मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०८:३६ |सिड्नीको समय: ०६:३६ |काठमाडौंको समय: ०२:२१

न्यूजिल्याण्डमा अन्तर्राष्ट्रिय आप्रवासनको चाप बढेपछि भिसा नियममा कडाइ

एएनजेड खबरअप्रिल ९, २०२४

सिड्नी । अष्ट्रेलिया सरकारले आप्रवासी नीतिमा परिवर्तन गर्दै अन्तर्राष्ट्रिय भिसामा कडाइ गरेको केही महिना पछि न्यूजिल्याण्डले पनि भिसा नियम कडा बनाउने तयारी थालेको छ । भाषा र सीप मापदण्डहरू थपेर भिसाको नियम कडा गर्ने न्यूजिल्याण्डको तयारी छ ।

एक्रेडिटेड इम्प्लोयर वर्कर भिसा योजनामा नयाँ नियम तत्कालदेखि लागू हुने अध्यागमन मन्त्री एरिका स्ट्यानफोर्डले घोषणा गरेकी छिन् । मन्त्री स्ट्यानफोर्डले न्यूजिल्याण्डका नागरिकलाई कामको कमी हुने देखिएपछि नयाँ नियम ल्याइएको स्पष्ट गरेकी छिन् ।

वर्कर भिसा योजनामा भएका परिवर्तनहरूमा अंग्रेजीको न्यूनतम मानक, कार्य अनुभव वा योग्यताको रूपमा नयाँ न्यूनतम सीपको आवश्यकता तथा अधिकतम निरन्तर बसाइलाई तीन वर्षसम्म घटाउने व्यवस्था गरिएको छ ।

विशेषत न्यूजिल्याण्डरलाई प्राथमिकता दिएर यो नियम ल्याइएको हो । रोजगारदाताले न्यूजिल्याण्डरलाई प्राथमिकता दिए वा नदिएको स्पष्ट पार्नुपर्ने नयाँ नियममा उल्लेछ । ‘२१ दिनको लागि जागिरको पोस्टिङको विज्ञापन पनि गर्नुपर्छ र आवेदन दिएका कुनै पनि न्युजिल्यान्डरहरूलाई किन काममा राखिएको छैन भन्ने घोषणा गर्नुपर्छ,’ सार्वजनिक गरिएको एक नियममा भनिएको छ ।

न्यूजिल्याण्डमा अन्तर्राष्ट्रिय आप्रवासनको चाप थाम्नै नसकिने तहमा पुगेको सरकारी अधिकारीहरुको भनाइ छ । ५३ लाख जनसङ्ख्या भएको देशमा गत वर्ष न्यूजिल्याण्डमा एक लाख ७३ हजार जना प्रवेश गरेका थिए ।

नयाँ नियममा अब अल्पदक्ष कामदारहरूले न्यूजिल्याण्डमा आउँदा अङ्ग्रेजी भाषाको दक्षताका प्रावधानहरूका साथै तीन वर्ष मात्रै बस्न पाउनेछन्। यस अगाडि कामको भिसामा आउनेहरूले पाँच वर्ष बस्न पाउने प्रावधान रहेको थियो ।

तपाइँको प्रतिक्रिया