मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०७:५४ |सिड्नीको समय: ०५:५४ |काठमाडौंको समय: ०१:३९

‘ब्रेकथ्रु’ गरिएको सुरुङ मार्गको लागत २२ अर्ब, संचालन एकबर्ष पछि

एएनजेड खबरअप्रिल १५, २०२४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नागढुंगा–सिस्ने खोला सुरुङमार्ग छिचोलिएको छ। निर्माण सुरु भएको ५३ महिनापछि प्रधानमन्त्री दाहालसहितको उपस्थितिमा सोमबार ‘ब्रेकथ्रु’ गरिएको हो।

यो नेपालको पहिलो यातायात सुरुङ मार्ग हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने नागढुंगा सुरुङमार्ग आयोजनाको मुख्य मार्गको लम्बाइ २हजार ६सय ८८ मिटर छ।

सोमबार दुई मिटर खनेपछि सुरुङ वारपार छिचोलिएको हो। ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको शिलान्यास गरेका थिए। त्यसबेला आयोजना सक्न ४२ महिना लाग्ने भनिएपनि ५३ महिनापछि मात्र ‘ब्रेकथ्रु’ गरिएको हो ।

२२ अर्ब रुपैयाँमा ठेक्का लागेको आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग छ। यसमा नेपाल सरकारको ६अर्ब रुपैयाँ लगानी छ।

सुरुङभित्र अब लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम बाँकी छ। बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र हुनेक्रम जारी छ। सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ।

सो अवसरमा प्रचण्डले सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताएका छन् ।

नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरूङ ‘ब्रेक–थ्रु’ भएको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाधारको क्षेत्रमा सुरुङमार्ग निर्माण महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

उनले भने( ‘सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ ।’

सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै उनले ट्राफिक र सडक सुरक्षामा सुधार गरी संघीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख शहरहरूबीचको सहज यातायात सञ्जालमा योगदान पुर्याउने बताए ।

‘यस सुरूङमार्गलाई आधार मान्दै नेपाली माटो सुहाउँदो सुरूङ सम्बन्धि दस्तावेज निर्माण हुनेछ, । यसले नेपाललाई सुरूङ यूगमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्नेछ ।’

उनले आगामी योजनामा राष्ट्रिय राजमार्गहरूमा सुरूङमार्ग, फ्लाइओभर तथा अन्डरपाससहितको आधुनिक सडक सञ्जाल विस्तार तथा निर्माण गर्ने सरकारको नीति रहने बताए ।

प्रधानमन्त्री प्रचण्डले पृथ्वी राजमार्गअन्तर्गत नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम साथै वर्षायाममा हुने पहिरोको उच्च जोखिमलगायतका समस्याहरू समाधान गर्न सुरुङमार्गको कल्पना गरिएको बताए ।

उनले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्तावेज भएको विश्वास व्यक्त गरे । नेपालको भौगोलिक बनौटका आधारमा सुरूङमार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने पनि उनको भनाई छ ।

तपाइँको प्रतिक्रिया