शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २१:१४ |सिड्नीको समय: १९:१४ |काठमाडौंको समय: १४:५९

विद्यार्थीहरु कुनैपनि समूहको उक्साहटमा नलागौं : ई.सुदर्शन शर्मा

एएनजेड खबरमार्च १६, २०२४

काठमाडौं । नेपाली विद्यार्थी संघका केन्द्रीय सदस्य एवम नेविसंघको मुखपत्र सङ्क्रान्ति प्रकाशन समितिका प्रधानसम्पादक ई.सुदर्शन शर्माले संगठनको सुदृष्टिकरणका लागि सामूहिक संकल्प प्रस्ताव पेस गर्दै विद्यार्थी नेताहरु कुनैपनि समूहको उक्साहटमा लाग्न नहुने बताएका छन् ।

कीर्तिपुरमा जारी केन्द्रीय समितिको बैठकमा प्रस्ताव पेस गर्दै उनले विभिन्न उक्साहटमा लागेर अकर्मण्य बन्न नहुने बताए । उनले भने,‘राजनीतिको छोटो र अस्थाई बाटो हिँडेर निर्णायक ठाउँहरुमा स्थापित हुँदैछन् । तर हामी दृढ र संकल्पित बाटो हिँडेर देश बदल्ने अभिभारामा छौँ । यसर्थ हामीले पहिलो बैठक एकता र सकारात्मक सन्देशको बैठक बनाउनुपर्छ ।’

शर्माले पार्टी भित्र नयाँ पुस्ताको आकर्षण बढाउने अपेक्षा गरिएकाहरु समेत निरन्तर आफ्नो नीजि स्वार्थमा केन्द्रित जस्तो देखिएको, साथै पदीय जिम्मेवारीमा रहेकाहरुले जिम्मेवारी निर्वाह गर्ने भन्दापनि नयाँ उचाईको पदको आकर्षणले अकर्मण्य रोदन गाईरहेको जस्तो महशुस भएको उल्लेख गरेका छन् ।

कांग्रेसको नर्सरी भनिने नेपाल विद्यार्थी संघमार्फत आफ्ना गतिविधि अगाडि बढाई राष्ट्र सेवाको पथमा लाग्नुपर्ने भएकाले राजनीतिक यात्रालाई नीजि समृद्धिको यात्रा नभई जनताको सामूहिक समृद्धिका लागि ठूला वा साना नीतिगत र विधिगत परिवर्तनमार्फत देशको गौरवलाई उचाइमा पुर्याउनुपर्ने संकल्प प्रस्तावमा उल्लेख गरेका छन् ।

