मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०८:२२ |सिड्नीको समय: ०६:२२ |काठमाडौंको समय: ०२:०७

अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति !

एएनजेड खबरअप्रिल ८, २०२४

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अबदेखि एक घण्टाभित्र नै श्रम स्वीकृति पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्र्तगतको काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो ।

आइतबार ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद ९डिपी०अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएमा २ मिनेट ४४ सकेन्डमा नै श्रम स्वीकृति प्रदान गर्न सक्ने अवस्था रहेको बताएका हुन् ।

मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युत्को आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टमा श्रम स्वीकृति दिन सक्ने अवस्था रहेको बताए । नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम स्वीकृति उपलब्ध गराउन सम्भव भएको बताउँदै मन्त्री अर्यालले यसका लागि कार्यालयका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिए ।

श्रम स्वीकृति पूर्णरूपमा निःशुल्क हो । श्रमिकले आफ्नै मोबाइल वा कम्पप्युटरबाट अनलाइन आवेदन दिन सक्नेछन् । श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्नेछन् ।

श्रम स्वीकृतिका लागि श्रमिकले मुख्य गरी पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौतापत्र पेस गर्नुपर्नेछ । त्यस्तै, श्रमिकले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क भुक्तानी गरेको हुनुपर्नेछ ।

श्रमिकलाई सहज रूपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेमिस) सञ्चालनमा ल्याएको हो ।

तपाइँको प्रतिक्रिया