शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १४:४८ |सिड्नीको समय: १२:४८ |काठमाडौंको समय: ०८:३३

अध्यागमन कार्यालयका कर्मचारी हड्तालमा, सेटिङको कमाइ घटेको भन्दै रुष्ट !

एएनजेड खबरजनवरी ३, २०२४

काठमाडौं । प्रहरीले मानव बेचविखनका मुद्दामा संलग्न अध्यागमनका कर्मचारी माथि अनुसन्धान सुरु गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी हड्तालमा उत्रिएका छन् ।

अध्यागमनका कर्मचारीले आवागमन र प्रस्थानकक्षमा अवरोध गर्दा सयौं यात्रु अलपत्र परेका हुन् । अध्यागमनका कर्मचारीहरुले विभिन्न माग राख्दै सेवा प्रवाह रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

नेपालबाट भिजिट भिसामा विभिन्न देश जानेहरुबाट अध्यागमनका कर्मचारीहरुले लाखौं रुपैयाँ उठाउने गरेको पाइएको छ । भिजिट भिसाबाट दुवइ, मलेसिया, कतार लगायतका देशमा जाने महिलाबाट ५५ हजार र पुरुषबाट २० हजार प्रतिव्यक्ति अध्यागमनका कर्मचारीले उठाउने गरेको आरोप छ ।

पछिल्लो समय प्रहरीले भिजिट भिसाका नाममा सेटिङ गर्दै विभिन्न देश पठाउने अध्यागमनका अधिकृतमाथि छानबिन सुरु गरेपछि कर्मचारीहरु रुष्ट बनेका हुन् । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने अध्यागमन विभाग, प्रहरी, नेपाल वायु सेवा निगमका कर्मचारीसहित ३२ जनालाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको जनाएको छ । त्यस्तै प्रहरीले ६ वटा ट्राभल एजेन्सी सञ्चालकलाई पनि पक्राउ गरेको थियो । प्रहरीले अध्यागनमका अधिकृत रहेका विमल पौडेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अध्यागमन कक्षमा पुग्नुभन्दा अगाडि नै भिजिट भिसामा जाने सबै यात्रुको कडाइका साथ कागजपत्र चेकजाँच गर्ने र नक्कली कागजात भएका शंकास्पद यात्रुलाई फिर्ता पठाउन थालेपछि अध्यागमनका अधिकृतहरु सेटिङको कमाइ घटेको भन्दै रुष्ट भएको बुझिएको छ ।

तपाइँको प्रतिक्रिया