बुधबार, वैशाख १९, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०८:१५ |सिड्नीको समय: ०६:१५ |काठमाडौंको समय: ०२:००

चर्चित गायिका मधुले छाडिन नेपाल, अब अष्ट्रेलियामा स्थायी बसोबास गर्ने

एएनजेड खबरडिसेम्बर २५, २०२३

काठमाडौं । ‘सोचे झैं जिन्दगी रैनछ’ बोलको गीतले चर्चाको शिखरमा पुगेकी गायिका मधु क्षेत्री अब अष्ट्रेलियामा स्थायी बसोबास गर्ने भएकी छन् । केही दिनअघि उनी छोरीसहित अष्ट्रेलिया उडेकी छन् ।

अष्ट्रेलियाको सिड्नीमा बस्ने प्रेमी सुरेश खड्कासँग दोस्रो विवाह गरेकी उनी बाँकी जीवन अष्ट्रेलियामै बस्ने निधो गर्दै त्यता उडेकी हुन । विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै उनले देश छाड्नुपर्दा पीडा भइरहेको अनुभव सुनाइन । ‘जिन्दगीले कता डोहोर्याउँछ थाहा छैन तर गीत संगीतलाई सँधै अँगाल्न पनि सकिदैन होला । यद्यपी, नेपाली गीत संगीतलाई कहिल्यै भुल्दिन,’ उनले भनिन् ।

पहिलो विवाह कलिलै उमेरमा गरेकी उनको विवाह खासै लामो समय टिकेन । १७ बर्षीया छोरीलाई लिएर उनी अलग बसेको पनि एक दशक बढी भैसकेको थियो । उनका दोस्रो श्रीमानका दुई छोरा रहेका छन् । खड्काले समेत करिव तीन वर्ष अघि पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेका थिए । खड्का परिवारसहित अस्ट्रेलिया बस्दै आएका छन् । क्षेत्रीको अष्ट्रेलिया यात्रासँगै गीत संगीतको यात्रा पनि टुंगिने अनुमान गरिएको छ ।

आफैंले गाएको गीत आफ्नै लागि मिल्न गएको कतिपय शुभेच्छुकहरुको अनुमान छ । किनभने यी चर्चित गायिकाले अब संगीतसँग सम्बन्ध विच्छेद गरेर स्थायी बसोबास गर्ने उद्देश्य लिएर अस्ट्रेलिया गएको केही समय अघि बताएकी थिइन । केही समयअघि उनले भनेकी थिइन, ‘मलाई लोकसंगीतले धेरै थोक दिएको छ । दोहोरी क्षेत्रमा लागेर छोरीलाई १७ वर्षकी बनाएँ । अब मेरो सांगीतिक यात्रा टुंगियो ।’

तपाइँको प्रतिक्रिया