सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १५:४२ |सिड्नीको समय: १३:४२ |काठमाडौंको समय: ०९:२७

एनआरएनए मुख्यालयमा शर्मा समूहको अलग्गै ताल्चा, जग्गा ५० बर्षलाई लिजमा दिनुपर्ने माग

एएनजेड खबरफ्रेब्रवरी २३, २०२४

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गामा बनेको गैर आवासीय नेपाली संघ (एनआरएनए) भवन काठमाडौं महानगरपालिकाले भत्काउने हो कि भन्ने त्रास छ । महानगरले जग्गा खाली गर्न सार्वजनिक सूचना जारी गरिसकेको छ ।

प्रहरीले ६ दिनसम्म आफैं हट्न आग्रह गर्दै माइकिङ गरी सातदिने सूचना जारी गरेको अन्तिम दिन अर्थात् आगामी सोमबारभित्र खाली नगरे भत्काउने भनेको छ । तर एनआरएनएको आरके शर्मा समूहले भवन रहेको उक्त जग्गा ५० बर्षसम्म लिजमा दिनुपर्ने माग अघि सारेको छ । विहीबार पत्रकार सम्मेलन गर्दै सोही भवनमा रहेको एनआरएनएको कार्यालयमा अलग्गै ताला पनि झुन्डाएको छ ।

एनआरएनए अध्यक्ष शर्माको नेतृत्वमा सँस्थामा बद्री केसीले लगाएको तालामाथि नै थप अर्को ताला लगाईएको हो । साथै पत्रकार सम्मेलनमा उपस्थित अभियन्ताहरुले एनआरएनएको उक्त भवन र जग्गाको जिम्मा तत्कालीन कोषाध्यक्ष र महासचिव केसी र सोही नेतृत्वले लिनुपर्ने बताएका छन ।

उनीहरुले केसीले बिश्वका लाखौ गैर आवासीय नेपालीबाट उठाईएको रकमबाट खरीद गरिएको कार्यालय निजीजस्तो बनाई दुई दिनदेखी नै सबै कर्मचारीलाई बिदा दिएर अफिस बन्द गरेर रसियन शैली देखाएको भन्दै खेद प्रकट गरेका छन । ४१ करोड बढीको लगानीमा बनेको भवन लिजमा लिएर कम्तीमा ५० वर्षका लागि उपभोग गर्न पाउनुपर्ने सरकारसँग शर्मा नेतृत्वको एनआरएनएले माग गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा संघको भवन पनि परेको भन्दै विशेष अदालतले गरेको आदेश र बुधबार काठमाडौं महानगरपालिकाले समेत सात दिनभित्र घर खाली गर्न सूचना जारी गरेपछि बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले लिजमा लिएर भवन उपभोग गर्न पाउने कानुनी प्रावधान अनुसार उपभोग गर्न पाउनुपर्ने माग गर्दै परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र नेपाल सरकारलाई अनुरोध गर्ने जनाएको हो ।

एनआरएनएको केन्द्रीय कार्यालय वालुवाटारमा शर्मा समूहले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले विशेष अदालतले दिएको आदेश र काठमाडौं महानगरपालिकाले जारी गरेको सूचनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताउँदै बद्री केसी समुहले संस्था र भवन नै कब्जा गर्ने उद्देश्यसहित गर्दै आएको पछिल्ला गतिविधिप्रती आफ्नो आपत्ति रहेको बताए ।

मलेसिया लगाएतका बिश्वका श्रमिकहरुबाट उठाईएको रकमबाट खरीद भवनमा गुण्डागर्दी शैली देखाएर चाबी लगाएर निजीजस्तो बोकेर हिडनु गलत रहेको जनाउदै उपाध्यक्ष खगेन्द्र न्यौपानेले घोर आपत्ती प्रकट गरे । उनले तत्काल यस्ता कार्य बन्द गरेर आफ्नो कमी कमजोरी सुधार्दै एनआरएनएको सम्पत्ति फिर्ता गर्न तर्फ लाग्नुपर्ने बताए ।

भवन निर्माण विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको रगत र पसिनाबाट बनेको गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष गंगाधर गौतमको भनाइ छ । गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष र अहिले आफुलाई अध्यक्ष बताउँदै आएका केसीले कार्यालयमा तालाबन्दी गरेकोप्रती घोर आपत्ति रहेको पत्रकार सम्मेलनमा सल्लाहकार एबं निबर्तमान उपाध्यक्ष नरेन्द्र भाटले बताए ।

केसी पक्षको तर्फबाट प्रवक्ता फणीन्द्र पन्तले जारी गरेको विज्ञप्तिमा एनआरएनएले विशेष अदालतको निर्णय र त्यसको प्रभावबारे सर्वोच्च अदालतमा अन्तिम निराकरणको लागि अपिल गर्ने उल्लेख छ । विज्ञप्तिमा अपीलपछि आउने सर्वोच्च अदालतको निर्णय संघलाई पनि मान्य हुने र त्यतिबेलासम्म भोगाधिकार हक र स्वामित्व संघमै निहित रहने जिकिर गरिएपनि पुरानो फैसलाबारे केही बोलिएको छैन । कामपाले एनआरएनए मुख्यालय र भाटभटेनीको गोदाम घरलाई मुख्य तारो बनाएको छ। तीबाहेक लालपुर्जा लिएर बसेका अन्य आधा दर्जन घरसमेत छन्।

तपाइँको प्रतिक्रिया