शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०७:२८ |सिड्नीको समय: ०५:२८ |काठमाडौंको समय: ०१:१३

भारतीय विदेश मन्त्री जयशंकरले करिब २६ घन्टा नेपालमा विताउने, यस्तो छ तालिका

एएनजेड खबरजनवरी ४, २०२४

काठमाडौं । भारतीय विदेश मन्त्री डा एस जयशंकर आज विहीबार नेपाल आउँदैछन् । बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने विदेशमन्त्री जयशंकरको पहिलो भेट बिहान ११ः०० शितल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि विदेशमन्त्री जयशंकरले मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटवार्ता गर्नेछन् भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउदसँग द्धिपक्षीय भेटवार्ता गर्नेछन् ।

लगत्तै १ः१५ बजेबाट त्यहाँ दुवै देशका मन्त्रीस्तरीय बैठक शुरु हुनेछ भने १ः४५ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । सो सम्झौतापछि विदेश मन्त्री जयशंकरले विभिन्न दलका नेताहरुसँग राजनीतिक भेटवार्ता गर्नेछन् । जसअनुसार ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटर्वार्ता हुनेछ ।

४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता हुने जनाइएको छ । साँझ ६ः१५ देखि सोल्टी होटलमा विदेश मन्त्री जयशंकरको सम्मानमा आयोजित रात्रिभोजमा सहभागी हुने जनाइएको छ । दिनभर औपचारिक कार्यक्रममा ब्यस्त रहे पनि भोलि भने भारतीय विदेश मन्त्री जयशंकर अनौपचारिक कार्यक्रममा सहभागी हुनेछन् ।

जसअनुसार भोलि बिहान पशुपतिनाथको दर्शन गर्नेछन् भने उनले पुनःनिर्माण भइरहेका भवनहरुको निरीक्षण गर्नेछन् । दुई दिने नेपाल भ्रमणमा आउने विदेश मन्त्री जयशंकर भोलि मध्यान्ह १२ बजे स्वदेश फर्कने छन् ।

तपाइँको प्रतिक्रिया