद्यार्थीले अस्ट्रेलियामा उच्च अध्ययनका लागि एनओसी प्राप्त गरेका छन्।

नयाँ नियम नबुझेर धेरै चिन्तित रहेका विद्यार्थीहरुलाई नअतालिन परामर्शदाताहरुको सुझाव छ । नेपालमा राम्रो पढाइ भएका, राम्रो विषयमा राम्रो अंक ल्याएर पास गरेका, अंग्रेजी भाषा टेस्टमा राम्रो स्कोर ल्याएका, पढाइमा धेरै ग्याप नभएका, अध्यागमनसँग निरन्तर समन्वयमा रहेका विद्यार्थीका हकमा नयाँ नियम सामान्य भएको बुझाइछ । अष्ट्रेलियामा धेरै नक्कली र अदक्ष विद्यार्थीहरू आउन थालेको, खासगरी नेपाल र भारतबाट अदक्ष र अंग्रेजी राम्रोसँग बोल्न नआउने व्यक्तिहरू आएको गुनासो थियो । नयाँ नियमले यसलाई सम्बोधन गरेको पाइन्छ ।

नयाँ नियम लागु गरेर अष्ट्रेलिया सरकारले पढ्न आउने तर पढाईभन्दा अन्य गतिविधमा संलग्न हुने, आर्थिक उपार्जनतर्फ ध्यान केन्द्रित गर्ने र स्थायी बसोबासका लागि मात्र प्रयत्न गर्ने कार्यमा लगाम लगाउन खोजेको कन्सल्टेन्सी व्यवसायीहरुको बुझाइ छ ।

सन् २०२५ को जुन महिनाभित्र देशमा वार्षिक भित्रिने आप्रवासीको संख्या घटाएर दुई लाख ५० हजार बनाउने लक्ष्य अष्ट्रेलियाले राखेको छ । सन् २०२२–२३ मा अष्ट्रेलियामा अहिलेसम्मकै सबैभन्दा धेरै ५ लाख १० हजार विदेशीहरु गएका थिए ।

तपाइँको प्रतिक्रिया