शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २१:३२ |सिड्नीको समय: १९:३२ |काठमाडौंको समय: १५:१७

एनआरएनएको विवाद मिलाउन मन्त्री साउद सक्रिय, पूर्वअध्यक्षहरुसँग गरे छलफल

एएनजेड खबरडिसेम्बर २५, २०२३

काठमाडौं । गैरआवासीय नेपाली संघको (एनआरएनए) ११ औं महाधिबेशनपछि उत्पन्न भएको विवादबारे परराष्ट्र मन्त्री एनपी साउदले पूर्वअध्यक्षहरुसँग छलफल गरेका छन् । संघको विवाद अन्त्य गर्न मन्त्री आफैं सक्रिय भएका हुन् ।

एनआरएनएको महाधिबेशन सकिएको दुई महिना नाघेपछि प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष निर्देशनमा परराष्ट्र मन्त्री साउदले आइतबार एनआरएनएका संस्थापक अध्यक्षसहित पुर्वअध्यक्षलाई मन्त्रालयमा बोलाएर एनआरएनएको विवाद र समाधानका विषयमा छलफल गरेका हुन ।

परराष्ट्र मन्त्री साउदलाई भेट्न एनआरएनएका अध्यक्ष डा.उपेन्द्र महतो, पुर्वअध्यक्ष जीवा लामिछाने आइतबार मन्त्रालय पुग्दा पुर्व अध्यक्ष डा.शेष घले उपस्थित भएनन् ।

भेटका क्रममा परराष्ट्र मन्त्रीले एनआरएनएलाई विभिन्न टुक्रा टुक्रा नभई एउटै बनाउनका लागि चाल्नुपर्ने कदमका बारेमा सल्लाह सुझाव लिएको सहभागी पुर्व अध्यक्ष जीवा लामिछानेले जानकारी दिए । पुर्वअध्यक्ष लामिछानेले भने,‘हाम्रो परराष्ट्र मन्त्रीज्युसँग भेटघाट भयो, उहाँले संस्था एक बनाउने विषयमा चासो राख्नुभयो, अन्य विषयमा अहिले धेरै म बोल्दिन ।

केही साताअघि युरोप भ्रमणमा रहेका मन्त्री साउदले निर्वाचनका क्रममा धाँधलीको दाबी गरिएको विषयमा मन्त्रालय तत्कालीन तीन अध्यक्षको छानबिन रिपोर्टको प्रतीक्षामा रहेको प्रतिक्रिया दिएका थिए । यसअघि नै अध्यक्षहरू कुल आचार्य, रविना थापा र बद्री केसीले धाँधलीबारे छानबिनसम्बन्धी रिपोर्ट पछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउने भनेर विज्ञप्ति जारी गरेको जानकारी मन्त्रालयमा गराएको भन्दै तर अहिलेसम्म तीन अध्यक्षले छानबिनको परिणाम नदिएको बताएका थिए ।

एनआरएनएले आफ्नो २० बर्ष पुगेको अवसरमा आयोजना गरेको ११ औं महाधिबेशन तथा विश्व सम्मेलन विवादमा फसेको हो । असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म (१७–२० अक्टोबर, २०२३) काठमाडौको सोल्टी होटलमा भएको सम्मेलनमा निर्वाचनको नतिजालाई लिएर विवाद उत्पन्न भएपछि अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र आरके शर्माले अलग्गै महाधिवेशन गरेर शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेका थिए । तर भेरो भोटिङ सिस्टमले प्रकाशित गरेको नतिजा अनुसार अध्यक्ष पदमा डा.बद्रि केसी विजयी भएको घोषणा गरेको थियो । त्यस्तै घलेले विनोद कुँवरलाई नेतृत्व दिएर १० औँ महाधिवेशनबाटै नयाँ एनआरएनए चलाउँदै आएका छन् ।

तपाइँको प्रतिक्रिया