सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १७:०० |सिड्नीको समय: १५:०० |काठमाडौंको समय: १०:४५

अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कलाई नेपाल किन औधी मनपर्यो ?

एएनजेड खबरजनवरी १३, २०२४

अस्ट्रेलियाको नेपालस्थित राजदूतमा फेलिसिटी भोल्क यतिबेला नेपालका जिल्ला चहारिरहेकी छिन् । नेपाली साहित्य, संस्कार, संस्कृति र संगीतलाई नजिकबाट बुझ्न चाहने भोल्क ले नेपालीहरुले पर्यटकलाई भगवनसरह मान्ने गरेको र आतिथ्यता विश्वमै सबैभन्दा उत्कृष्ट रहेको महसुश गरेको अनुभव साटेकी छिन् ।

हालै कान्तिपुर दैनिकका पत्रकार जगदिश्वर पाण्डेसँगको लामो अन्तरवार्तामा नेपालका मात्र होइन अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको नेपालीपनबाट आफू प्रभावित भएको अनुभव सुनाएकी छिन् । नेपालको उत्कृष्ट कला र सांस्कृतिक परम्परासँग विदेशीहरु परिचित रहेको उल्लेख गर्दै अस्ट्रेलियामा रहेका नेपाली समुदायले त्यहाँका सार्वजनिक संस्थाहरूमा आफू र आफ्नो सम्पदा प्रतिविम्बित गरेको उल्लेख गरेकी छिन् ।

सन् २०२१ को जनगणनाअनुसार नेपालमा १ सय ४० भन्दा बढी जातिको प्रतिनिधित्व छ र यहाँ १ सय २० भन्दा बढी भाषा नै बोल्ने मानिस बस्ने गरेको उल्लेख गर्दै भोल्कले नेपालको जस्तो जनसंख्याको विविधिता मैले सायद अर्को देशमा अनुभव गरेकी भनेको आफ्नै मुलुक अस्ट्रेलियामा मात्रै रहेको बताएकी छिन् ।

‘अस्ट्रेलियाको आदिवासी जनजातिमा लगभग ८ सय भाषा बोल्ने २ सय ५० भन्दा बढी जनजाति छन् । र, अस्ट्रेलियाको आप्रवासी जनसंख्यामा विश्वभरका लगभग हरेक देशको प्रतिनिधित्व छ । जसमा नेपालीहरू पनि छन्, जो हाम्रो सबैभन्दा छिटो बढिरहेको आप्रवासी समुदाय हुन् । मैले अस्ट्रेलियाको एक कुनादेखि अर्को कुनासम्मका नेपाली देखेकी छु । पाहुनालाई भगवान्को दर्जा दिने नेपालीको आतिथ्यता विश्वमै सबैभन्दा महत्त्वपूर्ण छ । दोस्रो, औपचारिक रूपमा निर्वाचित होस् वा नहोस्, संसारको जुनसुकै ठाउँमा भए पनि लगभग हरेक नेपाली राजनीतिज्ञ छन् । नेपाली साथीहरूको आध्यात्मिक, सहनशीलता र आफ्नो संस्कृतिप्रति गर्व गर्ने व्यवहारलाई अत्यन्तै कदर गर्छु,’ उनले भनेकी छिन् ।

पहिलो पटक नेपाल सन् १९८६ मा नेपाल घुम्न आएको बताउँदै उनले कूटनीतिक रूपमा जिम्मेवारी सम्हाल्न आउनुअघि व्यक्तिगत रूपमा तीन पटक नेपाल भ्रमण गरेर फर्किसकेको बताएकी छिन् । नेपालको भौगोलिक बनावटको प्रशंसा गर्दै उनले भनिन्,‘नेपालको आन्तरिक भूगोल गज्जबकै छ । यहाँ सबैका लागि केही न केही छ । हिउँले ढाकिएको हिमालयको विशेष महिमा छ । पहाडहरूमा पैदल यात्रा गर्न सकिन्छ । न्याना मैदानहरूमा सफारी र तीर्थयात्राहरू गर्न सकिन्छ । क्षेत्रीय भूगोलको अवस्था हेर्दा नेपाल विभिन्न विशेषतासहित दुई ठूला शक्ति राष्ट्र भारत र चीन सँग भूपरिवेष्टित र भूजडित अवस्थामा छ । नेपाल भूरणनीतिक मामिलामा रुचि राख्नेहरूका लागि पनि निकै आकर्षक छ ।’

नेपाली रैथाने परिकारका बारेमा उनले नौलो अनुभव साटेकी छिन् । जाडो महिनाको चिसो रातका लागि शरीरलाई आनन्ददायी हुने र पोषणयुक्त परिकार क्वाटी भोल्कलाई एकदमै रुचिकर लागेको बताएकी छिन् । नेपालीहरुले सम्मानका साथ सम्बोधन गर्ने गरेको ‘नमस्ते’शब्दबारे उनले बेग्लै अनुभव सुनाएकी छिन् । ‘तीन वर्षपछि पनि मलाई नेपालमा गरिने अभिवादन ‘नमस्ते’ ले एकदमै मन छुन्छ । ‘म तिम्रो सामुन्ने सम्मानका साथ झुक्छु’ भन्ने एकदमै सुन्दर र महत्त्वपूर्ण शैली हो । एकअर्कासँगको हाम्रो सहकार्य व्यवहारमा लागू गर्‍यौं भने संसार निश्चित रूपमा दयालु र एकदमै आनन्दित आउने ठाउँ हुन्छ,’ उनले भनेकी छिन् ।