सामुहिक संकल्प प्रस्ताव
आदरणीय नेपाल विद्यार्थी संघको केन्द्रीय समितिका सदस्य साथीहरु जय नेपाल,
आज नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समितिको ऐतिहासिक बैठक आव्हान भएको अवसरमा म तपाईँहरुलाई हार्दिक स्वागत गर्दछु । इतिहासमा विचारको यस झण्डामुनि आबद्द भएकै कारण अनेक तरहका दुःख वा पिडा पाएका वा लाभ पाएका सबै प्रति यथोचित सम्मान सहित स्मरण गर्दछु। राजनिति क्षणिक लाभको लालसा मात्र होईन। पदीय स्थान पनि क्षणिक सन्तोष मात्र हो। यहि दर्शनलाई बुझेरै पनि निरन्तर निष्ठाको राजनितिमा रहेकाहरु जुनसुकै दलीय वा वैचारिकतामा भए पनि हाम्रो लागि समान दुरिमा छन्। यहि वैचारिक बहुलतालाई सम्मान गर्ने पार्टीको एक सत्यनिष्ठ सिपाहिको हैसियतले इतिहासमा यो देश निर्माणमा विविध प्रकारबाट समय, साम, दाम, दण्ड, भेद वा जिवन–जवानि अर्पण गर्नुभएका समस्त श्रद्देय ज्ञात अज्ञात महानुभावहरुलाई स–सम्मान स्मरण गर्न चाहान्छु।
साथै यसै बिचमा हाम्रै केन्द्रीय समितिका साथी हरिश देउवाको क्यान्सरजन्य घातक रोगका कारण निधन भएकोमा गहिरो शोक व्यक्त गर्दै उहाँको बैकुण्ठवासको कामना सहित आत्माको चीर शान्तिको कामना गर्दछु।
आदरणीय साथीहरु,
आज हामि जुन वैचारिक अभियानको झण्डामुनि आबद्द छौँ, त्यसको गरिमामय इतिहासप्रति गौरव सहित यहि आदर्शबाट निर्देशित हुँदै तथा यसकै नेतृत्वदायी भुमिकाबाट प्राप्त आजको देशको तमाम राजनैतिक उपलब्धिहरुलाई ससम्मान सुदृढ र सम्बृद्द बनाउने यात्रामा हामि नेपाल विद्यार्थी संघ मार्फत हाम्रा सुरुवाति कदमहरु राजनितिमा स्थापित गर्ने प्रयत्नमा छौँ। यसो हुँदा हामिमा असिमित सम्भावना हरु छन्। हामि यस घडिमा विविध सोचहरुबाट थप उद्वेलित पनि छौँ। अर्कोतर्फ पार्टि भित्रको आन्तरिक राजनितिको निर्मम इतिहासले थोपरेका विभाजनका केहि चिराहरुको प्रतिविम्व हामिमा पनि देखिएको छ। साथै केहि इतिहासका अकर्मण्य उक्साहटहरु पनि हामिमा थोपरिएका छन्। हामि स्वयं नै तिनै विविध समुहका प्रतिनिधि बनेर यस दायित्व सम्म आईपुग्नु परेको यस परिस्थितिको कारण पनि त्यस्तो विभाजनको अवशेष हरुलाई असाध्यै अस्वाभाविक रुपमा लिनु हुदैन। तर, वर्तमानले हामि बाट त्यसभन्दा नितान्त फरक र उच्च कोटिको जिम्मेवारिबोधको अपेक्षा गरिरहेको कुरालाई नजरअन्दाज गर्नु हामि कर्तव्यपथबाट विमुख हुनु हो भन्ने भावलाई हामिले बिर्सनु हँदैन।
एकातर्फ नयाँ भनिएका तर कुनै स्पष्ट राजनैतिक दर्शन बिना निराशाको धमिलो मा माछा मार्ने ध्येय मात्र भएका दलहरु प्रति नयाँ पुस्ताहरुको आकर्षणले उचाई लिँदै छ भने अर्को तर्फ हाम्रा उमेर समुहका साथीहरु यस देशमा सम्भावनाको आशा सकिएको घोषणा गर्दै निरन्तर हवाइजहाज सयर गरिरहेका छन्। फेरि यता हाम्रो मातृ पार्टि नेपाली काङ्ग्रेसको भर्खर सकिएको महासमिति बैठकले समेत अपेक्षित उत्साहको सञ्चार गराउन सकेन कि भन्ने बोध हामिलाई सामुहिक रुपमा नै भएको छ। पार्टि भित्र नयाँ पुस्ताको आकर्षण बढाउने अपेक्षा गरिएका हरु समेत निरन्तर आफ्नो निजि स्वार्थमा केन्द्रित जस्तो देखिएको, साथै पदीय जिम्मेवारिमा रहेकाहरु समेत