मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: १०:३० |सिड्नीको समय: ०८:३० |काठमाडौंको समय: ०४:१५

मुस्लिमहरुको महान पर्व ईद धुमधाम मनाइँदै, अष्ट्रेलियामा एन्टाले राख्यो कार्यक्रम

एएनजेड खबरअप्रिल ११, २०२४

काठमाडौं । मुस्लिम धर्माबलम्बीहरूको महान पर्व ईद आज विहीबार हर्षोल्लासका साथ मनाइँदैछ्। एक महिनासम्म रोजा गरेर सकिए पछि आज ईद मनाइँदै छ। रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक–अर्कामा शुभकामना साटासाट गरी आज ईद उल फित्र (ईद) मनाउँदै छन्।

हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौब्बाल महिनाको पहिलो तारिखमा ईद मनाउने गर्छन्। चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा रहेको छ।

ईदमा अल्लाहका नाममा विशेष नमाज गर्ने परम्परा पनि छ। ईदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु) ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन्। धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेबईको खिर र मिष्ठान्न परिकार खाने चलन छ।

ईद पर्वको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले यस पर्वको अवसरमा सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

इस्लाम धर्मावलम्बीको महान् चाड इद पर्वको अवसरमा शुभकामना सन्देशदिँँदै राष्ट्रपति पौडेलले इद पर्वले मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा नेपालीबिच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीप्रचण्डले आज शुभकामना सन्देश जारी गर्नुहुँदै इस्लाम धर्मावलम्बीको महान् पर्व इदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे । उनले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानका साथ प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे ।

उता, एसोसियसन अफ नेपाल अष्ट्रेलिया (एन्टा) को आयोजनामा अष्ट्रेलियामा पहिलोपटक इद पर्व मनाइएको छ । अप्रिल ५ तारेखमा सिड्नीको वेन्टवर्थविलमा एक सामूहिक भेटघाट कार्यक्रमको आयोजना गरेर इद रमादान पर्व मानाइएको एन्टा अध्यक्ष रन्जित साहले जानकारी दिए ।

एन्टाले गरेको इदको इफ्तारी सम्बन्धि कार्यक्रम अष्ट्रेलियामै पहिलो पटक भएको बताइएको छ । अष्ट्रेलियामा छरिएर रहनु हुने मुस्लिम समुदायका प्रबासीहरूलाई एउटै छानामुनी जमघट गराएर शुभकामना आदान प्रदान गर्दै गरिएको पर्वलाई हरेक वर्ष निरन्तरता दिने एन्टाले जानकारि दिएको छ ।

तपाइँको प्रतिक्रिया