मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०७:०० |सिड्नीको समय: ०५:०० |काठमाडौंको समय: ००:४५

शान्तिपूर्ण आन्दोलन गर्न पाइने, सार्वजनिक सम्पत्ति तोडफोड गरे तिर्नुपर्ने

एएनजेड खबरअप्रिल १३, २०२४

काठमाडौँ । सरकारले आन्दोलनको क्रममा भएका सार्वजनिक सम्पत्तिमा क्षति भए असुली गर्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार यसरी सार्वजनिक सम्पत्तिमा क्षति गर्ने जोसुकै ब्यक्ति, संस्था र दललाई बिल पठाएर असुली गरिने भएको हो ।

‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो तर आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन’, गृह मन्त्री लामिछानेले सामाजिक सञ्जालमा भनेका छन्, ‘त्यसैले आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाइका लागि आयोजक (व्यक्ति, संस्था वा दल) लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ।’

उनले यसबारेमा अगाडि भनेका छन्, ‘मैले कार्यकाल शुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ।’

साथै गृह मन्त्रालयले माइतीघर र बानेश्वर क्षेत्रलाई यसअघि गरिएको निषेधित क्षेत्र घोषणा फिर्ता लिएको छ भने ठमेल र दरबारमार्गलाई २४ घन्टा नै खुला गर्ने निर्णय पनि भएको जनाएको छ ।

‘काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको छ,’ गृह मन्त्री लामिछानेले जानकारी दिदैँ भने, ‘ठमेल र दरवारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित नयाँ वर्ष २०८१ सँगै २४ सै घण्टा खुल्दैछ।’

तपाइँको प्रतिक्रिया