नेपालका सबै चाडपर्व मनाउने कोशिस गरिरहेको सुनाउँदै उनले भनिन्, ‘मैले नेपालमा सबै मुख्य चाडपर्व मनाउने कोसिस गरेकी छु । तर, मुख्यतया काठमाडौंमा बस्दा विभिन्न क्षेत्रका जातजातिका बीचमा मनाउने पर्वहरूलाई भने छुटाएकी छु । सम्पदा संरक्षणकर्ता रवीन्द्र पुरीको आग्रहमा भक्तपुरका चाडपर्वहरूको अनुभव लिन पाउँदा म आफूलाई असाध्यै भाग्यमानी ठान्छु । नेवारी चाडहरूमध्ये इन्द्रजात्रा मलाई मनपर्ने एक विशेष चाड हो । किनभने, सन् २०२३ मा गद्दी बैठकको उत्सवमा सामेल हुँदा मैले ‘इसाबेला ट्रज’ (जीवित देवी) पढेकी थिएँ । उक्त पढाइले पनि चाडलाई जीवन्त बनायो र त्यसको ठीक विपरीत जीवनलाई चाडमय बन्न मद्दत गर्‍यो ।’
उनी अगाडि भन्छिन्,‘लक्ष्मी पूजाको साँझको सौन्दर्य र प्रिय साथीहरूले म्हः पूजाको पारिवारिक उत्सवमा मलाई न्यानो स्वागत गरेको हुँदा तिहार व्यक्तिगत रूपमा मलाई धेरै महत्त्वपूर्ण लाग्छ । तिब्बती लोसार सबैभन्दा पुरानो र गहन आध्यात्मिक संस्कृतिको एक विशेष उत्सव हो । जावलाखेलमा तिब्बती समुदायले हरेक वर्ष आयोजना गर्ने समारोहमा सहभागी हुन पाउँदा म आफूलाई भाग्यमानी महसुस गर्छु ।’

नेपाली गीत संगीतप्रति भोल्कको भिन्नै अनुभव रहेछ । उनले भनेकी छिन्,‘नेपाली संगीत र संगीतकारहरूसँगको मेरो भावना यहाँ रहँदाको अवधिभर रमाइलो रहेको छ । रेशम फिरिरीजस्ता लोकगीतदेखि लिएर नेपालको मुख्य रक ब्यान्ड–१९७४ एडीका हरेक संगीत आनन्दायी लाग्छन् । अस्ट्रेलियन दूतावास रक ब्यान्ड १९७४ एडी र अटिजमकेयर नेपाली सोसाइटीसँग मिलेर इम्ब्रेस अटिजमको ब्यानरमा सन् २०२३ को मार्चमा टुँडिखेलमा निःशुल्क कन्सर्ट गर्न पाउँदा खुसी छ । कन्सर्टको उद्देश्य सबै जनताका लागि सामाजिक समावेशीकरणको प्रवर्द्धन गर्ने थियो । काठमान्डु ज्याज कन्जर्भेटरी कोइर र १९७४ एडीसँग सहभागी भएर विविधताका लागि गाना गाउनु एकदमै खुसीको क्षण थियो ।’

उनी अझ अगाडि भन्छिन्,‘१९७४ एडीले उनीहरूको ३० औं वार्षिक उत्सवका लागि यस वर्ष अस्ट्रेलिया भ्रमण गर्दैछन् । म उनीहरूलाई मेरो गृहनगरमा प्रस्तुत गरेको हेर्न चाहन्छु । २०२३ मा अर्को उत्कृष्ट सहकार्यमा स्वप्नील शर्मा, रोहित शाक्य र गौतम तन्डुकार तथा सिड्नीको एक्सेलसिया कलेजको अर्केस्ट्राबीच थियो । ‘बिस्तारै’ नामक प्रेम गीतको म्युजिक भिडियो नेपाल र सिड्नीमा छायांकन गरिएको छ ।’

कामका सिलसिलामा र व्यक्तिगत यात्रा गरी २८ जिल्ला भ्रमण गरेको उनले बताएकी छिन् । उनको यात्रा अनुभव पनि गज्जबको छ । मैले सडकमार्फत नेपालको लामो यात्रा गरेकी छु । म हिमालप्रेमी हुँ । लोमान्थाङ र सोलुखुम्बुजस्ता दुर्गम क्षेत्रले मलाई मोहित पारेको छ । प्राचीन मठहरू र गुम्बाहरू, अनिश्चित ध्यान गर्ने गुफाहरू, उड्ने भिक्षुहरू, पवित्र हिमालहरू, नीलो भेडा (न नीलो हो न भेडा नै हो)– यी दुवै कुरा मिथ्याका भण्डार हुन् ।’

इलाम भ्रमणको अनुभव सुनाउँदै उनले भनिन्,‘मानव बेचबिखन नियन्त्रण गर्न र पीडितहरूलाई साथ र सहयोग प्रदान गर्न अस्ट्रेलियन अनुदान प्राप्त कार्यक्रमअन्तर्गत काम गरिरहेका हाम्रा विकास साझेदारहरूसँग भेट्ने पछिल्लो समय कामको सिलसिलामा पूर्वी क्षेत्र एउटा सुन्दर स्थल सूर्योदय नगरपालिका पुगेकी थिएँ । मेयर रणबहादुर राईको नेतृत्वमा त्यहाँका स्थानीय सरकारी अधिकारीहरूले आफ्ना युवाहरूलाई सशक्तीकरण गर्न, जोखिममा परेका मानिसलाई बेचबिखनबाट जोगाउन र इलामको सम्भावनालाई महसुस गर्न नयाँ र रचनात्मक प्रयास गरेकामा म प्रशंसा गर्दछु ।’

तपाइँको प्रतिक्रिया