जिम्मेवारि निर्वाह गर्ने भन्दा पनि नयाँ उचाईको पदको आकर्षणले अकर्मण्य रोदन गाईरहेको जस्तो महशुस भएको छ। यस्तोमा हामि नेपाली काँङ्ग्रेसको नर्सरी भनिने नेपाल विद्यार्थी संघ मार्फत आफ्ना गतिविधि अगाडि बढाई राष्ट्र सेवाको पथमा लाग्ने अभिवारामा छौँ। निश्चित रुपमा उपयोगितामुखि वर्तमान विश्व व्यवस्थाले हामिलाई निजि जिवनका लागि थप धेरै कर्म गर्नुपर्ने कठीन समयमा धकेलेको छ, तर हामिले हिँडेको राजनैतिक यात्रा निजि जिवनको एकल सम्बृद्दिको यात्रा होईन भन्ने कुरा हामिले विर्सनु हुँदैन। हाम्रो यात्रा त जनताको सामुहिक सम्बृद्दिको लागि ठुला वा साना नितिगत र विधिगत परिवर्तन मार्फत देशको गौरवलाई उचाईमा पुर्याउने तर्फ नै निर्दिष्ट हुनुपर्छ र त्यो कुरा खोक्रा भाषणमार्फत होईन, बारम्बार व्यवहारिक रुपमा हामिले प्रमाणित गर्नुपर्नेछ।
यसर्थ यस समयमा हामिले विगतका घटनाहरुबाट लिने ज्ञानलाई सक्दो धेरै ग्रहण गर्दै वर्तमानको कठिन परिक्षामा खरो उत्रिनु परेको छ। हामिले जिवनको गति मा विभिन्न स्थान, अवस्था वा आश्थामा रहनुभएका थुप्रै साथिहरुको सामुहिक आवाज बनेर देशमा आशाको किरण छर्नु पर्ने छ। निराशाको गित गाएर भिडको व्यापार गर्नेहरुले नयाँ नयाँ स्वरुपमा हामिलाई चुनौति दिईरहने छन्। तर त्यसलाई हाम्रो पुस्ताले सामुहिक आशाको सञ्चारमार्फत परास्त गर्न सक्नुपर्नेछ। यसको लागि हामि स–साना झिनाझप्टिमा अल्झेर विभाजित हुनु हुँदैन। आफै विभाजित भएर वा आफ्नै पुस्ताको कोहि साथिलाई असफल देखाउने विविध प्रपञ्चहरुमा लागेर हामिले खोजेको जस्तो देश बनाउन हामिले सक्दैनौँ। केन्द्रीय समितिको विशाल आकारको कारण धेरै साथीहरुसँग सहकार्य गर्ने अभुतपुर्व अवसर सँगै आएका प्रक्रियागत चुनौतिका कारण आज नै हामि तमाम विषयमा छलफल गरि हतारमा निष्कर्श निकाल्ने तर्फ अग्रसर हुन सक्ने देखिँदैन र त्यसो गर्नु उचित पनि हुनेछैन।
यसै तथ्यलाई मध्यनजर गर्दै हाम्रा तमाम आन्तरिक विषयहरुमा निरन्तर वहसको क्रमलाई जारि रहन विविध सञ्चार र सम्पर्कका माध्यमहरुलाई सक्रिय राख्ने प्रणसहित हाल वर्तमान केन्द्रीय समितिको प्रथम ऐतिहासिक बैठकमार्फत तपसिलका संकल्प हरुमा संकल्पित हुन आव्हान गर्दछु।
क) नवप्रवर्तन तथा नविन प्रविधिमा आधारित रोजगारमुलक, उद्यमशील तथा व्यवसायिक शिक्षामा समान तथा सहज पहुँच स्थापित गर्न शासनव्यवस्थाका सबैखाले अवयवहरुलाई सहि परिचालन गरि युग सुहाउँदो अवसरहरु नेपालका विद्यार्थीको पहुँचमा यस माटोमै प्रदान गर्ने व्यवस्था मिलाउन हाम्रो सामुहिक प्रयत्न रहने संकल्प गर्दछौँ । साथै यसका लागि सम्बन्धित निति हरुमा आवश्यक सहभागितामुलक छलफल र संवाद सहित परिमार्जन र परिपालना सुनिश्चित गर्न नेपाल सरकारलाई आव्हान गर्दै सम्पुर्ण सरोकारवाला दलहरु एवं अन्य संघ सँस्था तथा महानुभावहरुमा यो देशको भविष्य निर्धारण गर्ने विषय रहेको कारण देशको सामुहिक हितलाई मात्र स्वार्थ बनाई यसमा सक्रिय सहभागि हुन हार्दिक अपिल गर्दछौँ।
