आइतबार, फागुन २०, २०८० |Sun Mar, 2024
अक्ल्याण्डको समय: ०१:४५ |सिड्नीको समय: २३:४५ |काठमाडौंको समय: १८:३०

क्यानडा विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा नेपालको सनसनीपूर्ण प्रदर्शन

एएनजेड खबरफ्रेब्रवरी ८, २०२४

काठमाडौँ । नेपालले क्यानडा विरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा सनसनीपूर्ण प्रदर्शन गरेको छ । नेपालले क्यानडालाई ७ रनले हराएको छ । नेपाललाई जिताउन कप्तान रोहित पौडेल एक्लैले ४ विकेट लिए ।

२२५ रनको चुनौती लिएर मैदानमा उत्रिएको क्यानडाले ४७.५ ओभरमा अलआउट हुँदै २१७ रन बनायो । जित नजिक पुगेर पनि पछिल्लो ४३ रन जोड्न क्यानडाले ७ विकेट गुमाएपछि हारको सामना गर्नुपरेको हो । क्यानडाले ३२.५ ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाइसकेको थियो ।

निकोलस किर्टनले ६८, पार्गत सिंहले ५० तथा हर्ष थाकेरले ३२ रन बनाएका थिए । स्पिनरहरु चम्किएको खेलमा रोहितले ८।५ ओभर बलिङ गर्दै २ मेडन राख्दै २२ रनमात्र खर्चेका थिए ।

त्यस्तै ललित राजबंशीले २ तथा सोमपाल कामी, रिजन ढकाल, पवन सर्राफ र कुशल मल्लले १–१ विकेट लिए । यसअघि त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा बिहान टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर निर्धातिर ५० ओभरमा २२४ रन बनायो ।

ओपनर कुशल भुर्तेलले ५८ बलमा सर्वाधिक ६२ रन जोडे । त्यस्तै आरिफ शेखले ५० बलमा ३८ तथा सोमपाल कामीले २३ बलमा दुई छक्काको मद्धतले २७ रन बनाए ।

त्यस्तै कुशल मल्लले ३२ बलमा २०, भिम शार्कीले २६ बलमा १७, पवन सर्राफले ३४ बलमा १५ तथा सूर्य तामाङले ३२ बलमा अविजित रहँदै १० रन जोडे । अन्य चार खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् ।

क्यानडाका लागि उदय भगवानले ३ विकेट लिए । नेपालको यो क्यानडाविरुद्ध पहिलो एक दिवसीयको जित हो । सन् २०१८ मा पहिलो पटक एक दिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक औपचारिक एक दिवसीय श्रृंखला खेलिरहेको हो ।

नेपालको प्रशिक्षण मोन्टि देसाईले गरेका छन् भने क्यानडाको प्रशिक्षण नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायकेले गरेका छन् । क्यानडा तीन खेलको एक दिवसीय श्रृंखला खेल्न नेपाल आएको हो । यो खेललाई विश्व लिग–२ को तयारी स्वरुप लिइएको छ ।

तपाइँको प्रतिक्रिया