बिहीबार, वैशाख २०, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०३:०९ |सिड्नीको समय: ०१:०९ |काठमाडौंको समय: २०:५४

एक बर्षमा ३८ हजार बढी अष्ट्रेलियन पर्यटक नेपालमा

एएनजेड खबरजनवरी २, २०२४

काठमाडौं । नेपालले उल्लेख्य संख्यामा पर्यटक भित्र्याएर नयाँ रेकर्ड राखेको छ । पर्यटन इतिहासमा १० लाख माथि पर्यटक आगमन भएपछि सरकारले आफ्नो लक्ष्य पुरा गरेको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा सन् २०२३ मा १० लाख पर्यटक आगमन पुर्‍याउने घोषणा गरेको थियो । सो लक्ष्य पूरा भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सरकारको यस वर्षको लक्ष्य पूरा भएको भन्दै यसले आगामी वर्षका लागि सकारात्मक सन्देश दिएको प्रतिक्रिया दिए ।

सरकारले सन् २०११ मा भ्रमण वर्ष मनाउने क्रममा वार्षिक १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको थियो । सन् २०२० मा अर्को भ्रमण वर्ष मनाउँदा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको भएपनि सो वर्षबाट सुरु भएको कोरोना महामारीले लगातार तीन वर्ष पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित पुगेको भए पनि यस वर्ष भने सन् २०१९ को तुलनामा ९५.७६ प्रतिशतले आगमन भएको देखिएको नेपाल पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।

बोर्डका अनुसार जनवरी २०२३ देखि डिसेम्बर २०२३ को एक वर्षको अवधिमा १० लाख १४ हजार ८७६ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन्। यस वर्ष भारतीय र अमेरिकी पर्यटकको आगमन उत्साहजनक देखिएको छ।

सन् २०२३ मा भारतबाट मात्र ३ लाख १९ हजार ९३६ जना पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट १ लाख ३५७ जना पर्यटक नेपाल आएका छन्। भारत, अमेरिका, चीन, बेलायत र अष्ट्रेलियाका पर्यटक धेरै नेपाल आएका छन् ।

अष्ट्रेलियाबाट मात्र ३८ हजार ७८९ पर्यटक नेपाल भित्रिएका हुन । अध्ययनका लागि नेपालीहरुको अब्बल गन्तब्य मानिएको अष्ट्रेलियाले नेपाललाई घुम्न लायक देशका रुपमा परिचित समेत गराएको छ । यद्यपी, नेपाल आउनेमा नेपाली मुलका अष्ट्रेलियन नागरिक पनि रहने गरेका छन् ।

अष्ट्रेलियाका लागि नेपाली दूताबास, नेपाली समूदाय र विद्यार्थीहरुले अष्ट्रेलियाका विभिन्न शहरहरुमा आयोजना गर्ने मेला, महोत्सव र पर्यटकीय गतिविधिले नेपालको प्रचार व्यापक बनेको अनुमान गरिएको छ । साथै नेपालका पर्यटकीय गन्तब्यहरुको प्रचारप्रसारका साथै टुर प्याकेज मार्फत पर्यटक भित्राउन एजेन्सीहरुले पनि उल्लेख्य भूमिका निर्वाह गरेको अभियन्ताहरु बताउने गर्छन । नेपाल अष्ट्रेलियाबीच सन् १९६० मा दौंत्य सम्बन्ध स्थापित भएको थियो ।

तपाइँको प्रतिक्रिया