शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १२:३८ |सिड्नीको समय: १०:३८ |काठमाडौंको समय: ०६:२३

रुसी सेनामा के कारण आकर्षित छन् नेपाली ?

एएनजेड खबरजनवरी ३, २०२४

काठमाडौं । रुस–युक्रेन जारी युद्धमा मृत्यु हुने नेपालीको संख्या १३ पुगेको छ । कतिपय नेपाली युवा कब्जामा रहेको अपुष्ट खबरहरु आइरहेका छन् । रुसका तर्फबाट युद्धमा गएका चार नेपालीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएर युद्धबन्दी बनाएर राखेको छ । गत ४ पुसमा जारी विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले पहिलोपटक युक्रेनले चार नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो ।

यद्यपी, द्वन्द्वग्रस्त मुलुक रुस र युक्रेनमा नजान सरकारले पटकपटक आग्रह गर्दै आइरहेको भए पनि नेपालीहरू पर्यटक भिसामा दुबई र छिमेकी मुलुक भारत भएर रुसी सेनामा भर्ना हुन जानेक्रम रोकिएको छैन ।

रुसलाई परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सेनामा भर्ना नलिन आग्रह गरेको थियो । परराष्ट्रले रुसलाई आग्रह गरे पनि नेपालीहरू सो ठाउँमा जानेक्रम रोकिएको छैन । साथै, यसअघि मृत्यु भएका नेपालीहरूको शवसमेत रुसले नेपाल पठाउन अस्वीकार गर्दै आएको छ ।

हालसम्म नेपालीहरू कतिको संख्यामा रुस र युक्रेनको सैनिकमा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन । तर, हाल नेपालीहरू रोजगारीको शिलशिलामा दुवै मुलुकमा पुगेर सैनिकमा भर्ना हुनेक्रम बढिरहेको छ ।

रोजगार विभागको तथ्यांक हेर्दा भने १ वैशाख २०८० देखि मंसिर मसान्तसम्मको आठ महिनामा श्रम स्वीकृति लिएर ५ सय ७३ नेपाली रुस गएका छन् । वास्तवमा रुसमा नेपालीहरु आकर्षित हुनुको कारण त्यहाँको सरकारी रणनीति प्रमुख कारण बनेको छ ।

रुसी सेनामा भाडाका सैनिक बढ्नुमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशीका लागि ल्याएको आकर्षक योजनाले हो । सन् २०२२ सेप्टेम्बर अन्तिम साता रुसी सदन ‘स्टेट डुमा’ले एक विधेयक पारित गरेको थियो । त्यस विधेयकले एक वर्ष रुसी सेना, रुसी फौज वा अन्य सैन्य सेवामा आबद्धलाई सैनिक क्षेत्रमा सहभागी भएको एक वर्षमै रुसी नागरिकता दिने सहज प्रावधान ल्यायो । रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले १६ मे २०२३ मा त्यो विधेयक प्रमाणीकरण गरेका थिए ।

त्यससँगै विधेयक ऐन बनेको छ । विधेयकको प्रमाणीकरणसँगै रुसी फौजमा एक वर्ष काम गरेका जुनसुकै मुलुकका युवासँगै उनीहरूका श्रीमान्श्रीमती वा परिवारका सदस्यले सहज रूपमा रुसी नागरिकता लिन पाउनेछन् । रुसी फौजमा सहज प्रवेश र नागरिकता पाउने ‘आकर्षक’ प्रावधानले गर्दा धेरै नेपाली रुसी सेनामा आकर्षित भएका हुन् ।

आफ्नो सैनिक आवश्यकता परिपूर्ति गर्न रुसले विभिन्न ‘स्किम’ पनि ल्याउने गरेको छ । मासिक तीन लाखसम्मको आम्दानी, एक वर्ष रुसी सेनामा भर्ती भएकाहरूलाई परिवारसहित पीआर पाउने प्रलोभनमा परेर नेपाली युवा भारत र खाडी मुलुक हुँदै रुस पुगेर सेनामा भर्ती भइरहेका छन् । भिजिट र विद्यार्थी भिसा लिई मस्को पुगेका नेपालीलाई समेत रुसी सेनामा भर्ती गराइएको छ ।

तपाइँको प्रतिक्रिया