शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २३:३१ |सिड्नीको समय: २१:३१ |काठमाडौंको समय: १७:१६

‘अस्ट्रेलिया’ देश नामकरणको रोचक इतिहास

एएनजेड खबरजनवरी २३, २०२४

पहिलेपहिले घुमन्ते फिरन्तेलाई सायद यायावर भनिन्थ्यो, अहिले पर्यटक ! जमाना फेरियो । युरोपले संसार खोज्न हिँडिरहेको समय बदलियो । बेलायत पनि ‘कहिल्यै सूर्यास्त नहुने’ साम्राज्यबाट सूर्यास्त हुने मुलुकमा पुगिसक्यो । त्यसपछि उदाएको अमेरिकाको दमदमी पनि धेरै घटिसक्यो । अब पश्चिमले पूर्वका मुलुक तथ स्थानको नामकरण गर्ने हैसियत गुमाउँदै गएको छ ।

एक समय युरोपले पूर्वी मुलुक अस्ट्रेलियाको नाम न्यु हल्यान्ड राखिदिएको थियो । सायद यो उनीहरूको आँखामा युरोपको हल्यान्डजस्तै थियो । संसार खोज्ने र झन्डा गाडेर आफ्नो स्वामित्वमा रहनेगरी नामकरण गर्ने होड त्यतिबेला लोकप्रिय थियो ।

पूर्वीय मुलुकहरू प्रायः कविलायी समाजबाट अर्को वा सामन्तवादी समाजमा संक्रमणको चरणमा थिए । कविलायी समूहहरूमा झैझगडा भइरहने र राज्यले आकार बदलिरहने अवस्था थियो । युरोपबाट बाह्य आक्रमण हुन्छ भन्ने सोचेका पनि थिएनन् । तर, बेलायतसहित अन्य पश्चिमा मुलुकहरू नयाँनयाँ भूमिको खोजीमा थिए । सात समुद्र पार गर्दै डुलिरहेका थिए ।

अस्ट्रेलियाको माटोमा पहिलो पाइला राख्ने विदेशी थिए– डच नागरिक विलियम यान्सन । यो १६औं शताब्दीको कुरा थियो । सन् १६०६ तिर आफ्नो पाइला परेपछि डचहरूले यो विशाल भूमि वा महादेशको नाम ‘न्यु हल्यान्ड’ राखिदिए । त्यसपछि सन् १६८८ मा बेलायती नागरिक तथा पानीजहाजका नाबिक विलियम ड्याम्पियरले पनि अस्ट्रेलियाली भूमिमा पाइला टेकेका थिए ।

उनीपछि सन् १७७० मा अर्का बेलायती जहाज क्याप्टेन जेम्स कुकले यस भूमिलाई ‘न्यु साउथ वेल्स’ नाम राखिदिए । उनले यस उर्वर भूमिलाई ‘बेलायतको भएको’ घोषणा पनि गरेका थिए । यस बेलामा युरोपेली मुलुकका नाबिक तथा क्याप्टेनहरू नयाँनयाँ मुलुक तथा भूमिको खोजीमा वाजी गर्दै जहाजी दौड लगाइरहेका थिए ।

एसिया र अफ्रिकाका भूमि बेलायतको नजरमा परिसकेका थिए । खोज र नामकरणको लहर चलिरहेको थियो । कसले के र कति आकर्षक नाम राखिदिने भन्ने होड थियो । बेलायती नाबिक म्याथु फ्लिन्डर्सको सुझावमा हालको प्रचलित नाम अस्ट्रेलिया राखियो । अस्ट्रेलिया भनेको ‘दक्षिणको देश’ हुन्छ । विकसित मुलुकहरूको ‘फ्रन्टलाइन’मा पर्ने यो मुलुक अहिले पनि अस्ट्रेलियाका नामले चलिरहेको छ ।

यो नामकरण स्थानीय जनताका लागि ‘आगन्तुक’ हो । यो उर्वर भूमिमा बस्ने २ सय ५० थरीका आदिवासी अहिले पनि यो नाम अनौठो र पराया नै मान्छन् । ७० हजार वर्षदेखि मानव सभ्यता जीवित रहँदै आएको यस मुलुकमा सन् १८२४ मा बेलायतले ‘आफ्नो’ भनेर घोषणा गर्दासम्म पनि सिंगो अस्ट्रेलियामा सरकार, सेना र संगठित राज्यको संरचना नै थिएन । सन् १८२८ मा आएर मात्र भ्यान डामाइन्स ल्यान्ड र न्यु साउथ वेल्स दुई राज्य एकीकृत भएका थिए ।

अस्ट्रेलिया कब्जामा आएपछि बेलायतीहरूले बेलायतमा मृत्युदण्डजस्ता कडा सजाय पाएका बेलायती कैदीहरूलाई देश निकाला गरेर अस्ट्रेलिया पठाउन सुरु गरे । त्यहाँ ‘पिनल कोलोनी’ वा ‘बापतिको बस्ती’ बसाल्न थाले । यस्तै थियो, अर्को उपनिवेशको मुलुक अमेरिका पनि † उपनिवेश रहँदाको बखत बेलायत सरकारले सन् १७१८ देखि १७७५ सम्म अमेरिकामा पनि ५० हजारभन्दा बढी बेलायती कैदीबन्दी अमेरिकामा पु¥याएको थियो । सन् १७७६ मा अमेरिका स्वतन्त्र भएपछि कैदी पठाउन बन्द भयो ।

बेलायतमा कैदीहरू राख्ने जेल भरिभराउ भएपछि यसपछि यी कैदीहरू सन् १७८८ मा अस्ट्रेलिया पठाउन सुरु गरिएको थियो । सन् १९८८ मा ८ सय कैदी बोकेका बेलायती जहाज त्यतिबेलाको ‘न्यु साउथ वेल्स’को बोटानी–वेमा उत्रिएपछिका वर्षहरूमा १ लाख ६४ हजार बेलायती कैदी अस्ट्रेलिया भित्रिइसकेका थिए । यो क्रम सन् १७८८ देखि १८६८ सम्म ८० वर्षको अन्तरालमा निकै तीव्रतामा चलेको थियो ।

सन् १७८८ सम्म अस्ट्रेलियाली आदिवासीको संख्या करिब साढे ७ लाख मात्र थियो । थपिँदै गएका बेलायती कैदीबन्दीसहित हाल अस्ट्रेलियाको जनसंख्या २ करोड ६० लाखभन्दा बढी छ । अस्ट्रेलियामा आदिवासी भने अहिले पनि अल्पसंख्यक नै छन् । उनीहरूको जनसंख्या १० लाखभन्दा कम छ ।(अस्ट्रेलियाको इतिहास र पत्रपत्रिकाको सहयोगमा)

तपाइँको प्रतिक्रिया