बिहीबार, वैशाख २०, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०३:२१ |सिड्नीको समय: ०१:२१ |काठमाडौंको समय: २१:०६

आर्यघाटमा घन्कियो ‘जहाँ छन् बुद्धका आँखा’..

एएनजेड खबरफ्रेब्रवरी २७, २०२४

काठमाडौं । वरिष्ठ गायक एवं सङ्गीतकार स्व.भक्तराज आचार्यको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्तेष्टी गरिएको छ । त्यो भन्दा अगाडि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखियो । उनको सोमबार निधन भएको हो ।

गायक समेत रहेका छोराद्वय सत्यराज र स्वरुपराजले उनको पार्थिव शरीरमा दागबत्ती दिए । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, नेपाली कांग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायतका नेता तथा कलाकारहहरुको उपस्थिति रहेको थियो ।

आचार्यको सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पतालमा ८२ वर्षको उमेरमा निधन भएको हो । आचार्य विगत लामो समयदेखि अस्वस्थ थिए । आचार्यले झन्डै ४ सय गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

स्वरसम्राट नारायण गोपालका समकालीन गायक आचार्य १९९९ सालमा धनकुटामा जन्मिएका हुन् । नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

श्रद्धाञ्जली अर्पण गर्न पुगेका कलाकार नीर शाहले स्व। आचार्यलाई नेपाली आधुनिक र भक्ति सङ्गीतमा भक्तराज आचार्यको अतुलनीय योगदान रहेको बताए । उनले सङ्गीतकारमा हुनुपर्ने सबै गुणहरू भएको व्यक्तिका रूपमा चित्रण गरे ।

अन्तिम संस्कारअघि आर्यघाटमा पुगेका संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी र चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका थिए । उनको अन्तिम बिदाइमा आर्यघाटमा संगीतकर्मीदेखि उनका प्रशंसकको बाक्लो उपस्थिति थियो । त्यसक्रममा शुभेच्छुकका आँखा रसाएका थिए । आचार्यले ‘मुटु जलिरहेछ‘’, ‘जति चोट दिन्छौँ‘’, ‘जहाँ छन् बुद्धका आँखा‘’, ‘हजार सपनाहरूको‘’, ‘माया मेरी साँझ बिहान‘’, ‘हजार आँखा हेर्ने‘’लगायत करिब चार सय गीतमा आवाज तथा सङ्गीत दिएका छन् ।

तपाइँको प्रतिक्रिया