ख) राष्ट्रलाई विकासको गतितर्फ सहि दिशानिर्देश गर्ने सवालमा विगतमा परिवर्तनको नेतृत्व गरेका दलहरु र त्यसभित्रका स्थापित नेतृत्वहरु असफल जस्तो देखिएको कारण एकातर्फ नितिहिन र अराजक समुहहरुतर्फ बढेको नयाँ युवाहरु को आकर्षण तथा पुराना असफल व्यवस्थाका अवशेष हरुले विभिन्न वहानामा उठाईरहेको विषालु फणा प्रति हामि पुर्ण रुपमा सचेत रहँदै दलहरुभित्र नयाँ पुस्ताको हस्तक्षेपकारि भुमिका अभिवृद्दि गरि विगतमा जस्तै जनताको आशा पुरा गर्ने भरोशायोग्य नेपाली काङ्ग्रेस निर्माण गर्न सामुहिक प्रयत्न गर्ने संकल्प गर्दछौँ। अन्यौलमा रहेका युवा साथिहरुलाई यस देशको व्यवस्थालाई विश्वको उत्तम व्यवस्थाहरुको गुणहरु सहित हाम्रो मौलिकता सहितको व्यवस्था र प्रणालिहरुमा परिवर्तन, परिमार्जन र प्रवर्द्दन गर्न देश तथा पार्टिभित्रै समेत आवश्यक परेमा विद्रोह गरि त्यसलाई ग्रहण गर्ने संकल्प सहित विश्वास दिलाउन चाहान्छौँ। यस संकल्पले यो भुमिको समुन्नतिलाई सुनिश्चित गरि यहि भुमिमा आफ्नो पौरख सहित गौरबपूर्ण जिवन जिउने हाम्रो आधारभुत अपेक्षा सम्बोधन गर्ने हुँदा त्यसमा हामिलाई उर्जा प्रदान गर्न सम्पुर्ण देश विदेशका महानुभावहरुमा अपिल गर्दछौँ, साथै यो हाम्रो सामुहिक संकल्प वर्तमान पुस्ताको आवाज भएको कारण यसलाई उचित गम्भिरताको साथ लिन सबै सरोकारवाला हरुमा समेत आव्हान गर्दछौँ।
ग) हाम्रो वर्तमान केन्द्रीय कार्यसमिति आम परिकल्पना भन्दा ठुलो छ। तर यसले थुप्रै उर्जाशिल साथिहरुलाई एकत्रित हुने अवसर पनि प्रदान गरेको छ। थुप्रै साथिहरु यसभन्दा बाहिर रहेर पनि आफ्नो ऊर्जा लगानि गरिरहनुभएको छ। यसरि ठुलो संरचना मार्फत गरिने प्रक्रियागत तथा नितिगत निर्णयका प्रक्रियाहरु स्वयं नै निकै झञ्झटिलो हुनपुग्ने यथार्थहरु बारे हामि सचेत छौँ। यसकारण यसलाई उचित विधि र प्रविधिको प्रयोगबाटै निर्णायक र प्रक्रियाउन्मुख संरचनाहरु र विधिहरु निर्माण गर्न रचनात्मक सल्लाह, सुझाव र संवादहरु निरन्तर कायम राख्दै समाज, देश र पार्टिले हामिबाट अपेक्षा गरेका युगिन कर्महरुतर्फ अग्रसर हुन हामि थप दृढ भएर लाग्ने संकल्प गर्दछौँ। यस्तो प्रक्रियालाई प्रभावकारि तथा सहभागितामुलक बनाउन नेपाल विद्यार्थी संघलाई आवश्यक सल्लाह र सुझाव समेत प्रदान गर्न सबैलाई अपिल गर्दछौँ।
आदरणीय साथीहरु,
उल्लेखित कुराहरु हामि सामुहिक रुपमा सहमत हुन सकिने विषयहरु मात्र हुन। हाम्रा तमाम विमतिहरु छन्। त्यसमा हामि पर्याप्त वहस र विधिको अवलम्वन गरि निष्कर्ष तर्फ पुग्ने नै छौँ। तर हाललाई यो हाम्रो प्रथम बैठकलाई सौहार्द्रपुर्ण र आशाको सञ्चार सहित समापन गर्न यो सामुहिक संकल्पहरु पेश गरेको हो। तपाईँहरु सबै जिम्मेवार साथिहरु नै हुनुहुन्छ। यसले पार्टी तथा देशभरि नै यौटा सकारात्मक सन्देश जाने अपेक्षा गरेको छु। हामिलाई विभिन्न उक्साहटमा लागेर अकर्मण्य बन्ने छुट छैन। हामि जस्तै साथीहरु राजनितिको छोटो र अस्थाई बाटो हिँडेर निर्णायक ठाउँहरुमा स्थापित हुँदैछन्। तर हामि दृढ र संकल्पित बाटो हिँडेर देश बदल्ने अभिवारामा छौँ। यसर्थ हामिले पहिलो बैठक एकता र सकारात्मक सन्देशको बैठक बनाऔँ।
जय नेपाल
ई. सुदर्शन शर्मा
(केन्द्रीय सदस्य)
प्रधान–सम्पादक, सङ्क्रान्ति प्रकाशन समिति

तपाइँको प्रतिक्रिया